शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 13, 2012
  

अन्योलग्रस्त शेयरबजार


कम्पनी मर्जरको समाचार अखबारमा छापिनेबित्तिकै शेयर कारोबार वर्षौंसम्म रोकिनुले यही कुराको पुष्टि गर्छ । कम्पनीलाई नियामक निकायले गर्ने विभिन्न कारबाहीपछि कम्पनी सञ्चालन भइरहेको हुन्छ तर शेयर कारोबार रोकिन्छ ।

 


रवीन्द्र भट्टराई


शेयरबजार किन बढेन ? यो शेयर हुने वा नहुने जोसुकैले गर्ने सामान्य प्रश्न बनिसकेको छ । प्रश्न अस्वाभाविक पनि छैन । बजार बढ्नभन्दा घट्नमा नै बढी जोड गरिरहेको छ । बढेको अङ्क देखिएका दिन लगानीकर्ताले ठूलै उकालो पार गरेर सन्तोषको सास फेरेको क्षणजस्तो अनुभव गर्छन् । बजार चलायमान हुन कम्तीमा पनि केही उतारचढाव भइरहनु आवश्यक छ । यसले लगानीकर्ता भित्रने र बाहिरिने वातावरण तयार गर्छ ।


निरन्तर कारोबारको वातावरण सृजना हुन्छ । यसका लागि आर्थिक, नीतिगत तथा प्राविधिक पक्षको एकीकृत विकासको आवश्यकता पर्छ । नेपाल राष्ट्र बैङ्कको ५ महीनाको तथ्याङ्क र सरकारले केही समयअगाडि ल्याएको आर्थिक समीक्षाले अर्थतन्त्रमा सुधारको सङ्केत देखाएको छ । शोधनान्तर बचतले इतिहास निर्माण गरेको छ । तरलतामा अत्यधिक वृद्धि भएको छ, जुन कुरा अन्तरबैङ्क ब्याजदर र ट्रेजरी बिल्सको १ प्रतिशतभन्दा तल झरेको ब्याजदरले पनि पुष्टि गर्छ । बढ्दो तरलताका कारण कतिपय बैङ्कले संस्थागत निक्षेप लिन छाडिसकेका छन् ।


अर्थतन्त्रमा देखिएको सुधारले शेयरबजारमा सकारात्मक प्रभाव पर्नुपर्ने हो तर त्यसो भएको छैन । यसको कारण हो– बैङ्कहरू ऋणको ब्याज घटाउन तयार नहुनु । यसले बैङ्कहरू बढ्दो तरलताको ब्याज खर्चलाई लगानी नबढाई हालको उच्च ब्याजले नै पूर्ति गर्न खोजिरहेको स्पष्ट हुन्छ । यसले नेपाली बैङ्किङ क्षेत्र बजार सिद्धान्तअनुसार चल्न नसकेको देखिन्छ ।


बैङ्किङ क्षेत्रमा देखिएको यो अस्वाभाविक क्रियाकलापले पनि पूँजीबजारलाई माथि जान दिइरहेको छैन । विगतमा निक्षेपमा २ प्रतिशत ब्याज हुँदा लगानीकर्ताले ७–८ प्रतिशत लाभांश लिएका थिए । तर, अहिले निक्षेपको ब्याज ११–१२ प्रतिशत पाउने अवसर गुमाई २ प्रतिशत लाभांशमा चित्त बुझाएर बस्नु परिरहेको अवस्था छ । यसले लगानी गरिरहेका लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । त्यस्तै, निक्षेपको ब्याज ११–१२ प्रतिशतको अवसर छोडी शेयरमा लगानी गरेर २ प्रतिशत लाभांश लिन लगानीकर्ता तयार नभएको अवस्था छ । त्यसैगरी, १६ प्रतिशतको ऋण लिएर २ प्रतिशत लाभांशमा पनि लगानी गर्न लगानीकर्ता तयार छैनन् ।


