शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सूचनाप्रविधि क्रान्तिमार्फत सेवाक्षेत्रमा खर्च कटौती


हामीले देखिरहेको दीर्घकालीन प्रवृत्ति पनि के हो भने वस्तुको उत्पादनमा लागेका श्रमशक्तिको सङ्ख्या समयक्रममा घटेको छ । जबकि सेवाको मूल्यको तुलनामा वस्तुको मूल्य झरेको छ ।


जेफरी डी. साख्स


अर्थशास्त्रमा एउटा प्रसिद्ध भनाइ के छ भने खाद्य, तेल र मेशिनरीजस्ता वस्तुको लागत स्वास्थ्य र शिक्षाजस्तो सेवाको लागतअनुरूप नै बढ्ने गर्छ । यो सत्यजस्तो पनि देखिन्छ । बढ्दो स्वास्थ्य सेवा र स्कूलको पढाइ खर्च लगातार बढिरहेको छ । विश्वभरिका मानिसहरूले त्यसलाई मुश्किलले धानिरहेका छन् । प्रत्येक वर्ष ती क्षेत्रको लागत औसत महँगी दरभन्दा धेरैले बढिरहेको जस्तो देखिन्छ । तर, अब भने सूचना तथा सञ्चारप्रविधिमा जारी क्रान्तिको परिणामस्वरूप स्वास्थ्य, शिक्षा र अन्य सेवाको लागतमा तीव्र कटौती गर्न सम्भव भएको छ । वस्तुको लागत सेवाको लागतभन्दा कम हुन्छ कि बढी भन्ने विषय उत्पादकत्वमा भर पर्छ । यदि, किसानहरू खाद्यान्न उब्जनी गर्न अत्यन्त धेरै कुशल भए तथा शिक्षकहरू केटाकेटीलाई पढाउन अलिकता मात्रै धेरै कुशल भए भने शिक्षाको लागतको तुलनामा खाद्यवस्तुको लागत झर्छ । त्यसका साथै कृषिमा लाग्ने किसानको सङ्ख्या पनि घट्नेछ । किनभने, पहिलेको भन्दा थोरै किसानले नै सम्पूर्ण देशलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सक्छन् ।


हामीले देखिरहेको दीर्घकालीन प्रवृत्ति पनि के हो भने वस्तुको उत्पादनमा लागेका श्रमशक्तिको सङ्ख्या समयक्रममा घटेको छ । जबकि सेवाको मूल्यको तुलनामा वस्तुको मूल्य झरेको छ । सन् १९५० मा अमेरिकाको झण्डै ४ प्रतिशत जनसङ्ख्या कृषिमा, ३८ प्रतिशत उद्योगमा (खानी, निर्माण र म्यानुफ्याक्चरिङलगायत) र ५८ प्रतिशत जनसङ्ख्या सेवामा संलग्न थिए । सन् २०१० सम्ममा त्यस्तो अनुपात क्रमशः २ प्रतिशत, १७ प्रतिशत र ८१ प्रतिशत हुन आइपुगेको छ । यसैबीच अन्य थुप्रै सेवाक्षेत्रसँगै स्वास्थ्य सेवा र पढाइ शुल्क पनि आकाशिएको छ ।


