शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बैङ्किङ तालीमको गुणस्तर
नेपालका बैङ्किङ तालीम केन्द्रहरू व्यावसायिक बन्दै गएका छन् । बैङ्क तथा वित्तीय क्षेत्रको तीव्रतर विकास भइरहेको अवस्थामा तालीम केन्द्रहरूको सङ्ख्यात्मक तथा गुणात्मक वृद्धि सकारात्मक हो । तर, व्यावहारिक र मान्यताप्राप्त पाठयक्रमको निर्माण गर्नु तथा यस क्षेत्रमा नियामक निकायको निर्माण गर्नु अहिलेको चुनौती हो । यो तथ्यलाई नेपाल राष्ट्र बैङ्क तथा विभिन्न वाणिज्य बैङ्कहरूले आत्मसात् गरेर त्यस किसिमको पहल गरेका छन् । त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

नेपालमा बैङ्किङ तालीमसम्बन्धी व्यवसाय राम्रो सम्भावनासहित उपस्थित भएको छ । बैङ्क तथा वित्तीय संस्था र तिनको शाखाको विस्तार तीव्र रूपमा भइरहेको छ । यस्तो अवस्थामा यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै धेरै हुने देखिन्छ । त्यसैले भोलिका दिनमा तालीम केन्द्रहरूको महत्त्व र आवश्यकता अझै धेरै बढ्नेछ । त्यही सम्भावनालाई ध्यानमा राखेर तालीम केन्द्रहरूले शाखा विस्तार पनि गरिरहेका छन् । नयाँ संस्थाहरू थपिने क्रम पनि बढ्दो छ । तर, नयाँ स्थापना हुने संस्थाहरूले यस क्षेत्रमा व्यापार गर्ने होइन, साँच्चै गुणस्तरीय सेवा दिने उद्देश्य लिनु आवश्यक छ ।

नेपालमा बैङ्किङ तालीम शुरू भएको ४० वर्षभन्दा बढी भइसकेको छ । नेपाल राष्ट्र बैङ्कले २०२७ सालमा बैङ्कर्स ट्रेनिङ सेण्टर (बीटीएस) स्थापना गरी यस कार्यको थालनी गरेको थियो । सन् २००१ पछि मात्रै नेपालमा निजीक्षेत्रले यस क्षेत्रमा हात हालेको हो । त्यसपछि नेपालमा बैङ्क तथा वित्तीय क्षेत्रको विकास तीव्र हुने क्रमसँगै तालीम केन्द्र खुल्ने क्रम पनि बढेको पाइन्छ । निजीक्षेत्रका इन्षिटच्युटहरूले संस्थागत रूपमा जुन किसिमको पाठ्यक्रमको निर्माण गरी तालीम दिइरहेका छन्, त्यसलाई सम्मान गर्नुपर्छ । तर, यस क्षेत्रमा सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मकता रूपमा भने खासै प्रगति हुन सकेको छैन । अहिले सामान्य किसिमका कम्प्युटर तथा ल्याङ्गवेज इन्षिटच्युटहरूले पनि 'जब ग्यारेण्टी’का साथ बैङ्किङ तालीम दिने भनेर विज्ञापन गर्छन् । तिनीहरूले दिने तालीमको गुणस्तरको नियमन कसैले गरेको पाइँदैन । यसो हुँदा यस क्षेत्रमा गुणस्तरको भन्दा पनि मूल्यको प्रतिस्पर्धा देखिएको छ । यसले तालीम लिन चाहने विद्यार्थीहरूलाई दिग्भ्रमित त पारेको छ नै, राम्रो काम गरिरहेका इन्षिटच्युटहरूलाई पनि समस्यामा पारेको छ ।

नेपालमा बैङ्किङ तालीम दिने संस्थाहरूमा सबभन्दा ठूलो समस्या पाठयक्रम र त्यसको स्तरीयताको छ । तालीम केन्द्रहरूले आआफ्नै पाठयक्रम निर्माण गरी पढाइरहेका छन् । त्यसो हुँदा पाठयक्रममा एकरूपता नहुने त छँदैछ, त्यसलाई बैङ्क तथा वित्तीय क्षेत्रले मान्यता नदिने समस्या पनि देखिएको छ । यस्तो अवस्थामा बैङ्किङ तालीमको निश्चित मापदण्ड बनाउनु जरुरी भइसकेको छ । त्यो मापदण्डअनुसारको तालीम लिएको प्रशिक्षार्थीलाई यो क्षेत्रले सजहै ग्रहण गर्न सक्ने वातावरण बन्नु आवश्यक छ । त्यसैले यस क्षेत्रमा कार्यरत सबै इन्षिटच्युटलाई एउटा मापदण्ड र नियामक निकायको मातहतमा ल्याउनु जरुरी भइसकेको छ । त्यस्तो नियामक निकाय बनाउनका लागि नेपाल राष्ट्र बैङ्क तथा नेपाल बैङ्कर्स सङ्घजस्ता निकायहरूले सामूहिक प्रयास थाल्नु जरुरी छ । त्यस कार्यका लागि नेपाल राष्ट्र बैङ्क तथा अन्य वाणिज्य बैङ्कहरूको पहलमा स्थापित नेशनल बैङ्किङ ट्रेनिङ इन्षिटच्युटले पहल थालेको छ । यो राम्रो हो । यो क्षेत्रमा दक्ष र पूर्णकालीन प्रशिक्षकको समस्या पनि विद्यमान छ । त्यो आवश्यकता पूर्ति गर्नका लागि सबै सरोकारवालाहरूले सामूहिक प्रयास थाल्नुपर्छ ।

बैङ्क तथा वित्तीय क्षेत्रमा दक्ष कामदारको उत्पादन तालीम केन्द्रहरूको मात्रै चासोको विषय होइन । यो समग्र उद्योगकै समस्या हो । दक्ष जनशक्ति उत्पादन हुन नसक्दा यो क्षेत्रकै उत्पादकत्वमा प्रत्यक्ष प्रभाव पर्न सक्छ । त्यसैले बैङ्किङ तालीमका क्षेत्रमा देखिएको नियामक निकाय तथा स्तरीय पाठयक्रमको अभाव, व्यापारीकरण, दक्ष प्रशिक्षकको अभावलगायतका समस्या समाधान गर्नका लागि समग्र उद्योगले नै ध्यान पुर्‍याउनुपर्छ । विशेषगरी बैङ्किङ तालीममा गुणस्तर र एकरूपता ल्याउनका लागि नेपाल राष्ट्र बैङ्क तथा नेपाल बैङ्कर्स सङ्घ, विकास बैङ्कर्स सङ्घलगायतका प्रतिनिधिमूलक निकायले सोच्नुपर्ने बेला आएको छ ।

Admin 2011-03-20