बाबुरामका घरभित्रका दुश्मन
नेपाल पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत छनोटका लागि प्रधानमन्त्रीपत्नी हिसिला यमीको दबाबमा समिति बनेको सार्वजनिक भएको छ । यमी पर्यटनमन्त्री हुँदा नियुक्त भएका पर्यटन बोर्डका सञ्चालकमध्येबाटै उनीहरू नियुक्त हुनुले बोर्डको भावी कार्यकारी प्रमुख नियुक्तिमा राजनीतिक रङ पोतिने देखिएको छ । अझ समितिका सदस्यहरूको शैक्षिक योग्यतामाथि पनि प्रश्नचिन्ह उठेको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको पदावधि अझै डेढ महीना बाँकी छ । बोर्डको तालुक पर्यटन मन्त्रालयमा मन्त्री पनि छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्रीपत्नीले नयाँ कार्यकारी प्रमुख नियुक्तिमा चासो देखाउनुलाई सामान्य रूपमा लिन सकिन्न । अर्कातिर, जनताबाट निकै आशा गरिएका प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो प्रतिष्ठा कतिसम्म कायम राख्न सक्छन्, त्यो उनकी धर्मपत्नीको व्यवहारबाट पनि निर्धारण गर्नेछ । आफ्नो व्यक्तिगत लाभका लागि प्रधानमन्त्री पतिको नाम भजाउने क्रियाकलाप यमीबाट भइरह्यो भने डा. बाबुरामको स्थिति पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको भन्दा फरक हुनेछैन ।
आर्किटेक्ट इञ्जिनीयर यमीले भौतिक योजना तथा निर्माणमन्त्री हुँदादेखि नै 'नातेदार नियुक्ति’को डिजाइनमा निकै ख्याति कमाएकी हुन् । आफ्नी दिदी तिमिला यमीलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को अध्यक्ष, अर्की दिदी चिरिशोभा ताम्राकारलाई खानेपानी संस्थानको कार्यकारी सदस्य तथा कर्मचारी छनोट समितिको अध्यक्ष, दाइ विधानरत्न यमी र काकी लक्ष्मीकेशरी मानन्धरलाई ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास बोर्डको सदस्य नियुक्त गरेकी थिइन् । यस्ता नियुक्तिमा चतुर यमी अहिले कुनै विशेष मन्त्रालयको जिम्मेवारीमा छैनन् । तर, सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेर सबै मन्त्रालयबाट आफूअनुकूलका काम गराउन सक्ने हैसियतमा उनी छिन् । र, उनले त्यो हैसियतको उपयोग (दुरुपयोग) आफू मन्त्री भइसकेको पर्यटन मन्त्रालयबाट शुरू गर्न लागेको जस्तो देखिन्छ । यदि यमीको धमिराका जस्ता क्रियाकलापलाई डा. भट्टराईले टुलुटुल मात्रै हेरेर बसे भने उनको इज्जत माटोमा मिल्न कुनै आइतवार पर्खनुपर्दैन ।
विगतमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सुजाता कोइरालाले आफूलाई युवराज्ञीका रूपमा प्रस्तुत गरिन् र लिनुसम्मका नाजायज फाइदा लिइन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पत्नी आरजु राणाले महारानीको हैसियतमा त्यसैगरी फाइदा उठाएकी हुन् । वास्तवमा तिनीहरूको त्यस किसिमको क्रियाकलापले ती दुई प्रधानमन्त्रीको सार्वजनिक बेइज्जती मात्रै गरेन, प्रजातन्त्रप्रति जनतामा तीव्र घृणा उत्पन्न गराउन पनि सहयोग पुर्यायो । वर्तमान प्रधानमन्त्रीपत्नी तथा पूर्वमन्त्री हिसिला यमी पनि त्यही पथमा गएको देखिन्छ । तिनीहरूभन्दा पनि अघि बढेर यमीले त आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेकी छैनन् । डा. बाबुराम भट्टराई र छोरी मानुषी यमी भट्टराईको सम्पत्ति विवरण मात्रै सार्वजनिक भएको छ । यसरी कानूनत: सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण सार्वजनिक नगरेर यमीले आफूलाई संविधानभन्दा माथि राख्न खोजेकी छन्, जुन हैसियत विगतमा राजपरिवारका सदस्यको हुन्थ्यो ।
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि बनाइएको समितिका सदस्यमध्ये दुईजना गणेश सिम्खडा र निमी शेर्पा यमीले नियुक्त गरेका त हुँदै हुन् । उनीहरू सरकार फेरिएपछि राजीनामा दिनुपर्ने परम्परा भएकोमा त्यसलाई अटेर गरेर बस्नेमध्येका पनि हुन् । त्यसैले नयाँ कार्यकारी छनोट प्रक्रियामा राजनीतिक रङ प्रवेश गरेकोमा कुनै शङ्का छैन । सरकारी-निजी साझेदारीअनुरूप पाँच जना सरकारी पदाधिकारी र पाँच जना निजीक्षेत्रका व्यक्तिको प्रतिनिधित्व पर्यटन बोर्डमा हुन्छ । तर, जो मन्त्री भएर आउँछ, त्यसले आफूअनुकूलका व्यक्ति निजीक्षेत्रका तर्फबाट भनेर नियुक्त गर्ने परम्परा नै बसेको छ । त्यसैले नेपाल पर्यटन बोर्ड राजनीतिक छायाँबाट मुक्त हुन सकेको छैन । बोर्डको पदाधिकारी नियुक्ति प्रक्रियामा नै संशोधन गर्नुपर्ने आवश्यकता छ । अझ बोर्डको कार्यकारी प्रमुखको नियुक्तिमा त कुनै पनि हालतमा राजनीति छिर्न दिनै हुन्न । त्यसैले प्रधानमन्त्रीपत्नी यमीले सम्बन्धित पर्यटन मन्त्रालयमा मन्त्री नभएको मौका छोपी आफूअनुकूलको व्यक्ति वा नातेदारलाई पर्यटन बोर्डको कार्यकारी नियुक्त गराउने प्रपञ्च थालेकी छिन्, जुन निन्दनीय छ ।
Admin 2011-09-18