शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नया नोट संरक्षणको संस्कार

केही दिनअघि नेपाल राष्ट्र बैङ्कका अधिकारीहरूले दशैमा नया नोटको अभाव नहुने बताएका थिए। तर, पछि पुनः नोटको आयु कम हुने भन्दै दशैमा नया नोटसग सफा नोट सरोबरी गरेर सटही गर्ने सूचना पनि जारी गरियो। सबै नया नोट दिदा दशैको टीकाको रङलगायत पोतिएर नोटको आयु कम हुने तर्क दिदै यस्तो मिसमास नोट सटही गरिएको बताइएको छ। केन्द्रीय बैङ्कको यस्तो दाबीले नेपालीहरूको मुद्रा प्रचलन शैली र त्यसको असरलाई उजागर गरेको छ।
 
 दशैलगायतका विशेष चाडपर्वमा नया नोट तथा सिक्का प्रयोग गर्ने चलन निकै पुरानो हो र यो अब एउटा परम्परा नै बनिसकेको छ।। तर, सफा नोटको प्रयोगबारे सर्वसाधारणमा उतिसारो चेतना छैन। यसकारण पनि नोटको आयु कम हुने गरेको छ। यसमा पनि केन्द्रीय बैङ्क नै जिम्मेवार छ। किनकि उसले सर्वसाधारणलाई कसरी नोटको प्रयोग गर्ने? नोटलाई के–केबाट जोगाउनु पर्छ? भन्ने चेतनामूलक जानकारी आजका मितिसम्म सर्वसाधारणलाई व्यवस्थित ढङ्गले उपलब्ध गराएको थाहा छैन। यसकारण अधिकांश सर्वसाधारणमा नोटको हिफाजत गर्नुपर्छ भन्ने सामान्य बोधसमेत छैन। न त उनीहरूमा नोट काम नलाग्ने भएमा त्यसको सट्टा राज्यको ढुकुटीबाट रकम खर्च गरी नया नोट छाप्नुपर्छ भन्ने नै जानकारी छ।

विश्वका अन्य मुलुकमा नोटको सही प्रयोगबारे केन्द्रीय बैङ्कले जनचेतनामूलक कार्यक्रम नै सञ्चालन गर्ने गर्दछ। नोटलाई जानीजानी थोत्रो पार्ने व्यक्तिलाई जरीवाना पनि तिराइन्छ। तर, नेपालमा भने त्यस्तो व्यवस्था छैन।
 
त्यसकारण पनि नया नोटको अभाव बारम्बार परिरहने र कम समयमै नोट झुत्रो हुने समस्या रहेको छ। नोटमा राज्यको लगानी हुन्छ र यसलाई जतनसाथ चलाउनु पर्छ भन्नेबारे सर्वसाधारणले पनि विचार पुर्‍याउन सक्नुपर्छ।
 
अब अविलम्ब केन्द्रीय बैङ्कले नोटलाई कसरी प्रयोग गर्नुपर्छ? मुद्रा प्रचलनको स्वस्थ अभ्यास कसरी गर्नुपर्छ? भन्नेबारे सूचनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। नोट हिफाजतको संस्कार नै बसाउनु जरुरी छ।
 
अहिले राष्ट्र बैङ्कका केन्द्र तथा जिल्लास्थित कार्यालय र अन्य बैङ्क तथा वित्तीय संस्थाहरूमा नोट साट्नका लागि सर्वसाधारणको भीड लाग्न थालिसकेको छ। राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयमा नोट साट्ने क्रममा सेना, प्रहरी तथा निजामती कर्मचारीले लाइन बस्नु नपर्ने वा बस्नै परे पनि ५–१० मिनेट बसे पुग्ने, तर
सर्वसाधारणले भने घटौ कुर्नुपर्ने अवस्था देखिएको छ। त्यतिमात्र होइन, राष्ट्र बैङ्कका कर्मचारी वा तिनका आफन्तले भने चाहेजति नया नोट सहजैसग पाउने गरेको पनि आरोप लागेको छ। यसबाट राष्ट्र बैङ्कले नोट सटही कार्यलाई व्यवस्थित गर्न नसकेको स्पष्ट हुन्छ। राष्ट्र बैङ्कले दशैलगायतका विशेष पर्वमा नोट साट्न चाहने सर्वसाधारणलाई पहिलो प्राथमिकतामा राखी बाकी रहेमात्र आफ्ना कर्मचारीलाई दिने व्यवस्था गर्न सक्नुपर्छ।