शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 09, 2012
  

समाज विकास र ज्येष्ठ नागरिक


ज्येष्ठ नागरिकले आफ्नो लामो अनुभवका आधारमा भविष्यमा आफ्नो गाउँ, समाज र देशकै आर्थिक–सामाजिक विकासमा उपयोगी हुने किसिमको काम गर्ने चिन्तन गर्नु आवश्यक छ ।



माधवप्रसाद घिमिरे


जाँगरिला, फूर्तिला तथा समाज विकासमा अझै पनि ठूलो योगदान दिइरहेका धेरै ज्येष्ठ नागरिक हाम्रो समाजमा छन् । नामै लिनुपर्दा सत्यमोहन जोशी, नरकान्त अधिकारी, वसन्तप्रकाश शम्र्मा र त्यस्तै व्यक्तित्वहरूको उज्यालो अनुहार अगाडि आउँछ । जोशी ९२ वर्षमा पनि कार्यक्रमहरूमा उत्साहका साथ भाग लिन्छन् र आफ्नो अनुभव समाजलाई प्रदान गर्छन् ।


जोशीले एक अखबारलाई दिएको अन्तरवार्तामा जीवनबारे घतलाग्दो जवाफ थियों ‘चिन्ता होइन, चिन्तन गर्नुहोस् ।’ जोशी संस्कृतिका विषयमा गहन विचार व्यक्त गर्दैछन् भने अधिकारी धार्मिक पुस्तक लेखन र प्रकाशनमा संलग्न छन् । शर्मा साहित्यका साधक र सृजनामा सक्रिय व्यक्तित्व हुन् । नेपाली शब्दकोश रचनामा उनको योगदान उल्लेखनीय छ । यी तीनैजनाको दिनचर्या व्यवस्थित र अनुशासित छ ।


खानपान साधारण छ । उनीहरू सकेसम्म हिँडेरै व्यायामको आवश्यकता पूरा गर्छन् । उनीहरूको यस किसिमको सजगताले ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण सन्देश दिएको छ । उनीहरूभन्दा अझ पाको र सक्रिय व्यक्ति पनि समाजमा होलान् । उनीहरूको दिनचर्या र सामाजिक–आर्थिक विकासमा गरेको योगदान अझै अनुकरणीय होला । ज्येष्ठ नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाबारेमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा हालैका वर्षहरूमा चर्चा परिचर्चा गहन हुन थालेको छ ।


स्वास्थ्यप्रति सचेतता, खानपान र रहनसहनमा सुधार, औषधि विज्ञानको विकास र पहुँचले गर्दा बाँच्ने उमेर बढ्न थालेको छ । त्यसो हुँदा पनि संसारभरि नै ज्येष्ठ नागरिकका सम्बन्धमा चासो बढेको छ । अक्टोबर १ लाई ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालेदेखि नेपालमा पनि यसबारेमा सञ्चारमाध्यममा समाचार तथा लेखरचना छापिन थाले ।


संसारमा अहिले ७ अर्बभन्दा बढी मानिस बसोवास गर्छन् । त्यसमध्ये १० प्रतिशत मानिस ६० वर्ष नाघेको अनुमान गरिन्छ । त्यसलाई मान्ने हो भने करीब ७० करोड ज्येष्ठ नागरिक छन् । नेपालमा हाल ज्येष्ठ नागरिकको सङ्ख्या १५ लाख रहेको अनुमान छ । ज्येष्ठ नागरिकमध्ये पनि महिलाको सङ्ख्या पुरुषभन्दा बढी हुन्छ । किनभने महिलाको औसत उमेर पुरुषको भन्दा बढी नै हुन्छ । बिहानदेखि बेलुकासम्म घरको काममा मानसिक र शारीरिक रूपमा खट्ने र सक्रिय रहने भएकाले उनीहरू बढी बाँच्छन् ।


ज्येष्ठ नागरिकहरूले विभिन्न किसिमका समस्याको सामना गर्नु परिरहेको छ । नेपालमा आर्थिक समस्या जटिल छ । पेन्सन पाउने र नपाउनेहरूको समस्या फरकफरक हुन्छ । नपाउनेहरूको समस्या झनै जटिल छ । हातमा पैसा हुँदा जुन आत्मविश्वास र आत्मसम्मान हुन्छ, आफैले खर्च गर्ने स्वतन्त्रता हुन्छ, त्यो नै ज्येष्ठ नागरिकको बाँच्ने ठूलो आधार हुन्छ । धर्मकर्म गर्न, कुनै दुःखीलाई दान दिन, कतै आफै डुल्न जान, छोरीबेटी माइत आउँदा बाटोखर्च भनी दुईचार पैसा दिन सक्ने क्षमताले गर्दा उनीहरूमा आत्मसन्तोष हुन्छ ।