शेयरबजारलाई व्यवस्थित गर्ने नाममा मुहान् सफा गरी सफा पानी बगाएर रोग नियन्त्रण गर्नुको साटो मुहान नै सुकाउने दिशातर्फ गइरहेका छौं । यस्तो क्रियाकलापले बजारको विकास हुने कुरालाई नै बाधा गर्छ । अर्कातर्फ यसले लगानीकर्ताको आत्मविश्वास बढ्न दिँदैन । कम्पनी मर्जरको समाचार अखबारमा छापिनेबित्तिकै शेयर कारोबार वर्षौंसम्म रोकिनुले यही कुराको पुष्टि गर्छ । कम्पनीलाई नियामक निकायले गर्ने विभिन्न कारबाहीपछि कम्पनी सञ्चालन भइरहेको हुन्छ तर शेयर कारोबार रोकिन्छ ।


खुलाबजार अर्थतन्त्रमा लगानीकर्ता शिक्षित हुन आवश्यक छ । यसका लागि लगानीकर्ता शिक्षा नै दिनुपर्छ । लगानीकर्ता शिक्षित भएपछि कुन समाचारलाई मूल्यमा कसरी समायोजन गर्ने उनीहरूले निर्णय गर्छन्, बजारले निर्णय गर्छ । कारोबार रोकेर समाधान हुँदैन । यहाँ पनि लगानीकर्तालाई डर छ । बैङ्क तथा वित्तीय संस्थाको बाहुल्य रहेको बजारमा हरेकजसो बैङ्क वित्तीय संस्थाले मर्जरमा जाने विषय साधारणसभाबाट पारित गराएका छन् ।


लगानीकर्तामा कुन कम्पनीले कतिखेर कोसँग मर्जरको सम्झौता गर्ला र कारोबार बन्द भएर पूँजी फस्ला भन्ने अर्को त्रास छ । मर्जर कति स्वतस्फूर्त भन्ने कुरामा शङ्का गर्ने प्रशस्त ठाउँ छन् । बैङ्क तथा वित्तीय संस्थाका पछिल्ला प्रतिवेदनमा नाफामा भारी कमीसहित तथ्याङ्क छापिन थालेका छन् । खराब ऋणका सम्बन्धमा पनि नियामक निकायले एकपछि अर्को गर्दै नयाँ व्यवस्था गरिरहेको छ । यसलाई हेर्दा समस्या जटिल हँुदै गएको देखिन्छ । यिनै समस्यामा राष्ट्र बैङ्कको कारबाहीलाई पर सार्न पनि कतिपयले मर्जरको निर्णय तथा समझदारीपत्र अघि सारेका हुन सक्छन् । यस्ता सम्झौता र कारोबार रोक्काले लगानीकर्ताको बिचल्ली बनाउने मात्र होइन, हरेक सूचनालाई समायोजन गरी बजारले शेयरको मूल्य आफै निर्धारण गर्ने विश्वव्यापी मान्यताको खिल्ली पनि उडाइरहेको छ ।


पछिल्लो समयका सरकारका गतिविधि हेर्दा ऊ भाषण गरेर मात्र शेयरबजारप्रति लगानीकर्तालाई आकर्षित गर्न खोजिरहेको देखिन्छ । नीतिगत निर्णयको आवश्यकता पर्ने ठाउँमा भाषणबाजीले काम गर्दैन भन्ने कुरा लगानीकर्ताले बुझिसकेका छन् । १० लाख रुपैयाँभन्दा माथिको कारोबारको स्रोत देखाउने विषयमा नयाँ व्यवस्था गर्ने भनियो । यो सीमालाई १ करोड रुपैयाँ पु¥याउने भनेर पनि भाषण गरियो ।


गैरकानूनी स्रोतबाट आर्जन नगरिएको भनेर स्वघोषणा गर्न पाउने र त्यो रकम लगानी गर्न पाउने भनेर उल्लेख गर्ने कुरा पनि गरियो । तर, त्यस्ता भाषण गरिएको महीनौं बितिसक्यो, निर्णय हुन सकेको छैन । त्यस्ता भाषणको नीतिगत निर्णय र त्यसको कार्यान्वयन बजारले तत्काल खोज्छ । बजारमा लगानीकर्ताको घट्दो मनोबल बुझ्ने र विकासमा बजारको आवश्यकता महसूस गर्ने हो भने पहिला निर्णय गरेर भाषण गर्नु उपयुक्त हुन्छ ।


