शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 31, 2012
  

असफलताको प्रतीक्षामा लगानी वर्ष


बन्दहडताल, कर्मचारीतन्त्र, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, राजनीतिक दबाब र अन्य अदृश्य कारणहरू लगानीलाई निरुत्साहित गर्ने प्रमुख करकका रूपमा रहेका छन् ।

डा. कमलराज ढुङ्गेल


नेपालले सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनायो । यसले नेपाललाई कति फाइदा पु¥यायो यसको लेखाजोखा गर्न केही समय लाग्न सक्छ । तर पनि यससँग सम्बन्धित दुई प्रकारका मुद्दा उठाउन सकिन्छ ।


नेपाल पर्यटन वर्ष २०११ ले कति पर्यटक नेपालमा भित्रयाउन सफल भयो ? र, यसले नेपाली अर्थव्यवस्थामा कति रोजगारीका अवसर सृजना गरी नेपालको कुल आम्दानीमा के कति वृद्धि गरायो ? पहिलो प्रश्नको उत्तर सार्वजनिक हुन थालेको छ । जसअनुसार, सन् २०११ मा २०१० को तुलनामा पर्यटकको आगमन सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सकेको छैन ।


अर्थात् समग्रमा पर्यटन वर्ष असफलतामै बित्यो । नेपालमा पर्यटकको आगमन औसत वार्षिक वृद्धिदर सन् २०००–०११ को अवधिमा केवल २५ प्रतिशत मात्र रहेको छ । यसले के सङ्केत गर्दछ भने पर्यटन वर्ष २०११ मा पनि पर्यटक आगमन वृद्धिदर विगतका अन्य वर्षकै हाराहारीमा रहेको छ ।


दोस्रो मुद्दाको उत्तर अनुसन्धानात्मक खोजीको आधारमा मात्र केही भन्न सकिन्छ । तर पनि पर्यटन आगमनको सङ्ख्यालाई दृष्टिगत गर्दा यसले रोजगारी र आम्दानीको सृजना गर्नमा खासै ठूलो अन्तर ल्याउन सकेको छैन भन्न सकिन्छ । निचोडमा भन्दा नेपालको पर्यटन वर्ष असफल प्रयत्न साबित भयो ।


पर्यटन वर्ष असफल हुँदाहुँदै पनि सरकारले हाल भइरहेको लगानीलाई दोब्बर बनाउने उद्देश्यका साथ सन् २०१२ लाई नेपाल लगानी वर्ष भनेर घोषणा गरिसकेको छ । त्यति मात्र होइन, लगानी बोर्डको गठन पनि भइसकेको छ ।


वास्तवमा भन्ने हो भने नेपालमा लगानी हुनु अति आवश्यक छ । नेपाली अर्थतन्त्रका धेरै क्षेत्र विकासका निमित उचित लगानीको पर्खाइमा छन् । नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने धेरै क्षेत्र छन् । तीमध्ये कृषिअन्तर्गत खाद्यन्न प्रशोधन, पशुपालन तथा दुग्धपदार्थमा आधारित उद्योग, पर्यटन उद्योग, औषधि उद्योग, उत्पादनमूलक उद्योग, सिमेण्ट तथा विद्युत्शक्ति उत्पादन उद्योग प्रमुख रूपमा रहेका छन् ।


नेपालमा यी उद्योगको सम्भाव्यता अत्यन्तै बढी छ, जसले स्वदेशी तथा विदेशी दुवै प्रकारका लगानीलाई आकर्षित गर्न सक्छ । नेपाल लगानी गर्नयोग्य देश हो । यसको कारण थुप्रै छन् । पहिलो, स्वदेशी तथा विदेशी दुवै प्रकारका लगानीकर्ताहरूले लगानीको फल छोटो समयमा नै प्राप्त गर्न सक्ने सम्भावना छ । न्यून लागतमा वस्तु तथा सेवा सहज ढङ्गले उत्पादन गर्न सकिन्छ । कच्चापदार्थको सहज उपलब्धता र सस्तो श्रम यसका आधार हुन् ।