तर, सेवाक्षेत्रमा उत्पादकत्व क्रान्ति अब सम्भव छ । एक प्राध्यापकका रूपमा म यसलाई आप्mनै कक्षाकोठामा अनुभव गर्न सक्छु । झण्डै ३० वर्षअघि मैले शिक्षण शुरू गर्दादेखि केही वर्षअघिसम्म प्रविधि झण्डै स्थिर नै जस्तो देखिन्थ्यो । म कक्षामा उभिन्थें र एक घण्टा लामो लेक्चर दिन्थे । निश्चय पनि कालोपाटीको स्थान ओभरहेड प्रोजेक्टरले अनि त्यसपछि पावर पोइण्टले लिन पुग्यो । अन्यथा, कक्षाकोठाको आधारभूत ‘उत्पादन प्रणाली’मा खासै परिवर्तन देखिएको थिएन । तर, गत २ वर्षभित्र सबै कुरा परिवर्तन भइसकेका छन् र त्यो राम्रो हो । हरेक मङ्गलवार बिहान हामी कोलम्बिया विश्वविद्यालयस्थित कम्प्युटर खोल्छौं र विश्वभरिका अन्य २० ओटा क्याम्पससँगै ‘विश्वव्यापी कक्षाकोठा’मा सहभागी हुन्छौं । कुनै देशमा प्राध्यापक वा विकास विशेषज्ञले व्याख्यान दिन्छन्, जसलाई भिडियोकन्फ्रेन्समार्फत सयौं विद्यार्थीले सुन्छन् । सूचनाप्रविधिले कक्षाकोठामा आमूल परिवर्तन गर्नुका साथै उच्चगुणस्तरीय शैक्षिक सामग्रीको मूल्य पनि घटाइदिएको छ । थुप्रै विश्वविद्यालयले आप्mना कक्षा अनलाइनमा निःशुल्क राखिरहेका छन्, जसले गर्दा जोकोहीले पनि विश्वस्तरीय संस्थाबाट भौतिकशास्त्र, गणित, वा अर्थशास्त्र सिक्न सक्छन् । यसै वर्षको शरद्याममा स्टान्फोर्ड युनिभर्सिटीका दुईजना कम्प्युटर साइन्सका प्राध्यापकले पनि आप्mना पाठ्यसामग्री विश्वभरिका विद्यार्थीका लागि अनलाइनमा राखेका छन् र हालसम्म उनीहरूको कार्यक्रममा ५८ हजार जना भर्ना भइसकेका छन् ।


शिक्षामा हाल प्राप्त भएको जस्तो उपलब्धि स्वास्थ्यसेवा क्षेत्रमा पनि हासिल गर्न सकिन्छ । अमेरिकी स्वास्थ्य सेवा प्रणाली अत्यन्त महँगो भनेर कुख्यात छ । त्यसको एउटा कारण के हो भने यस क्षेत्रको प्रमुख खर्चमध्ये धेरैजसो अमेरिकन मेडिकल एशोसिएशन र निजीक्षेत्रका स्वास्थ्य–बीमा कम्पनीले नियन्त्रण गरेका छन्, जसको एकाधिकारवादी क्रियाकलापले खर्च बढाउँछ । त्यस्तो एकाधिकारवादी मूल्य प्रणालीको अन्त्य गरिनुपर्छ । तर, स्वास्थ्य सेवा खर्च चर्को हुनुका पछाडि अन्य कारण पनि छन् । धेरै मानिसहरू मुटुरोग, डाइबिटिज, मोटोपना, डिप्रेशन तथा अन्य मानसिक समस्याजस्ता दीर्घरोगबाट पीडित छन् । यस्ता रोगहरूको कुशलतापूर्वक व्यवस्थापन तथा उपचार गर्न नसके ती खर्चिला हुन पुग्छन् । धेरै मानिसहरू अस्पताल र इमर्जेन्सीमा आउनुपर्ने कारण के हुन्छ भने उनीहरूले आप्mना रोगलाई संस्थागत सेवाविना कसरी नियन्त्रणमा राख्ने एवम् रोकथाम गर्नेबारे सल्लाह र सहयोग पाएका हँुदैनन् ।


अब सूचनाप्रविधिले त्यसको समाधान दिने भएको छ । क्यालिफोर्नियास्थित केयरमोरजस्ता नवप्रवर्तनात्मक कम्पनीले आप्mना ग्राहकलाई स्वस्थ रहन र अस्पताल आउनुपर्ने अवस्थाबाट जोगाउन सूचनाप्रविधिको प्रयोग गरिरहेका छन् । उदारहणका लागि केयरमोरका बिरामीले आप्mनो घरमा रहेको तौल नाप्ने यन्त्रमा उभिनासाथ उनीहरूको तौलको सूचना स्वचालित रूपले उक्त स्वास्थ्यसेवा केन्द्रमा पुग्छ । यदि, तौलमा खतरनाक परिवर्तन आएको छ भने (जस्तो कि कन्जेष्टिभ हार्ट फेलियरमा हुने गर्छ) क्लिनिकले बिरामीलाई तुरून्त जाँच गर्न बोलाउँछ, जसबाट सम्भावित ठूलो सङ्कट टर्छ ।


