निर्यात व्यापारको विस्तारमा जोड

पोषराज पाण्डे
अध्यक्ष, सावती
अन्तरराष्ट्रिय व्यापारलाई आर्थिक विकास र गरीबी निवारणको संवाहकका रूपमा लिइन्छ । विश्वव्यापी रूपमा हेर्ने हो भने सही नीति भएको अवस्थामा व्यापारले आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउँछ । अझ निर्यातको कुरा गर्ने हो भने आर्थिक वृद्धिमा त्यसको योगदान महत्वपूर्ण हुने गर्छ । त्यति मात्र होइन, निर्यातले गरीबी निवारणमा समेत योगदान गरेको हुन्छ ।
हामीले निर्यातमार्फत आर्थिक वृद्धिमा योगदान भएको छ कि छैन अर्थात् त्यसले देशको गरीबी निवारणमा योगदान ग¥यो कि गरेन भनेर हेर्ने हो । निर्यात व्यापारको विस्तारले रोजगारीका अवसर सृजना हुनुका साथै स्वदेशी र स्थानीय उत्पादनको व्यवसायीकरण अनि शीप र श्रमशक्तिको उपयोग र परिचालनमा सहयोग पुग्छ । त्यस्तै अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तु र सेवाको पहुँच पु¥याउन पनि निर्यात व्यापारको अर्थपूर्ण योगदान रहने भएकाले यसको महत्व पनि बढी हुन्छ ।
व्यापारमार्फत आर्थिक वृद्धि हासिल गर्न भौतिक पूँजी र मानवीय पूँजी सृजना गर्नुपर्ने हुन्छ । जुन समूह गरीब छ, त्यसलाई आर्थिक वृद्धिले छुन्छ कि छँुदैन भन्ने कुरा महत्वपूर्ण हो । कुनै निश्चित स्थानबाट मात्र निर्यात भयो भने त्यसको प्रभाव त्यही मात्र हुन्छ । यदि साँच्चै निर्यातबाट गरीबी निवारणमा सहयोग पु¥याउने हो भने गरीबमुखी कार्यक्रम ल्याउन आवश्यक हुन्छ ।
ती कार्यक्रम उत्पादन क्षमता वृद्धि गर्ने र निर्यात क्षेत्रमा आवश्यक ज्ञान र शीप प्रदान गर्ने खालका हुन आवश्यक हुन्छ । राज्यले रोजगारी सृजना गर्ने र श्रममूलक उद्योगमा जोड दिने हो भने एकातिर रोजगारी सृजना हुन्छ भने अर्कोतर्फ स्वतः गरीबी निवारणमा मद्दत पुग्छ । त्यस्ता कार्यक्रम ल्याउँदा सरकारले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर ल्याउनुपर्ने हुन्छ । त्यसरी ल्याएका कार्यक्रम लक्ष्योन्मुख हुन सक्छन् । त्यसैले त्यस्ता कुरामा राज्यले ध्यान दिन जरूरी हुन्छ ।
अहिलेको अस्थिर राजनीति, दिनहुँ लामो समयसम्म हुने लोडशेडिङ, बन्दहडतालजस्ता कुराको नकारात्मक प्रभाव सम्पूर्ण उद्योग क्षेत्रमा परेको छ । निर्यातमूलक उत्पादनका क्षेत्र पनि त्यसबाट टाढा रहने कुरै भएन । यस्तो अवस्थामा सुधार ल्याउन सक्दा निर्यात बढाउन सकिन्छ । त्यसबाट वैदेशिक मुद्राको आर्जन भई देशको आय बढ्छ र गरीबी निवारणमा सहयोग पुग्छ ।
नेपालमा सन् १९९० को दशकदेखि शुरू भएको आर्थिक उदारीकरणका कारण उत्पादनमूलक क्षेत्रको निर्यातमा वृद्धि भएको थियो । फलस्वरूप केहीहदसम्म रोजगारी सृजना भएको थियो र गरीबी निवारणमा पनि सहयोग पुगेको थियो । तर, अहिले तुलनात्मक रूपमा त्यतिबेला भन्दा उत्पादनमूलक क्षेत्रबाट हुने निर्यात कम भएको छ । त्यसो हुँदा आर्थिक वृद्धि पनि स्वतः घटेको छ ।
यसले के देखाउँछ भने निर्यातले गरीबी निवारणमा पहिलाको भन्दा कम योगदान गरेको छ । उत्पादनमूलक क्षेत्रको कुरा गर्ने हो भने अहिले निर्यातमूलक वस्तुमा लगानी कम छ । उत्पादनमूलक क्षेत्रले सृजना गरेको रोजगारीले गरीबी निवारणमा सहयोग गरेको थियो । तर, त्यो पनि विस्तारै कमी हँुदै गएको छ । बढी मूल्य प्राप्त हुने क्षेत्रको निर्यात घट्दै गएको छ । कम मूल्य प्राप्त हुने कृषिलगायत वस्तुको निर्यात बढी हुने गरेको छ । यसले रोजगारी सृजना गरे पनि त्यसको उपलब्धि कम छ ।
निर्यात बढाउनका लागि सबैभन्दा पहिला उत्पादनशील क्षमता वृद्धि गर्नुपर्छ । त्यसका लागि पुँजी, प्रविधि, मानव विकास, पूर्वाधारलगायतको विकास आवश्यक हुन्छ । तुलनात्मक लाभ भएका निर्यातमूलक वस्तुहरूको पहिचान गर्दै तिनको विकास गरी बजार पहुँचको फाइदा लिने कुरामा पनि ध्यान दिन जरूरी छ । साथै, नेपालमा उत्पादन भएका वस्तु विश्व बजारसँग जोड्ने कुरा पनि उत्तिकै आवश्यक छ । त्यसो भयो भने उत्पादनशील क्षमता वृद्धि गर्न सकिन्छ ।
सूचनाप्रविधिको क्षेत्रमा भएको विकास र नयाँ प्रविधिले अहिले विस्तारै निर्यात व्यापारको क्षेत्र पनि प्रतिस्पर्धी हुँदै गएको छ । त्यसैले निर्यात व्यापार विस्तार एवम् प्रवद्र्धन गरी उच्च आर्थिक वृद्धि कायम गर्ने र गरीबी घटाउने कुरामा राज्यको ध्यान जान जरूरी छ ।
हाम्रो मुलुकको व्यापार खर्च बढी भएकाले निर्यातमा समस्या भएको छ । त्यसमा सुधार आवश्यक छ । अहिले पनि नेपालबाट थुप्रै वस्तु प्रशोधन नगरी निकासी हुने गरेका छन् । हामीले ती वस्तुलाई सामान्य प्रशोधन मात्र गरेर निकासी गर्ने हो भने त्यसबाट थोरै भए पनि रोजगारी सृजना हुन सक्छ र मूल्य अभिवृद्धि पनि हुन्छ । साथै, राजस्वमा पनि वृद्धि हुन्छ ।
(कुराकानीमा आधारित)