शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बैङ्कमा विज्ञ  सञ्चालक नै नराख
बैङ्क तथा वित्तीय संस्थाका व्यावसायिक सञ्चालकले सम्बन्धित संस्थाको संस्थापक शेयर राख्न नपाउने निर्देशन नेपाल राष्ट्र बैङ्कले दिएको छ । व्यावसायिक सञ्चालकको नाममा संस्थापक लगानीकर्ताले नै हालीमुहाली गर्न थालेपछि यस्तो गर्नु परेको राष्ट्र बैङ्कको ठहर छ । राष्ट्र बैङ्कको ठहर आफ्नो ठाउँमा सही नै होला । तर, बैङ्किङ क्षेत्रका बारेमा ज्ञान नै नभएकाहरूलाई बैङ्क खोल्न दिने अनि उनीहरूलाई प्रशिक्षित गर्नका लागि व्यावसायिक सञ्चालक नियुक्ति गर्ने परम्परा नै गलत थियो । अर्कातर्फबैङ्क तथा वित्तीय संस्थामा संस्थागत सुशासन कायम गराउन वा साधारण शेयरधनीको हित संरक्षण गर्न पनि यिनीहरूबाट कुनै योगदान भएको छैन । बरु नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारीको जागीर खाने गतिलो स्रोत भएको छ यो व्यवस्था । तसथ, अहिलेको निर्देशन पनि व्यावसायिक सञ्चालकले शेयर राख्ने वा नराख्ने सवाललाई सम्बोधन गर्न आएकै होइन । यो त राष्ट्र बैङ्कका उच्च कर्मचारीको भोलि जागीर सुरक्षित राख्ने उपकरण हो ।

वैधानिक-अवैधानिक जस्तोसुकै व्यवसाय गरेर पैसा कमाएका, बैङ्किङ बुझ्ने हैसियत नै नभएका व्यापारीहरूलाई बैङ्क तथा वित्तीय संस्था खोल्ने अनुमति नेपाल राष्ट्र बैङ्कले दियो । अन्य वस्तु तथा सेवाको उत्पादन र वितरण गर्नेलाई बैङ्क खोल्न दिनु हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई पनि अनुशरण गरिएन । त्यसो भएपछि बैङ्क तथा वित्तीय संस्थामा जानेबुझेको सञ्चालककै अभाव हुने अवस्था आयो र व्यावसायिक (विज्ञ) सञ्चालक राख्नु आवश्यक नै देखियो । यसो भएपछि बैङ्क तथा वित्तीय संस्थामा भविष्यमा आफूलाई जागीर सुरक्षित राख्ने गरी व्यावसायिक सञ्चालकको व्यवस्थासहितको ऐन बनाउने भूमिका नेपाल राष्ट्र बैङ्कका कर्मचारीले निर्वाह गरे । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०६३ को दफा १३ (१) मा नेपाल सरकार, राष्ट्र बैङ्क, बैङ्क वा वित्तीय संस्थाको प्रथम श्रेणीको अधिकृत, वरिष्ठ व्यवस्थापक वा मान्यताप्राप्त विश्वविद्यालयको सहप्राध्यापक वा सोभन्दा माथिको तहमा कम्तीमा ५ वर्षकाम गरेको व्यक्तिमध्येबाट विशेषज्ञहरू नियुक्त हुने प्रावधान छ । त्यस्तो सूची राष्ट्र बैङ्कले नै प्रकाशन गर्छ र त्यसमा अधिकांशत: राष्ट्र बैङ्कका पूर्वकर्मचारी हुन्छन् । ऐनमा नै यस्तो व्यवस्था गर्नुको तार्त्पर्य अवकाशपछि निजीक्षेत्रको बैङ्कर्स बन्ने राष्ट्र बैङ्कका कर्मचारीको चाहना हो भन्नेमा कुनै शङ्का छैन र त्यो भइरहको पनि छ । ऐनले नै संस्थापक सञ्चालकलाई आफूले चाहेको मान्छे नियुक्त गर्न र आफूले भनेअनुसार काम गराउन सक्ने ठाउँ दिएको छ । यसो भएपछि यस्तो व्यावसायिक सञ्चालकले संस्थागत सुशासन कायम गराउन सहयोग गर्ने वा साधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सम्भावना पनि हुँदैन । बाफियामा व्यावसायिक सञ्चालकको काम, कर्तव्य र अधिकारका बारेमा पनि केही उल्लेख छैन । त्यसैले बैङ्क तथा वित्तीय संस्थामा व्यावसायिक सञ्चालक नियुक्ति गर्नुको कुनै औचित्य देखिँदैन ।

व्यावसायिक (विज्ञ) सञ्चालक राख्ने परम्परा यहाँमात्र होइन, विदेशमा पनि छ । तर, तिनीहरूले अन्य सञ्चालकभन्दा इमानदार भएर संस्थाको हित पुर्याउने काम गरेको उदाहरण विरलै भेटिन्छ । त्यसैले विज्ञ सञ्चालकका विषयमा बहस तथा विवाद हुने गरेका छन् । विश्वविख्यात लगानीकर्ता वारेन बफेट पनि विज्ञ सञ्चालकको विपक्षमा छन् । त्यसैले विज्ञ सञ्चालक नियुक्त गर्ने कि नगर्ने, गर्ने हो भने कुन प्रक्रियाले गर्ने भन्ने विषयमा छलफल हुन आवश्यक छ । तर, अहिलेकै अवस्थामा त विज्ञ सञ्चालकको कुनै आवश्यकता नै देखिँदैन ।  

राष्ट्र बैङ्कले यो निर्देशन दिनुका पछाडि भोलिका लागि जागीर सुरक्षित गराउने त्यहाँका कर्मचारीको नियत हो भन्ने अनुमान लगाउन कुनै गाह्रो छैन । व्यावसायिक सञ्चालकको नाममा संस्थापक शेयरधनीले नै हालीमुहाली गरेपछि अब अवकाश पाउने कर्मचारीको जागीर सुरक्षित हुने भएन । यस्तो निर्देशन ल्याएपछि त्यस्ता सञ्चालकले कि त संस्थापक शेयर बेच्नुपर्यो, कि त व्यावसायिक सञ्चालकबाट हट्नुपर्यो । यी दुई विकल्पमध्ये सञ्चालकबाट हट्नेहरूकै बाहुल्य हुनेछ र त्यो खाली ठाउँमा आफ्नो जागीर सुरक्षित हुनेछ भन्ने राष्ट्र बैङ्कका उच्च कर्मचारीको आँकलन छ । त्यसैले संस्थागत सुशासन कायम गराउन, साना शेयरधनीको हित संरक्षण गर्न वा बैङ्क तथा वित्तीय क्षेत्रको हितका लागि भनेर यो निर्देशन आएकै होइन । इमानदार भएर भन्नुपर्दा व्यावसायिक सञ्चालक सम्बन्धमा ऐनमा भएको व्यवस्था र अहिलेको निर्देशन दुवै खोटपूर्ण छन् ।

Admin 2011-09-23