यस्ता नवप्रवर्तनात्मक कम्पनीहरूले तीन थरीका विचारको सम्मिश्रण गर्ने विधि प्रयोग गर्छन् । पहिलो, मानिसहरूलाई तिनको स्वास्थ्य अवस्थाको सुपरिवेक्षण गर्न र तिनलाई विशेषज्ञको सल्लाह उपलब्ध गराउन सूचनाप्रविधिको प्रयोग गर्ने । दोस्रो, कार्यस्थलमा खटिएका स्वास्थ्य कार्यकर्ता (जसलाई कहिलेकाहीँ ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ पनि भन्ने गरिन्छ) लाई घरमै आधारित सेवा दिन सक्षम बनाउने, जसले गर्दा बढी गम्भीर रोगको रोकथाम गर्न सकियोस् तथा डाक्टर र अस्पतालमा हुने ठूलो खर्च घटाउन सकियोस् ।


तेस्रो विचार भनेको के भने धेरैजसो रोग उत्पन्न हुनुको अथवा बढी खराब हुनुका पछाडि कारण मानिसहरूको सामाजिक अवस्थाले पनि भूमिका खेल्छ भन्ने बुभ्mन जरूरी छ । सम्भवतः त्यो बिरामीलाई समाज र परिवारबाट अलग्याइएको एक्लो, मानसिक अवसादबाट पीडित, बेरोजगार वा कुनै अन्य पारिवारिक समस्यामा परेको हुन सक्छ । यदि, यस्ता सामाजिक अवस्थालाई सम्बोधन नगर्ने हो भने तिनले झनै खर्चिलो र डरलाग्दो समेत स्वास्थ्य समस्या सृजना गर्न सक्छन् ।


त्यसैले, कुशल स्वास्थ्यसेवा होलिष्टिक अर्थात् सम्पूर्णतावादी हुनुपर्छ – मानिसहरूलाई आपत्कालीन कक्षमा आउने बिरामीका रूपमा मात्र नभई परिवार तथा समुदायका सदस्यका रूपमा समेत लिएर तिनका सम्पूर्ण पक्षलाई सम्बोधन गरिनुपर्छ । सम्पूर्णतावादी स्वास्थ्यसेवा अर्थात् होलिष्टिक हेल्थकेयर अझ बढी मानवीय, प्रभावकारी र कम खर्चिलो हुन्छ । सूचना तथा सञ्चारप्रविधि क्रान्तिले नयाँ र शक्तिशाली पद्धतिबाट सम्पूर्णतावादी स्वास्थ्यसेवा उपलब्ध गराउने माध्यम प्रस्तुत गर्छ । आर्थिक शब्दावलीमा भन्ने हो भने सूचना र सञ्चारप्रविधि ‘विघटनकारी’ (डिस्रप्टिभ) हुन्छन् अर्थात् तिनले विद्यमान खर्चिला तरिकालाई विस्थापन गरिदिन्छन् । विघटनकारी प्रविधि लागू गर्न कहिल्यै पनि सजिलो हुन्न । विद्यमान खर्चिला उत्पादकहरू, खासगरी स्थापित एकाधिकारवादीहरूले प्रतिरोध गर्छन् । राष्ट्रिय बजेटले पनि पुरानै तरिकालाई प्रश्रय दिन चाहलान् ।


जेसुकै भए तापनि खर्चमा ठूलो बचत र सेवामा व्यापक प्रगति अब सम्भव छ । सूचना युगको गतिशील नवप्रवर्तनबाट विश्वका धनी र गरीब दुवैथरीका अर्थतन्त्रले धेरै फाइदा लिन बाँकी नै छ ।


जेफरी डी. साख्स अर्थशास्त्रका प्राध्यापक तथा कोलम्बिया युनिभर्सिटीस्थित अर्थ इन्ष्टिच्युटका निर्देशक हुन् ।


उनी सहस्राब्दी विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष सल्लाहकार पनि हुन् ।