शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 11, 2012
  

विज्ञान तथा प्रविधिको विकास


ओठे प्रतिबद्धताले विज्ञान प्रविधिको विकास सम्भव हुँदैन

 


सीताराम व्याहुत
प्राध्यापक
भौतिक विज्ञान, नास्ट



विज्ञान, प्रविधि र अनुसन्धानको विकासमा विश्वको करीब २ हजार वर्ष लामो अनुभव छ । त्यो अनुभवले के देखाएको छ भने विज्ञान, प्रविधि र अनुसन्धानको विकासमा सबै देश– महादेशले आआफ्नो ठाउँबाट सक्दो योगदान गरेका छन् । यसलाई समग्रमा व्याख्या गर्ने हो भने हामी यस्तो निक्र्योल निकाल्न सक्छौं । पहिलो कुरा कुनै पनि देशको विकास गर्ने हो भने विज्ञान, प्रविधि र अनुसन्धानको माष्टरी, उपयोग र सृजना नगरी सम्भव छैन । दोस्रो विज्ञान, प्रविधि र अनुसन्धानको विकासका लागि सबै समुदाय सक्षम छन् ।


ती सबैले विज्ञान र प्रविधिलाई सिक्न सक्छन् र त्यसको विकासमा योगदान पनि गर्न सक्छन् । हाम्रो देशकै सन्दर्भमा कुरा गर्ने हो भने विज्ञानप्रविधिको विकास र अनुसन्धानका माध्यमबाट विकास शुरू गर्दा ३० देखि ५० वर्षभित्र मुलुकको गरीबीको चक्र तोड्न र विकसित मुलुकहरूको दाँजोमा पुग्न सक्छौं । हामी विकसित मुलुकको तुलनामा किन पछाडि छौं ? त्यसको कारण खोज्ने हो भने विज्ञान, प्रविधिको विकास हुन नसक्नु नै प्रमुख कारण हो । विज्ञान, प्रविधि र अनुसन्धानको विकास सम्भव बनाउन केही शर्त छन् । त्यसको विकासका लागि हाम्रो समाजमा पाँच वर्गका मानिसको सहयोग र सहकार्य आवश्यक हुन्छ । त्यसमा पहिलो शासक वर्ग (राज्य) हो ।


किनकि शासक वर्गसँग थुप्रै किसिमका आर्थिक र मानवीय स्रोतसाधन हुन्छन् । उनीहरूले चाहेको बेलामा त्यसको परिचालन गर्न सक्छन् । दोस्रो वर्ग योजनाविद् र व्यवस्थापक हुन् । उनीहरूले योजना बनाएर र विज्ञानप्रविधिको व्यवस्थापन गरेर शासकहरूलाई सहयोग गर्न सक्छन् । तेस्रो वर्ग उद्योगी–उद्यमी हुन् । यो वर्गले विज्ञान र प्रविधिलाई प्रत्यक्ष रूपमा उपभोग गर्छ । त्यसका साथै उनीहरूले रोजगारी सिर्जना गर्ने र समाजमा आर्थिक क्रियाकलाप नियमित गर्न सक्दछन् । उनीहरूले विज्ञान र प्रविधिको विकासमा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान गरेका हुन्छन् । चौथो वर्ग वैज्ञानिक र प्राविधिक हुन् । यो वर्गले सिक्ने, सिकाउने र विज्ञानप्रविधिको विकास गर्ने कुरामा योगदान गर्न सक्छ । पाँचौं तथा अन्तिम वर्ग भनेको सञ्चारमाध्यम हो ।


यसले विज्ञानप्रविधिको पँहुचलाई आमजनसमुदायबीच पुर्याउन मद्दत गर्छ । यस तप्कामा शिक्षकहरू पनि पर्छन् । उनीहरूले विज्ञानप्रविधिको शिक्षा दिएर पुस्तौंपुस्तासम्म लैजान सक्छन् ।