प्रसङ्ग प्रविधिको । सीडीएस कम्पनीले काम थाल्ने कुरा गरेको वर्षौं बितिसक्यो । अझै त्यो कार्यान्वयनमा आएको छैन । यो पनि नियामक निकायमा बस्नेलाई लगानीकर्ताको गुनासो मत्थर पार्ने माध्यम बनेको छ । बजार सुधारमा पहल गरिदिनुप¥यो– सीडीएस आएपछि आफैं सुधार हुन्छ । नामसारी चाँडो हुनुप¥यो– सीडीएस आएपछि तीन दिनमै हुन्छ । विक्री गरेको शेयरको पैसा ढिला पाइयो– सीडीएस आएपछि दुई दिनमै पाइन्छ । यी लगानीकर्ता र नियमन निकायका सवालजवाफ हुन् ।


तर, सीडीएस कहिले आउने हो यो स्वयम् सीडीएस कम्पनीका प्रमुखलाई पनि थाहा नहुन सक्छ । हाम्रो प्रविधिको अवस्था, नीतिगत निर्णय र तिनको कार्यान्वयन पक्षलाई हेर्दा तीन–चार कक्षामा पढेको ‘बूढी, बच्चा र ढुङ्गो’ कथाको याद आउँछ । बूढी आमैले भोक लागेका छोराछोरीलाई तत्काल खानेकुरा दिन नसक्दा कराइमा पानी र ढुङ्गा हाली अँगेनामा बसाइदिएर ‘आगो लाऊ अनि पाकेपछि खानू’ भनी खाने कुरा खोज्न हिँड्छिन् । ढुङ्गो कहिले पनि पाक्ने होइन । पाक्ला र खाऊँला भन्ने आशमा बच्चाहरू भोकले ढलिसकेका हुन्छन् । सीडीएस र अनलाइन कारोबार आउने आशमा लगानीकर्ताको हबिगत पनि त्यस्तै भइसकेको छ ।


नेपाल स्टक एक्सचेञ्जमा कमजोर सफ्टवेयरकै कारण कारोबार घन्टौंसम्म अवरुद्ध हुन्छ । बजारको संवेदनशीलतालाई हेर्दा यो एक मिनेट पनि अवरुद्ध हुनु नपर्ने हो । हरेक कारोबार र खरीदविक्री आदेशमा लगानीकर्ताको मनोविज्ञान लुकेको हुन्छ । त्यही मनोविज्ञानमा बजार चलेको हुन्छ । तर, यसमाथि किन महइभ्व दिइँदैन र यो समस्याले आफ्नो आयु लम्ब्याइरहेको छ ? नेप्सेको कार्यालयनजिकै हरेक वर्ष सूचनाप्रविधि मेला हुन्छ । अर्बौंको सप्mटवयर निर्यात भएका समाचार आउँछन् ।


तर, नेप्सेले यहाँको प्रविधिलाई विश्वास गरिरहेको छैन । अन्तरराष्ट्रिय जगत्मा विकास भएको सूचनाप्रविधि र त्यसको उपयोगलाई नियालेको जोकोहीको आँखाले नेपालको शेयरबजारको प्राविधिक पक्षलाई हेर्दा निराश हुन्छ । बजारका यी विविध समस्यालाई समयमै सम्बोधन नगर्ने हो भने थप समस्या उत्पन्न हुन्छ । नयाँ कम्पनीले सजिलै शेयर विक्री गरेर पूँजी सङ्कलन गर्ने अवस्था छैन ।


लाभांश बाँडिरहेका सहित धेरै कम्पनीको शेयरमूल्य अङ्कित मूल्यभन्दा तल आइसकेको छ । यसो हुँदा केही समय कुर्दा ८०–९० मा पाइने शेयर कम्पनीबाट किन १ सय रुपैयाँ तिरेर किन्ने भन्ने मनस्थिति लगानीकर्ताले बनाइसकेको देखिन्छ । यसैगरी दोस्रो बजारको अवस्थाका कारण सरकारले प्राथमिकतामा राखेका महत्वाकाङ्क्षी जलविद्युत् आयोजनाका लागि आवश्यक पूँजी सङ्कलन गर्न पनि समस्या पर्नेछ ।


लेखक शेयर विश्लेषक हुन् ।