शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अध्यागमन र व्यवसायी  दुवैको अर्घेली
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारीमा जाने क्रममा रहेका कामदारमध्ये दैनिक ४०-५० जनालाई विनाकारण फर्काइदिने गरेको आरोप वैदेशिक रोजगार व्यवसायीहरूले लगाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)बाट ठूलो परिमाणमा लागूऔषध, हतियार, बेचिएका रातो पासपोर्टधारीलाई नरोक्ने अध्यागमनका कर्मचारीहरू किन निहत्था कामदारलाई चाहिँ अनेक बाहनामा रोक्छन् ? यो गम्भीर प्रश्न छ । रातो पासपोर्ट काण्ड अध्यागमनका तत्कालीन प्रमुखकै मिलेमतोमा भएको भन्ने प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा थोरबहुत रकम उठाउनकै लागि अध्यागमनका कर्मचारीले वैदेशिक रोजगारीमा जाने कामदारलाई दु:ख दिनु अनुचित हो । यदि अध्यागमनका प्रमुखले भनेजस्तै वैदेशिक रोजगार व्यवसायीहरूले तोकिएअनुसारको सेवा सुविधा र कामभन्दा फरक हिसाबले उडाउने तयारी गरेकाले रोकिएको हो भने त्यसलाई सकारात्मक नै मान्नुपर्छ ।

रातो पासपोर्ट बेचेको आरोपमा अहिले तीनजना सभासद् प्रहरी खोरमा छन् । टीआईए अध्यागमनका तत्कालीन प्रमुख खडानन्द ढकाल (उर्फबेष्टशेलर साहित्यकार’ प्रतीक ढकाल)को प्रत्यक्ष संलग्नता र तजबिजीमा त्यो क्रियाकलाप भएको प्रमाणित नै भएको छ । उनी पनि अहिले प्रहरी खोरमा छन् । त्यसैगरी, नेपाली पासपोर्ट बोकेर अमेरिका जान खोज्ने दुई तिब्बती किशोरी पक्राउ परेपछि त्यस घटनामा पनि अध्यागमनका अधिकृत घनश्याम ढकाल मुछिएका छन् । टीआईएबाट हुने लागूऔषध तथा अन्य वस्तुहरूको तस्करीमा पनि अध्यागमनका कर्मचारीको प्रत्यक्ष हात हुने तथ्य बाहिर आएका छन् । त्यहाँको सुरक्षा युनिट र अन्य सरकारी निकायको संलग्नतामा अध्यागमनका कर्मचारीले कागज तथा प्रक्रिया नपुगेका व्यक्तिहरूलाई उडाउने, नक्कली कागजातवालालाई सहज पहुँच दिने र तस्करी धन्दा सञ्चालन गर्ने काम भइरहेको निष्कर्षमा स्वयम् गृह मन्त्रालय पुगेको छ । सबै फटाहा नहोलान् तर यस्ता घटनाबाट मनग्ये धन आर्जन गरी आफ्नो उपस्थिति देखाउनकै लागि सोझासीधा कामदारलाई दु:ख दिने कार्य त्यहाँका कर्मचारीहरूले गरिरहेका छन् भन्ने निष्कर्षमा पुग्न कुनै गाह्रो छैन ।

पछिल्लो समय बीसौं हजार बङ्गलादेशी नागरिक नेपाली पासपार्ट प्रयोग गरेर विदेशिने गरेको तथ्य बाहिर आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको तथ्याङ्कअनुसार २२ हजार बङ्गादेशीले नेपाली पासपोर्ट बोकेर टीआईए पार गरिसकेका छन् । त्यसरी हूलका हूल विदेशीले नेपाली पासपोर्ट बोकेर बाहिर जाँदा अध्यागमनका कर्मचारीका आँखामा फूलो परेको थियो र रोक्न सकेनन् ? अनि अनेक बाहना झिकेर नेपालीहरूलाई चाहिँ किन रोकिरहेका छन् ?

वैदेशिक रोजगार व्यवसायीहरू पनि दूधले धोएका होइनन् । बीसौं हजार बङ्गलादेशी नेपाली पासपोर्ट प्रयोग गरी बाहिर जाँदा नेपाली व्यवसायीहरूको संलग्नता थिएन र ? यिनैमध्येका होइनन् र, त्यसरी विदेशीलाई नेपाली भनेर बाहिर पठाउने ? अर्कोतर्फएक किसिमको कामका लागि भनेर गरीब नेपालीसँग टन्न पैसा असुल्ने अनि अर्कै काममा पठाउने, बढी पारिश्रमिक भनेर कममा पठाउने, नक्कली कागजपत्र पेश गरेर पठाउने काम वैदेशिक रोजगार व्यवसायीहरूले गर्दैनन् भनेर कसैले पत्याउँदैन । त्यहाँभित्रका फटाहाहरूकै कारण वास्तवमा वैदेशिक रोजगार व्यवसाय झूटको खेतीकै रूपमा प्रख्यात भइसकेको छ । त्यसैले कामदार फिर्ता पठाएको भनेर अध्यागमनको आलोचना गर्ने नैतिक धरातल व्यवसायीहरूको छैन । वास्तवमा यी दुई पक्षलाई तराजुमा राख्यो भने कोही पनि तलमाथि हुँदैन । दुवै बराबर हुन् । त्यसैले एकअर्कालाई दोष थुपार्नुको साटो आआफ्नो शुद्धीकरणमा दुवै पक्ष लाग्नुपर्छ ।

Admin 2011-09-22