शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  


सार्क व्यवसायी सम्मेलन र  यस क्षेत्रको आर्थिक विकास
दक्षिण एशिया क्षेत्रका उद्योगी-व्यवसायीको तीनदिने सम्मेलनले ९ बुँदे काठमाडौं घोषणापत्र जारी गरी समापन भएको छ । सार्कमा आबद्ध आठ मुलुकका ५ सयभन्दा बढी व्यवसायीको सहभागिता रहेको उक्त सम्मेलनबाट जारी घोषणापत्रमा क्षेत्रीय व्यापार विस्तारका लागि संयन्त्र तयार गर्ने तथा हस्तकलाको बजार विस्तार गर्नेजस्ता महत्त्वपूर्ण सम्झौता रहेका छन् । नेपाल सरकार अर्थतन्त्रलाई उकास्न चिन्तितसमेत नदेखिएको वर्तमान अवस्थामा नेपाल उद्योग वाणिज्य महासङ्घको पहलबाट नेपालमा यति बृहत् सम्मेलन हुनु निश्चय पनि सकारात्मक कुरा हो । सम्मेलनले यस क्षेत्रकै उद्योग, व्यवसाय र पर्यटनको विकासका निम्ति सन् २०१० देखि २०२० सम्मलाई क्षेत्रीय सम्बन्धको दशकका रूपमा अगाडि बढाउन गरेको निर्णयलाई नेपालको आर्थिक उन्नतिका निम्ति पनि लाभकारी बनाउन सम्भावना प्रचुर छ ।

राजनीतिक अस्थिरताबाट जर्जर बनेको नेपालको अर्थतन्त्रप्रति विदेशीको दृष्टिकोण नकारात्मक रहेकै बेला नेपालमा सम्पन्न यो सम्मेलनले एउटा सकारात्मक सन्देश दिएको छ । सत्ता लिप्सामा निर्लिप्त नेपालका राजनीतिक दल र नेताहरू मुलुकको आर्थिक विकासका बाधक मात्रै नबन्ने हो भने उद्योगी-व्यवसायीहरूकै स्वतन्त्र पहलबाट पनि महत्त्वपूर्ण कदम चालिन सक्छ भन्ने सङ्केत दिन सक्नु यो सम्मेलनको अर्को सफलता मान्न सकिन्छ । सम्मेलनमा भएको ९ बुँदे समझदारीलाई अधिकतम उपयोग गर्न सकेमा नि:सन्देह नेपालको आर्थिक क्षेत्रले फड्को मार्न सक्छ । सडक, रेल वे, हवाईसेवा, सामूहिक सेवा, सञ्चार, पर्यटन आवागमन, स्वास्थ्य, संस्कृति, शिक्षालगायतका माध्यमबाट नेपालले बहुआयामिक फाइदा उठाउन सक्ने सम्भावना छ । तर, त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्ने सम्मेलनको निचोडले सरकारको सहयोगी भूमिका हुनुपर्ने कुरामा कुनै शङ्का छैन । व्यवसायीहरूको यो निचोडले सार्क मुलुकका सरकारलाई विशेष दबाब पुगेको हुनुपर्छ । तथापि सार्कको जति कुरा गरे पनि प्रगाढ सम्बन्ध र खुला सिमानालगायतका कारणले भारतसँग नेपालको जति आर्थिक-व्यावसायिक निर्भरता छ, त्यति अन्य मुलुकसँग छैन । सार्क क्षेत्रका अन्य मुलुकको अवस्था पनि धेरै फरक छैन ।

भारत क्षेत्रीय आर्थिक महाशक्ति भइसकेको छ । अहिलेको क्षेत्रीय सम्मेलनमा उठेको प्रमुख विषय पनि यस क्षेत्रमा भारतीय लगानीको नै हो । भारतीय लगानीकर्ताहरू यूरोप र अमेरिकाका ठूलाठूला योजना र कम्पनीहरूमा लगानी गर्न तँछाडमछाड गरिरहेका छन् । तर, यो अवसरबाट सार्क क्षेत्रका मुलुकहरूले नै लाभ लिन सकिरहेका छैनन् । यो सम्मेलनको सफलताको सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको यही क्षेत्रीय भावको पुनरुत्थान गर्न सक्नुमा छ । यसअघिका तीनओटा त्यस्तै सम्मेलनभन्दा अहिलेको काठमाडौं सम्मेलनले भारतीय कम्पनीहरूको छिमेकमा लगानी गर्ने बढ्दो चासो पनि उजागर गरेको छ । यसका लागि नेपाललगायतका लगानी आकर्षित गर्न चाहने मुलुकहरूको लगानीमैत्री वातावरण पनि सुध्रिनुपर्ने व्यवसायीहरूको माग सर्वथा उचित हो । यस्ता मागहरूप्रति सम्बन्धित सरकारहरूको ध्यान गएर मात्रै पुग्दैन, उनीहरूको व्यवहारले नै लगानी आकर्षित गर्न सक्नुपर्छ । यसले मात्र यो सम्मेलनको वास्तविक सफलता परीक्षण हुनेछ ।  

दक्षिण एशियाका अगुवा व्यवसायीहरूको यो बृहत् सम्मेलनले नेपाल मात्रै होइन, सार्कका सबै मुलुकमा आर्थिक सम्भावनाका ढोका खोलेको छ । नेपालबाहेक सार्कका अन्य मुलुकमा चरम राजनीतिक अस्थिरता पनि छैन । नेपाल अपवादका रूपमा रहँदारहँदै पनि यहाँका उद्योगी-व्यवसायीहरूले सम्मेलनलाई जसरी सफलतापूर्वक सम्पन्न गरे, त्यसको प्रसंशा नगरिरहन सकिँदैन । जुन उत्साह, जोश र जाँगरका साथ यो सम्मेलन सम्पन्न भएको छ, अब त्यसैगरी नेपालले लगानी भित्र्याउन र व्यवसाय वृद्धिका निम्ति सार्क मुलुकका सदस्य राष्ट्रसँग हातेमालो गर्न सक्नुपर्छ ।

Admin 2011-09-25