नेपालमा रोजगारीका अवसर न्यून भएका कारण उच्च दक्षदेखि पूर्ण अदक्ष श्रमशक्ति न्यून ज्यालादरमा उपलब्ध छ । अर्थात् नेपालको श्रमबजार अत्यन्तै लचिलो छ । दोस्रो, नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार अत्यन्तै फराकिलो छ । नेपालमा उत्पादित वस्तु तथा सेवा स्वदेशमा मात्र खपत हुने होइन, विशाल बजार भएका छिमेकी देशहरूमा निर्यात हुन सक्छन् ।


अर्थात् छिमेकी मुलुकहरू चीन तथा भारतमा यहाँ उत्पादित वस्तु तथा सेवा सजिलै निर्यात गर्न सकिन्छ । तेस्रो, माथि उल्लेख गरिएका सम्भावित क्षेत्रको विकास गर्न आवश्यक पर्ने कच्चापदार्थ यहीँ उपलब्ध छ । कृषिजन्य वस्तु, चरन क्षेत्र, प्राकृतिक सौन्दर्य, स्वच्छताका साथै रमणीय स्थानको उपलब्धता, हिमाली क्षेत्रमा पाइने विभिन्न खाले जडीबुटीको उपलब्धता, चूनढुङ्गाको प्रचुरता र नेपालका ठूला–साना नदीनालाहरूमा पर्याप्त पानीको उपलब्धता छ ।


चौथो, विगत केही दशकदेखि नै नेपालमा उपलब्ध स्रोत तथा साधन अनुत्पादक क्षेत्रमा प्रवाहित भइरहेको छ । यसलाई उत्पादक क्षेत्रमा प्रवाहित गराउन सकिन्छ । प्रस्तुत यी सबै तथ्यको आधारमा के भन्न सकिन्छ भने नेपालमा लगानीका अवसर धेरै छन् । तर, यसको दीर्घकालीन र उचित विकासका निम्ति स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्नुपर्छ ।


प्रचुर सम्भावना हुँदाहुँदै पनि किन नेपालमा लगानी आकर्षित हुन सकेको छैन ? लगानी वृद्धिका बाधक तत्व के–के हुन ? यी प्रश्नको उतर अत्यन्तै सरल ढङ्गले प्रस्तुत गर्न सकिन्छ । पहिलो, नेपालको नेतृत्व वर्ग परापूर्वकालदेखि नै अत्यन्त कमजोर, विदेशमुखी, विचारहीन र अलोकप्रिय हुँदै आएको छ । फलस्वरूप नेपालमा कुनै समयमा पनि सुशासनको प्रत्याभूति हुन सकेन । फलस्वरूप सुशासनको अभावमा आज देश छटपटाइरहेको छ ।


स्थानीय तहदेखि माथिल्लो तहसम्मका निकायमा भ्रष्टाचार व्याप्त छ । यसबाहेक चाकडी र नातावादले जरो नै गाड्दै आएको छ । फलस्वरूप अवसरहरू आमजनताको पहुँचमा पुग्न सकेका छैनन् । समाजमा असमानताले सीमा नाघिसकेको छ । देश असुरक्षाको शिकार बनिरहेको छ । दोस्रो, नेपालका राजनीतिक पार्टीहरूको विरोधीशैली बन्दहडताल, लुटपाट, धम्की, अपहरण र हत्यासम्म हुने गरेको छ । विरोधका यी शैलीले कुनै पनि लगानीकर्तालाई भयभित बनाउनु स्वाभाविक हुन्छ र यो भइरहेको पनि छ ।


तेस्रो, श्रम सङ्गठनहरूको दबाबशैली पनि पार्टीहरूको विरोधशैलीकै समकक्षमा रहेको छ । श्रमिकहरूको दबाबका कारण सञ्चालनमा रहेका उद्योग व्यवसायहरू अपाङ्ग मात्र बन्न पुगेका छैनन्, बन्द नै हुने गरेका उदाहरण पनि छन् । चौथो, कुनै पनि उद्योग व्यवसाय सञ्चालनका निमित्त विद्युत्शक्तिको आवश्यकता पर्दछ । विद्युत्शक्ति उत्पादनको प्रमुख साधनका रूपमा एउटा अपरिहार्य स्रोत रहँदै आएको छ ।


