शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आयल निगम तत्काल विघटन गर
अहिले फेरि तेल अभाव भएको छ । र, यो समस्या चाँडै सुल्झिने सम्भावना देखिँदैन । तेलको खरीद मूल्य र यहाँको विक्री मूल्यबीचको अन्तर यस्तो सङ्कटको कारक हो । यो समस्या समाधानको बीचमा पर्खाल बनेर नेपाल आयल निगम नामको एउटा जीर्ण, भ्रष्ट र निकम्मा सरकारी निकाय अस्तित्वमा छ । नेपाली जनताले पेट्रोलियम पदार्थ सहज रूपमा किन्न नपाउनुको मुख्य कारण आयल निगम आफै नै हो । यो आयल निगमलाई विघटन नगरेसम्म नेपालमा इन्धन आपूर्ति सहज बन्ने अवस्था छैन । यदि आयल निगमलाई विघटन गरेर सरकारले तेलको व्यापार स्वतन्त्र छाडिदिने हो भने खुलाबजार अर्थतन्त्रअनुसार यो व्यवसाय गर्न चाहनेले आफैले तेल आयात गरी कारोबार गर्नेछन् र बजारमा तेलको सहज आपूर्ति हुनेछ ।

नेपाल आयल निगमलाई तत्काल विघटन गर्नुपर्ने प्रस्ट कारणहरू छन् । जसरी दैनिक उपभोग्य सामग्री, कपडा इत्यादि बजारमा सहज रूपमा आपूर्ति हुन्छ, त्यसैगरी निगम विघटन भएपछि पेट्रोलियम पदार्थको आपूर्ति हुने स्वचालित प्रणालीको विकास हुन्छ । जसलाई जहाँ आवश्यक हुन्छ, त्यही नाका भएर तेल आयात हुने वातावरण यसले निर्माण गर्छ । त्यसैले आयल निगम विघटन गरेर सर्वसाधारणलाई फाइदा नै हुन्छ, घाटा हुँदैन ।

नेपाल आयल निगममार्फत सरकारले तेल मूल्यमा दिने सहुलियतको लाभ आम जनताले पटक्कै पाएका छैनन् । यस्तो छूट लिने ठूला यातायात व्यवसायीहरूले सरकारबाट सहुलियतमा लिएको तेल प्रयोग गरेर सिण्डिकेट चलाइरहेका छन् र त्यसबाट निजी फाइदा लिइरहेका छन् । यदि नेपाल आयल निगमलाई विघटन गर्ने हो भने यस्ता सङ्गठनहरू आफैले तेलको व्यवस्था गर्नुपर्ने हुन्छ । उनीहरूको देशभरि सञ्जाल छ । यदि उनीहरू तेलको व्यवस्था गर्न सक्छन् भने व्यवसाय गर्छन्, सक्दैनन् भने गर्दैनन् । कसैको व्यवसायलाई लाभ पुर्‍याउने जिम्मा सरकारको होइन ।

पेट्रोलियम पदार्थको आपूर्ति नीजिक्षेत्रलाई दिने भन्ने सम्बन्धमा नीतिगत रूपमा सरकार पनि सहमत भइसकेको अवस्था छ । हालै संसद्मा नेकपा एमालेका सचेतक भीम आचार्यको संयोजकत्वमा गठित समितिले पनि पेट्रोलियम पदार्थको आयात तथा वितरणको जिम्मा निजीक्षेत्रलाई दिन सिफारिश गरेको छ । तर, यो पनि आधा मनले र निर्देशित ढङ्गले निजीक्षेत्रलाई प्रवेश गराउनुपर्छ भन्ने किसिमको सिफारिश हो । त्यसैले पूर्ण खुला रूपमा तेलको आयात तथा कारोबारको व्यवस्था मिलाउनुपर्छ । तर, वस्तुगत रूपमा विश्लेषण गर्दा आयल निगम नै निजीक्षेत्रको तेल कारोबारमा खुला प्रवेशको अवरोधका रूपमा रहेको छ ।

नेपाल आयल निगमका कर्मचारीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले तेलको समस्या बल्झिने गरेको सुन्नमा आउँछ । तर, हिसाबै गर्ने हो भने आयल निगममा हुने भ्रष्टाचार निर्मूल भए पनि पेट्रोलियम पदार्थमा एक-दुई रूपैयाँ मात्र मूल्य कम गर्न सकिएला, त्योभन्दा बढी होइन । तर, आयल निगमका नाममा हुने नीतिगत भ्रष्टाचारका कारण नेपालमा सधैं तेलको समस्या भइरहेको हो । नेपाल आयल निगमले भारतको इण्डियन आयल कर्पोरेशनसँग तयारी तेल किन्ने गरेको छ । पहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेल खरीद गरी भारतमा प्रशोधन गराई ल्याउने गरिएको थियो । यसो गर्दा नेपालले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा तेल खरीद गर्नसक्थ्यो । नेपालसँग असल द्विपक्षीय सम्बन्ध भएका मुलुकले त अन्तरराष्ट्रिय मूल्यभन्दा कममा नै नेपाललाई तेल पनि दिनसक्थे । तर, नेपाल आयल निगमले प्रशोधित तेल भारतबाट खरीद गर्ने प्रतिगामी सम्झौता आईओसीसँग गर्‍यो । अहिले त्यही सम्झौता नेपालमा तेल समस्या बल्झिरहनुको प्रमुख कारण बनेको छ । यदि तेलको कारोबार खुला रूपमा हुने हो भने जहाँ कम मूल्य छ, त्यहीँबाट तेल आयात हुन्छ । र, नेपाली जनताले सहज रूपमा तेल पाउँछन् । यी विविध कारणहरूलाई दृष्टिगत गर्दा नेपाल आयल निगमको तत्काल विघटन आवश्यक छ ।

Admin 2011-04-19