समस्याको कारक वित्तीय शिक्षाको अभाव
नेपालको बैङ्क तथा वित्तीय क्षेत्रले पछिल्लो समयमा निकै अप्ठयारो र तनावपूर्ण स्थितिको सामना गर्नु परिरहेको छ । यसो हुनुमा धेरै कारण हुन सक्छन्, तर एउटा प्रमुख कारण भनेको केन्द्रीय बैङ्कका कर्मचारी, वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी एवम् सर्वसाधारणमा न्यून रहेको वित्तीय साक्षरता हो । विकसित देशमा समेत अत्यन्त कम रहेको वित्तीय साक्षरता बढाउने काम निश्चय पनि चुनौतीपूर्ण छ, तर सर्वसाधारणले गर्ने वित्तीय निर्णयलाई दीर्घकालीन महत्त्वको बनाउन, देशको वित्तीय प्रगाढतालाई उन्नत बनाउन तथा बैङ्क तथा वित्तीय क्षेत्रमा संस्थागत सुशासनलाई बलियो बनाउन वित्तीय शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्छ ।
सङ्ख्यात्मक हिसाबले नेपालको वित्तीय क्षेत्रको वृद्धि उत्साहजनक (कसैकसैले आवश्यकताभन्दा बढी पनि भन्छन्) भए पनि अधिकांश जनता बैङ्किङ सेवाबाट वञ्चित छन् । त्यसो हुनुमा विभिन्न कारण छन् तर जनतामा वित्तीय साक्षरता नहुनुले यसमा मुख्य भूमिका निर्वाह गरेको छ । गाउँका मात्र होइन, शहरमै बस्नेहरू पनि वित्तीय क्षेत्रको सामान्य ज्ञानको अभावमा सही रूपमा बैङ्किङ सेवाको प्रयोग गरिरहेका छैनन् । क्रेडिट कार्ड, मोर्टगेज कर्जा, बोण्ड तथा इक्विटीमा लगानीजस्ता प्राविधिक कुरा त परै जाओस्, बचत, चल्ती र मुद्दती खाताबीच के फरक हुन्छ भन्ने पनि उनीहरू जान्दैनन् । अझ बैङ्कहरूले खाता खोल्दा अङ्ग्रेजी भाषामा गराउने शर्तनामामा नबुझीकनै सही गर्न ग्राहकहरू बाध्य छन् । यस्तो अवस्थामा आफूलाई दीर्घकालीन रूपमा हित हुने गरी कर्जा सापटी लिने तथा निक्षेप राख्नेलगायतका बारेमा विवेकपूर्ण निर्णय सर्वसाधारणबाट हुन सक्ने कुरै आउँदैन ।
वित्तीय शिक्षाका प्रमुख सरोकारवालाहरू, सरकार तथा केन्द्रीय बैङ्क, वित्तीय संस्थाहरू र ग्राहक तथा सेवाग्राहीहरू हुन् । वास्तवमा वित्तीय शिक्षाको प्रवर्द्धनमा यी सबैको आआफ्नो किसिमको भूमिका हुन्छ । सरकार तथा केन्द्रीय बैङ्कले निष्पक्ष र समन्वयकारी वित्तीय शिक्षालाई प्रवर्द्धन गर्नु आवश्यक छ । विश्वका विशेषगरी धनी देशहरूले वित्तीय शिक्षाका लागि ठूलाठूला प्रयास गरिरहेका छन् । त्यसैले त्यो प्रयास नेपाल राष्ट्र बैङ्कले पनि गर्नुपर्छ । वास्तवमा कुनै व्यक्तिले गर्ने वित्तीय निर्णयभनेको लिने/दिने ब्याजका आधारमा बचत तथा कर्जाका लागि कुन बैङ्क छनोट गर्ने भन्ने मात्र होइन, यसमा उसको जीवनलाई दीर्घकालीन असर गर्ने अन्य धेरै कुरा पनि समावेश हुन्छन् । भोलि अवकाशप्राप्त जीवनमा आवश्यक पेन्सन तथा अन्य सामाजिक सुरक्षासम्बन्धी सुविधाको तय अहिले गरिने वित्तीय निर्णया आधारमा हुन्छ । अहिले कहाँबाट, कति, कसरी ऋण लिने, त्यसलाई कुन क्षेत्रमा कसरी