विज्ञान र प्रविधिमा हामी पछाडि पर्नाको अर्को कारण त्यसको विकासमा राज्यको उच्चतम प्रतिबद्धता नहुनु हो । ओठे प्रतिबद्धताले मात्र केही हुँदैन । विज्ञान, प्रविधि र अनुसन्धानको विकास गर्ने हो भने त्यो कार्य व्यवहारमा लागू हुन सक्नुपर्छ । हाम्रो मुलुकमा अहिलेसम्म विज्ञान र प्रविधिको विकासमा ओठे प्रतिबद्धता मात्र व्यक्त हुने गरेको छ । मुलुकको छैटौं योजनादेखि विज्ञान र प्रविधि आर्थिक योजनामा परेको हो । तर, यो क्षेत्रमा राज्यले गर्ने खर्च अत्यन्त न्यून छ । राज्यले विज्ञानप्रविधिलाई प्राथमिकता दिन सकेको छैन । यसलाई विशेष क्षेत्रका रूपमा प्राथमिकता दिई राज्यले विशेष प्रतिबद्धता व्यक्त गर्न नसक्नु यसको विकासको बाधकका रूपमा देखिएको छ ।


एकातिर राज्यले विज्ञानप्रविधिको विकासका लागि कुनै योजना बनाउन सकेको छैन भने अर्कातिर त्यसमा सहयोग पुग्ने कानून निर्माणमा पनि ध्यान दिएको छैन । वैज्ञानिकहरूले निर्माण गरेका यन्त्रहरूको ‘पेटेण्ट’ दर्ताको सरल व्यवस्था हुन नसकेका कारण वैज्ञानिकहरू हतोत्साही भएका छन् । वैज्ञानिकहरूको सहयोगका लागि उपकरण र भौतिक सुविधाको अभाव छ । यसले गर्दा उनीहरू विभिन्न समस्या झेल्न बाध्य छन् । सोही कारण हाम्रो मुलुक विज्ञानप्रविधि र अनुसन्धानको क्षेत्रमा पछाडि परेको छ । अन्य मुलुकको कुरा गर्ने हो भने ती मुलुकमा वैज्ञानिकहरूलाई प्रशस्त सुविधा उपलब्ध गराउने व्यवस्था हुन्छ र बेलाबेलामा उनीहरूको मूल्याङ्कनलाई अध्यावधिक पनि गर्ने गरिन्छ ।


विज्ञान र प्रविधिको विकासमा संसारभर विभिन्न खालका संयन्त्र छन् । तर, हाम्रो मुलुकमा त्यस्ता संयन्त्रको उपयोग गर्ने आन्तरिक संयन्त्रको नै अभाव छ । विज्ञानप्रविधिसँग सम्बन्धित अन्तरराष्ट्रिय स्तरका थुपै्र संस्था छन् । तिनीहरूबाट हामीले थुपै्र सहयोग लिनदिन सक्छौं तर आन्तरिक संयन्त्रकै अभावमा हामीले त्यसो गर्न सकेका छैनौं । आर्थिक विकासको क्रममा कुनकुन कुरालाई प्राथमिकतामा राख्नुपर्छ र विज्ञान र प्रविधिलाई कसरी उपयोग गर्नुपर्छ भन्ने कुराको निर्धारण अहिलेसम्म पनि गर्न सकेको अवस्था छैन । अहिलेसम्मको हाम्रो बल प्राकृतिक सम्पदामा हो तर त्यो कहाँ छ, कस्तो छ र त्यसलाई कसरी उपयोग र संरक्षण गर्ने भन्ने कुरामा पनि पहल भएको छैन ।


हामीले अब के गर्नुपर्छ ?


सबैभन्दा पहिला माथि उल्लेखित कुरालाई स्थापित गर्न हामी सबै लाग्नुपर्छ । प्रथमतः शासक वर्गले ओठे प्रतिबद्धता व्यक्त गरेर मात्र हुँदैन । त्यसलाई व्यवहारमा नै कार्यान्वयन गर्न सक्नुपर्छ । विज्ञान र प्रविधिले प्रत्यक्ष रूपमा धनको सृजना गर्छ र गरीबी निवारणमा महइभ्वपूर्ण भूमिका खेल्छ भन्ने भावनाले शासक वर्गले काम गर्नुपर्छ । त्यस्तो प्रतिबद्धता भयो भने कानून निर्माण गर्न, योजना बनाउन, अन्तररााष्ट्रिय सहयोग जुटाउन र सहकार्य गर्न, वैज्ञानिकहरूलाई सेवा प्रदान गर्ने संयन्त्र बनाउन गाह्रो हुँदैन ।