पेन्सनबापत प्रत्येक महीना निश्चित रकम पाउने भएकाले योजना बनाउन सकिन्छ । जस्तो कि लामो तीर्थयात्रामा जानुछ भने पेन्सन बचत गरी इच्छा पूरा गर्न सक्छन् । रोग लागेको वा लाग्ने सम्भावना भएमा पेन्सन जोगाउन सकिन्छ ।


पेन्सन नै नपाउनेको समस्या भने विकराल छ । सरकारले ७० वर्ष उमेर पुगेका वृद्घवृद्घा, विधवा र एकल महिलालगायतलाई केही नगद सहयोग गरेको छ । यो रकम नगन्य हो । तर पनि केही न केही नगद हात पर्दा उनीहरूले निराश हुनु पर्दैन । यो सरकारले गरेको सामाजिक दायित्वभित्र पर्दछ । तर, नेपाली समाजमा अहिले विशृङ्खलता शुरू भएकाले यसको मार ज्येष्ठ नागरिकमा पर्ने निश्चित छ । ग्रामीण क्षेत्रका बलिया पाखुरा भएका धेरै युवायुवती राज्यबाटै पलायन भइरहेको छन् ।


त्यसो हुँदा ज्येष्ठ नागरिकहरूको रेखदेख र हेरचाहको जिम्मा वृद्घवृद्घा स्वयम् र केटाकेटीहरूमा परेको छ । आर्थिक उपार्जनका लागि हिँडेका र भौतिक सुखसुविधाका लागि विदेशिएकाहरू पुनःग्रामीण क्षेत्रमा फर्केलान् भन्न गाह्रो छ । त्यस्तै शहरी क्षेत्रमा बसोवास गर्ने ज्येष्ठ नागरिकहरू पनि साँघुरिएर बस्नु पर्ने बाध्यता छ । छोराबुहारीहरू काममा जाने भएकाले उनीहरूले बूढाबूढीहरूको हेरचाह गर्न नभ्याउने परिस्थिति छ । यदि उनीहरूले भ्याइहाल्ने भए पनि वास्ता नगर्ने प्रवृत्तिले गर्दा ज्येष्ठ नागरिकहरू निकै समस्यामा रहेका छन् । अहिले शहरी क्षेत्रमा चोरीचकारी बढेकाले घर छोडेर हिँड्न पनि अप्ठ्यारो छ । बूढाबूढीहरूले घरको रखवाली गर्नु परेको छ ।


आथिर्क रूपमा सम्पन्न ज्येष्ठ नागरिकहरू पनि मानसिक र सांस्कृतिक रूपमा समस्यामा छन् ।


काठमाडौं उपत्यकाको परम्परागत सांस्कृतिक विशेषता के हो भने यहाँका बृद्द बृद्धा विभिन्न टोलका मन्दिर सत्तल, पाटीपौवामा साँझ–बिहान भजनकीर्तन गर्दछन् । विभिन्न जातजातीका व्यक्ति आआफ्नो मूल्यमान्यता तथा विश्वासअनुसार मठमन्दिरको दर्शन गर्ने नित्य पूजाकोठामा बसी भगवान्को आराधना गर्ने गर्छन् ।


आथिर्क रूपमा सम्पन्न र विपन्न दुवै थरिमा यो संस्कार रहेको छ । यो सांस्कृतिक विशेषता ज्येष्ठ नागरिकका लागि निकै नै सकारात्मक पक्ष हो । करीब १५ वर्षपहिले म अर्थ मन्त्रालयको विदेशी सहायता महाशाखाको जिम्मेवार पदमा काम गर्दा स्पेनबाट नेपालको शहरको बनोट र ढाँचा तथा रहनसहनको अध्ययन गर्न आएको इञ्जिनीयरिङ अध्ययन टोलीसँग भेट भएको थियो ।


उनीहरूले नेपालीहरूको सबेरै देखि भजनकीतर्न गर्ने मन्दिरहरूमा दर्शन गर्न जाने सास्कृतिक परम्पराको निकै प्रशंसा गरेका थिए । समय व्यतित कसरी गर्ने भन्ने नै वृद्वावस्थाको प्रमुख समस्या हो । पहाडमा वृद्धवृद्धाले भेटघाट गर्ने थलो चौतारी हो । त्यहाँ बसेर दिन काट्ने, खबर दिने र लिने सरसल्लाह गर्ने गरिन्थ्यो ।


त्यसबाट मानसिक रूपमा सचेत र चनाखो हुन सहयोग हुन्थ्यो । साथै, भावी पुस्तालाई सामाजिक तथा आर्थिक कुराका बारेमा ज्ञान प्रदान गर्न पनि त्यस्ता भेटघाट निकै नै फलदायी हुन्थे ।