लगानी गर्ने तथा लिएको ऋण कहिलेसम्म कसरी भुक्तान गर्ने भन्नेसम्बन्धी ज्ञान उद्यमीहरूलाई मात्र होइन, सर्वसाधारणलाई पनि हुनुपर्छ । तर, नेपालमा त्यस्तो देखिँदैन । त्यसैले, राष्ट्र बैङ्कले सर्वसाधारण जनतालाई वित्तीय क्षेत्रका आधारभूत ज्ञान प्रदान गर्नका लागि 'वित्तीय साक्षरता कार्यक्रम’नै सञ्चालन गर्न आवश्यक छ । यस्तै किसिमको कार्यक्रम जापान, अमेरिका, कोरियाजस्ता देशमा पनि सञ्चालन गरिएको थियो र त्यो प्रभावकारीसमेत भएको थियो । तर, त्यस किसिमको कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो रकमसमेत आवश्यक पर्छ । त्यसैले यस कार्यमा निजीक्षेत्रका बैङ्क तथा वित्तीय संस्थाहरूले पनि लगानी गर्नुपर्छ ।
नेपाल राष्ट्र बैङ्कले यसअघि बैङ्क खोल्ने अनुमति दिँदा सञ्चालकको योग्यतासम्बन्धी कुनै मापदण्ड नतोकेकाले नेपालमा सामान्य वित्तीय साक्षरता नभएका बैङ्क सञ्चालक धेरै छन् । त्यसैले आफ्नो कर्तव्य के हो, अधिकार कति हुन्छ, अनि आफूले के काम गर्न हुन्छ, के हुँदैन भन्ने विषयमा बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई पनि साक्षर बनाउनु आवश्यक छ । साथै, बैङ्क तथा वित्तीय संस्थाको व्यवस्थापनलाई पनि त्यस किसिमको ज्ञान दिनु र हुनु आवश्यक छ । त्यसो हुन सक्यो भने सञ्चालक समिति तथा व्यवस्थापनले आआफ्नो दायित्व सही ढङ्गले निर्वाह गर्न सक्छन्, जसको कारण ती संस्थाको संस्थागत सुशासन बलियो हुने हुन सक्छ । अर्कातिर शहरी क्षेत्रमा केन्द्रित बैङ्क तथा वित्तीय संस्थाहरूलाई भन्दा ग्रामीण क्षेत्रमा लघुवित्त सेवा प्रदान गरिरहेका कम्पनी तथा तिनका कर्मचारीहरूलाई भिन्नै किसिमको साक्षरता शिक्षाको आवश्यकता छ ।
वास्तवमा वित्तीय साक्षरता हाम्रो मात्रै देशको समस्या होइन । धनी देशहरूको संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेण्ट (ओईसीडी) ले गरेको अध्ययनअनुसार विकसित देशहरूमै पनि वित्तीय साक्षरताको दर अत्यन्त कम छ । उसका अनुसार जापानमा गरिएको सर्वेक्षणले के देखाएको छ भने ७१ प्रतिशत जापानी इक्विटी तथा बोण्डमा लगानी गर्नेबारे केही पनि जान्दैनन् । नेपालमा त्यस्तो कुनै पनि किसिमको अध्ययन भएको जानकारीमा आएको छैन तर साधारण अवलोकनबाट पनि के देखिन्छ भने बैङ्कमा खाता खोल्ने धेरैजसोलाई मैले कुनकुन शर्तमा खाता खोल्दै छु भन्ने जानकारी हुँदैन ।
वित्तीय रूपमा शिक्षित उपभोक्ताले यो वित्तीय क्षेत्रको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्, जसले आर्थिक वृद्धि तथा गरीबी न्यूनीकरणमा पनि सघाउ पुर्याउँछ । त्यसैले सरकार, नेपाल राष्ट्र बैङ्क, बैङ्कर्स एशोसिएशनहरू तथा बैङ्क तथा वित्तीय संस्थाहरू सबैले देशमा वित्तीय साक्षरता बढाउन सामूहिक पहल गर्नु आजको आवश्यकता हो ।
Admin 2011-06-19