अहिले नेपालमा उत्पादन भएका अधिकांश वैज्ञानिक विदेश पलायन भएका छन् । तीमध्ये केही मात्र नेपाल आए भने पनि नेपालका लागि सौभाग्य हुन्छ । नेपाली विज्ञान र प्रविधिको क्षेत्रमा कुनै मुलुकका व्यक्तिभन्दा कम छैनन् । यूरोपेली तथा अमेरिकी मुलुकका वैज्ञानिकले प्रगति गर्नुको प्रमुख कारण त्यहाँ उपलब्ध उपकरण र सुविधा नै हो । हामीलाई त्यस्तो कुनै सहयोग छैन । त्यसले पनि समस्या हुने गरेको छ । राज्यको ध्यान त्यतातिर जान जरूरी छ ।


निष्कर्ष


विज्ञान र प्रविधिको क्षेत्रमा प्राथमिकता निर्धारण गर्न केही प्रयास भएका छन् । तर, राज्यले यस क्षेत्रलाई अहिलेसम्म आफ्नो प्राथमिकतामा दिन सकेको छैन । गृहकार्य गरेर प्राथमिकताअनुरूप राज्यले काम गर्ने वातावरण निर्माण गर्ने हो भने निकै सहज हुन सक्छ । हाम्रो मुलुक द्वन्द्वको भुमरीबाट भर्खर बाहिर निस्केको छ । त्यसैले यो काम गर्न निकै मुश्किल हुन सक्छ । तर, चाहने हो भने सम्भव छ । हामीले श्रीलङ्काबाट थुप्रै कुरा सिक्न सक्छौं ।


श्रीलङ्कामा तमिल विद्रोहीसँग राज्य लडिरहँदा पनि त्यहाँको विकासको गति कहिल्यै रोकिएन । द्वन्द्वका बेला पनि सर कारले द्वन्द्व अन्त्य गर्ने कुराका साथै आर्थिक विकासलाई पनि प्राथमिकतामा राख्यो । अर्को कुरा, विज्ञान, प्रविधि र वातावरण मन्त्रालयको निर्माण विज्ञान र प्रविधिको विकासका लागि भन्दा पनि राजनीतिज्ञहरूलाई मन्त्री बनाउनका लागि मात्र भएकोजस्तो दे खिएको छ । कठोर राज्यका रूपमा परिचित ब्राजिलजस्तो मुलुकमा पनि राज्यको सहयोगमा सामरिक विकासका लागि वैज्ञानिकहरूसँग सहकार्य गरेर विज्ञान र प्रविधिको विकास भएको थियो ।


स्टालिनजस्ता कठोर शासकले पनि तत्कालीन सोभियत सङ्घमा विज्ञान र प्रविधिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यो सबै हुनुमा शासक वर्गको इच्छाशक्ति नै प्रमुख कारण हो । सन् १९६० को दशकमा इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)हरू भारतमा खुलेपछि विज्ञान र प्रविधिसम्बन्धी अध्ययन गरिरहेका थुप्रै युवा अमेरिका तथा यूरोपेली मुलुक प्रवेश गरे । लामो समय त्यहाँ काम गरेपछि उनीहरू सन् ११९० को दशकमा भारत फर्किए अहिले उनीहरूले त्यहाँको औद्योगिक विकासमा ठूलो योगदान गरेका छन् । चीनकै कुरा गर्ने हो भने पनि सन् १९८० को दशकमा चीनले आफ्ना नागरिकलाई अमेरिका पढ्न जान नीति खुला ग¥यो । तीमध्ये मुश्किलले १५–२० प्रतिशत युवा स्वदेश फर्किए । तिनले चीनमा औद्योगिक र वैज्ञानिक क्रान्ति गरेका छन् । हाम्रा छिमेकी मुलुक भारत र चीनले प्राप्त गरेको सफलताबाट सिकेर अगाडि बढ्ने मात्रै हो भने पनि हामीले केही वर्षमै नसोचेको सफलता प्राप्त गर्न सक्छौं ।