आर्थिक कुटनीति नेपालको अपरिहार्यता
आर्थिक विकासमा कूटनीति आवश्यक

प्रदीपजङ्ग पाण्डे
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासङ्घ
कुनै पनि राष्ट्रको दिगो विकासका लागि आर्थिक उन्नति अपरिहार्य छ । आर्थिक उन्नतिविना समुन्नत समाज निर्माण हुन सक्दैन । समयसापेक्ष आर्थिक क्रियाकलापले समाजलाई जीवन्त बनाउँछ र राष्ट्रको पहिचान पनि स्थापित गराउँछ । वर्तमान अवस्थामा कुनै पनि गतिशील राष्ट्र एक्लो बस्न सक्दैन ।
कुनै पनि देशको आर्थिक एवम् कूटनीतिक सम्बन्ध विभिन्न देशसँग गाँसिएको हुन्छ । औद्योगिकीकरण, व्यापार विविधीकरण, प्रविधि विस्तार तथा आपसी सहयोग र सद्भाव बढाउन पनि आर्थिक कूटनीति बलियो बनाउनु आवश्यक हुन्छ ।
यसबाट विभिन्न देशसँगको सम्बन्धले पनि निरन्तरता पाउ“दछ । विभिन्न देशसँग सम्बन्ध विस्तार गरी आपसी सहयोग र सद्भाव कायम गर्नका लागि स्थापना भएका राजदूतावासले महत्वपूर्ण कूटनीतिक भूमिका निर्वाह गरेका हुन्छन् । पछिल्लो समयमा दूतावासहरूले आर्थिक क्रियाकलापमा अझ बढी ध्यान केन्द्रित गर्दै त्यसलाई नै मुख्य एजेण्डा बनाउँदै आएको देखिन्छ ।
२००७ साल अगाडि नेपालको दौत्य सम्बन्ध सीमित राष्ट्रसँग मात्र थियो । प्रजातन्त्रको स्थापनसँगै कूटनीतिक सम्बन्धको विस्तार बढिरहेको छ । पछिल्लो समय विभिन्न देशमा महावाणिज्य दूतावासको स्थापना भएको छ । सोही अनुपातमा विभिन्न राष्ट्रले हाम्रो देशमा आवासीय दूतावास खोलेका छन् ।
कूटनीतिक माध्यमबाट नै आफ्नो देशको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक, सामाजिक तथा आर्थिक क्रियाकलापहरूको जानकारी विभिन्न राष्ट्रमा गराउनुपर्छ । यसबाट दरिलो आपसी सद्भाव कायम हुन सहयोग पुग्छ । त्यसैले कूटनीतिकै माध्यमबाट आफ्नो राष्ट्रको सम्भाव्यता र उपयोगिता प्रस्तुत गरेर दरिलो सम्बन्ध कायम गर्न सकिन्छ ।
कूटनीतिक माध्यमबाट आपसी सहयोग अभिवृद्धि भई नयाँ सम्भावनाको खोजी आरम्भ हुन्छ । आफ्नो राष्ट्रको कलाकौशल, प्राकृतिक सम्पदा, सौन्दर्य र ऐतिहासिक प्रदर्शनबाट पर्यटनको विकास हुन्छ । विकसित राष्ट्रको प्रविधि तथा नयाँ आविष्कार भित्रयाउन कूटनीतिको त्यत्तिकै महत्व रहन्छ ।
त्यसले औधोगिक जागरण ल्याउछँ र आर्थिक उन्नति भई राष्ट्र सबल र सक्षम बन्दै जान्छ । कूटनीतिक माध्यमबाट नै लगानी भित्रिने बलियो सम्भावना हुन्छ । स्वदेशी उत्पादनमा गुणस्तर अभिवृद्धि हुनुका साथै प्रतिस्पर्धी क्षमता बढ्न जान्छ । निकासीको प्रबल सम्भावना पनि कूटनीतिक माध्यमबाट नै हुन्छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकका लागि सकारात्मक कूटनीतिक क्रियाकलाप अति आवश्यक छ । नेपालप्रति धेरै राष्ट्रको सद्भाव र सहानुभूति छ, जसलाई सहयोग र परिणाममुखी सहकार्यमा परिणत गर्नु आवश्यक छ । यसो गर्न सके नेपालको चौतर्फी विकास र आर्थिक उन्नतिको प्रशस्त सम्भावना हुन्छ । नेपालका दुवै छिमेकीले झण्डै दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गरिरहेका छन् ।