मानसिक र शारीरिक रूपमा सक्रिय रहन हाल निवृत्त भएका व्यक्तिहरूले आफ्नै किसिमबाट पहल गर्छन् । कसैलाई पढाइदिएर अथवा पाठशालामा नियमित रूपमा सहयोग गरेर तथा हिसाबकिताब राख्न मद्दत गरेर केही ज्येष्ठ नागरिकले समाजसेवा गरिरहेका छन् । अस्पतालमा स्वयम्सेवा गरेर, गैरसरकारी संस्थाले सञ्चालन गरेका कार्यक्रममा सहभागी भएर पनि समयको सदुपयोग गर्न सकिन्छ ।


यसमा आफैले पहल गरेमा कामको खाँचो देखिँदैन । मुख्य कुरा कसरी रमाएर, अरूसँग घुलमिल भएर र समाजलाई उपयोगी भएर बाँच्ने भन्ने प्रश्न हो । आफ्नो लामो अनुभवका आधारमा भविष्यमा आफ्नो गाउँ, समाज र देशकै आर्थिक–सामाजिक विकासमा उपयोगी हुने किसिमको काम गर्ने चिन्तन गर्नु पनि आवश्यक छ । यसमा सरकारले यो गरने , ऊ गरने भन्ने कचकच मात्र गरेर होइन, आफ्नो क्षमताअनुसार के गर्न सकिन्छ त्यसतर्फ पनि सोच विचार गर्नु आवश्यक छ ।


केही समयअघि अमेरिकाको भ्रमण गर्दा म नियमित पुस्तकालय जान्थेँ । त्यही बेला पुस्तकालयलाई स्वयम्सेवकको आवश्यकता भएको सूचना पढेँ । त्यहाँको काम गर्ने काइदाबारे जानिन्छ भनेर मैले पनि निवेदन दिएँ । मलाई पनि केही दिनपछि बोलाइयो । पहिलो दिन २ घण्टा किताब सटिर्ङ गर्ने तरीका, किताब अनधिकृत रूपमा बाहिर जानबाट रोक्न चेक गर्ने तरीका, प्रशासनिक परिपाटी, स्वयम्सेवकको अधिकार र कर्तव्यका बारेमा जानकारी गराइयो ।


फोटो खिचेर परिचय पत्र पनि दिइयो । स्वयम्सेवकले दिनको २ घण्टा र हप्तामा ५ दिन मात्र सेवा गर्न पाउने नियम रहेछ । ६५ वर्ष पुगेको मसमेत २० जना स्वयम्सेवकको छनोट भएको थियो । सबै तोकिएको समयमा पुग्थे र जिम्मेवारी पूरा गरेर हिँड्थे । कारणवश आउन नसक्ने भए अघिल्लै दिन सूचना गर्नुपथ्र्याे । कामबाहेक अरू कुरामा ध्यान नै नजाने गरी व्यवस्था मिलाइएको रहेछ । वृद्घवृद्घालाई समय काट्न सजिलो र केही काम गरेर समाजलाई उपयोगी सिद्ध भएको भावना जगाउनु यसको उद्देश्य रहेछ । साथै, पढन् र कम्प्युटर चलाउन प्रोत्साहन गर्नु पनि त्यसको उद्देश्य रहेछ ।


केही समयअघि निधन भएका भारतका प्रसिद्व कलाकार देवानन्द नेपालको भ्रमणमा आउँदा एउटा कार्यक्रममा उनले दिएको जवाफ घतलाग्दो थियो । उनको उमेरले ८५ छोएको थियो । तर, उनी एउटै सोफामा ३ घण्टा बसेर प्रश्नको जवाफ दिइरहेका थिए । उनमा जोस, जाँगर, उत्साह र भविष्यप्रति आशा तथा अझै केही गर्न सकिन्छ भन्ने पूर्ण विश्वास देखिन्थ्यो । त्यसै कारण उनको जवाफको गरिमा बढेको थियो । उनको जवाफ थियो– म अझै जवान छु, अझै काम गर्न सक्छु र काम गरेर देखाउँछु भन्ने भावनाले काम गरे उमेर बाधक हुँदैन । उनले कुनै पनि जवाफ दिँदा बूढो बा बुढ्यौली भन्ने शब्दको प्रयोग गरेनन् ।


वृद्धावस्थालाई बोझका रूपमा नलिई शरीरको निश्चित कालखण्डको अवस्था हो भनी मानसिक रूपमा स्वीकार गर्नु पर्छ । त्यसो गर्न सकेमा मानसिक र शारीरिक रूपमा सक्रिय रही समाजलाई योगदान गर्न सकिन्छ । ज्येष्ठ नागरिकप्रतिको दायित्व राज्यले समेत आत्मसात् गरेको छ । त्यही भएर उसले ज्येष्ठ नागरिक ऐन २०६३ बनाएको छ । यसको कार्यान्वयन गर्दा कुनै न कुनै किसिमबाट बृद्द बृद्धाको मनोबल उच्च गर्न सकिन्छ । त्यसैले सरकारले यसतर्फ तुरुन्त ध्यान दिनु आवश्यक छ ।


लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।