नेपालमा विद्युत्शक्ति सम्भाव्यताको अपार भण्डार छ तर यसको विकास हुन सकेको छैन । पर्याप्त मात्रामा विद्युत्शक्तिको अभावका कारण वर्षेनि भारी मात्रामा लोडशेडिङ हुँदै आइरहेको छ । यसले के सङ्केत गर्दछ भने नेपालमा लगानी गर्नु भनेको सीमित स्रोत तथा साधनको सदुपयोग नगर्नु हो । पाचौं, सरकारी नीतिनियम पनि लगानीअनुकूल छैनन् । भएका लगानीमैत्री व्यवस्था पनि कर्मचारीतन्त्रको शिकार बनिरहेका छन् । अर्काे शब्दमा भन्दा लगानीकर्ताहरूलाई सरकारी निकायले काम गर्ने सहज वातावरण प्रदान गर्न सकेका छैनन् । यो प्रक्रियाले लगानीकर्ताहरूको मनोबल गिराउँछ र लगानी निरुत्साहित हुन्छ ।


छैटौं, विद्यमान लगानीमाथि स्थानीय स्तरमा विरोध भई उद्योग व्यवसाय सञ्चालन हुन सकेको छैन । उदाहरणका रूपमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई लिन सकिन्छ, जहाँ भारतीय लगानी अलपत्र भएको छ । यति मात्र होइन, कतिपय स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित उद्योग व्यवसाय अनुचित विरोधका कारण बन्द नै हुन पुगेका उदाहरण पनि छन् । अन्त्यमा स्वदेशी तथा विदेशी दुवै प्रकारका लगानीका सम्बन्धमा पार्टी–पार्टीबीच मात्रै होइन, एउटै पार्टीभित्र पनि मतऐक्य हुन सकेको छैन ।


माथि उल्लिखित जटिलताका बीचमा घोषणा भएको नेपाल लगानी वर्ष सफल हुने कुरामा शङ्का उत्पन्न हुन्छ । लगानीका पर्याप्त क्षेत्र उपलब्ध छन् । यी क्षेत्रले लगानीकर्ताहरूलाई आकर्षित पनि गरिरहेका छन् । तर, नेपालमा लगानीको वातावरण छैन । बन्दहडताल, कर्मचारीतन्त्र, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, राजनीतिक दबाब र अन्य अदृश्य कारणहरू लगानीलाई निरुत्साहित गर्ने प्रमुख करकका रूपमा रहेका छन् । अझ प्रस्ट भन्ने हो भने नेपालमा सुरक्षा निकायहरू अत्यन्तै कमजोर छन् । यी सबै निकायलाई तन्दुरुस्त राख्न सुशासनको आवश्यकता पर्दछ, जसको अभावमा यी सबै क्षेत्र अनियमितताका शिकार भइरहेका छन् । लगानीको लहर ल्याउने पूर्वाधारको विकास हुन सकेको छैन ।


नेपाल ऊर्जासङ्कटले असमान्य बन्दै गइरहेको छ । निकट भविष्यमा सरकारले विद्युत्शक्तिको आपूर्ति नियमित गराउने कुनै योजना र कार्यक्रम ल्याउन सकेको छैन । सुशासनको लक्षण पनि देखिएको छैन । यो परिस्थितिमा, नेपाल लगानी वर्षले देशमा उपलब्ध सीमित स्रोत र साधनद्वारा गोष्ठी, पाहुना सत्कार, विदेश भ्रमण, बैठक भत्ता आदिमा खर्चको मात्रा मात्र दोब्बर बन्ने र लगानीको वृद्धि न्यून हुने कुरामा कुनै शङ्का छैन ।


लेखक त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्राध्यापक हुन् ।