नेपालले सफल कूटनीतिक माध्यमबाट आफ्नो ऐतिहासिक पृष्ठभूमि, कलाकौशल, प्राकृतिक स्रोतसम्पदा, जैविक विविधता आदिको सही जानकारी दिलाई लाखांै पर्यटक लुम्बिनी र अन्य र्धामिक र मनोरम स्थलमा भित्रयाउन सक्छ । अपार जलस्रोतको भण्डारको सही सदुपयोग गरी नेपालले यथेष्ट मात्रामा विद्युत्मा लगानी गरी विद्युत् निर्यात गर्न सक्छ । व्यावसायिक कृषि, जडीबुटी प्रशोधनदेखि सानाठूला संरचनाका सम्भावित विभिन्न उत्पादनले छिमेकी मुलुक भारत र चीनको बजारमा स्थान पाउन सक्छन् ।
दरिलो कूटनीति र आपसी सहयोगबाट नै भारत र चीनबीच नयाँ सोचको विस्तार गरी ती दुवै देशबीच सेतुका रूपमा नेपाललाई विकास गर्न आवश्यक छ । यसो गर्न सके नेपालले आथिर्क विकासमा ठूलो फड्को मार्न सक्ने पक्का छ । यसैबाट नेपालले दुई छिमेकीको हारमा उभिई एशियाको महत्वपूर्ण अर्थतन्त्रका रूपमा आफूलाई स्थापित गर्न सक्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्ति र वीरहरूको देश, प्राकृतिक स्रोत र सम्पदाको अपार सम्भावना पनि नेपालका गौरव हुन् ।
यिनीहरूको भरपुर उपयोग र पहिचान गराई नेपालले सार्क मुलुकमा मात्र होइन, विश्वका सम्पन्न राष्ट्रबाट कूटनीतिक क्रियाकलापमार्फत अझ बढी सम्बन्ध विस्तार गरी यथेष्ट सहयोग र सद्भाव पाउन सक्ने सम्भावना छ । नेपालका उत्पादन गलैचा, पश्मिना, तयारी पोशाक, हस्तकला आदिले विभिन्न मुलुकमा आफ्नो पहिचान स्थापति गरिसकेका छन् । खस्केको निकासीलाई पहिलेकै स्थानमा पु¥याई नयाँ वस्तु निकासी गर्न पनि कूटनीतिक माध्यमबाट महत्वपूर्ण हुन्छ । १ सय ५४ राष्ट्रमा छरिएका गैरआवासीय नेपालीको सहयोगबाट पनि हाम्रा उत्पादन विभिन्न मुलुकमा निकासी गर्न सकिन्छ ।
एनआरएनको सहयोगबाट भौतिक संरचना, जलविद्युत्, कृषि उद्योगलगायतमा लगानी विस्तार गरी नेपालको आर्थिक उन्नति गर्न सकिन्छ । सरकारले लगानी प्रोत्साहन र उत्पादन वृद्धिका लागि पहल गरिरहेको वर्तमान अवस्थामा कूटनीतिक पहलको अझ बढी महत्व रहेको छ ।
विश्वका कैयौ मुलुकले आथिर्क मुद्दालाई बढी प्राथमिकता दिई कूटनीतिक सम्बन्धलाई सशक्त बनाउँदै आएका छन् । अमेरिका चीन वा भारतले आफ्नो उत्पादन निकासी गरी अरू देशमा बजार सुनिश्चित गर्न अधिकतम प्रयास गर्दै आएका छन् । कुनै पनि राष्ट्र प्रमुखको विदेश भ्रमणमा आफ्नो देशको निजीक्षेत्रलाई प्राथमिकता दिई सफल उद्योगी व्यवसायीहरूलाई साथमा लागि लगानी तथा व्यापार विस्तार गर्ने क्रम अझ बढ्दै गएको छ । नेपालले पनि वर्तमान अवस्थालाई बुझेर कूटनीतिक पहलततर्फ गम्भीर सम्बन्ध विस्तारमा लाग्न आवश्यक छ ।
कूटनीतिक दूरदर्शिता, सक्षमताबाट नै नेपालको पहिचान अझ बढी विस्तार भई विकासको ढोका खोल्न सकिन्छ । यसैबाट पर्यटन प्रर्वद्धन तथा नयाँ प्रविधि भित्रिएर लगानी विस्तारका साथै गुणस्तरीय उत्पादन वृद्धिमा ठूलो बल पुग्नेछ । सशक्त कूटनीतिबाट नै नेपालको चौतर्फी विकासका लागि यथेष्ट सहयोग प्राप्त भई राष्ट्रको गरिमा अझ बढ्दै जानेछ । सफल कूटनीतिक पहल र संस्कारका लागि राज्यले पनि प्राथमिकता तोकी आवश्यक साधनस्रोत उपलब्ध गराउँदै जानु आजको आवश्यकता हो ।