शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वैकल्पिक ऊर्जाको अर्थहीन वकालत
देशमा तीव्र ऊर्जा सङ्कट विद्यमान छ । नेपालका केही एनजीओ व्यवसायी एवम् कैयौं दातृनिकायहरूले 'जैविक, अजैविक, वैकल्पिक/निर्विकल्प’ ऊर्जा उत्पादन गर्ने नाममा अनेकौं क्रियाकलाप सञ्चालन र तिनको प्रचार गरिरहेका छन् । यस्ता कार्यक्रमले नेपालको ऊर्जा समस्या समाधानका लागि कुनै योगदान त गरेका छैनन् नै, बरु नेपालको ऊर्जा सम्बन्धमा तय गर्नुपर्ने अर्जुनदृष्टिमा समेत बाधा पुर्‍याएको छ । नेपालले यस्ता झीनामसिना कार्यक्रममा नअल्झिएर व्यावसायिक मात्रा (कमर्शियल स्केल)मा जलविद्युत् उत्पादनमा केन्द्रित हुन आवश्यक छ । ऊर्जा विकासमा खुद्रे कार्यक्रमका नाममा सभागोष्ठी गरेर ठूलो रकम सिध्याउने तर परिणाम उपलब्धिमूलक नहुने समस्या विद्यमान छ । वैकल्पिक ऊर्जाका नाममा ठूलो वैदेशिक सहयोग आइरहे पनि उत्पादित ऊर्जाले दिएको योगदान सानो मात्राको छ । त्यसैले यसरी वैकल्पिक वा जैविक ऊर्जाका नाममा रकम जताततै र्छनुको साटो जलविद्युत् विकासमा त्यसलाई एकत्रित गर्नु आवश्यक छ । यसो गर्न सकियो भने व्यावसायिक परिमाणमा ऊर्जाको उत्पादन हुन सक्छ र देशको ऊर्जासङ्कटलाई कम गर्न सहयोग पुग्छ ।

देशमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकम वैकल्पिक ऊर्जाका नाममा खर्च भइरहेको तथ्याङ्कहरूले देखाउँछन् । त्यसमा नेपाल सरकारमार्फ हुने लगानी ३० प्रतिशतको हाराहारीमा छ । बाँकी सबै रकम दाताहरूको सहयोगका रूपमा आउने गरेको छ । त्यसबाट ग्रामीण विद्युतीकरणलाई केही सहयोग पनि पुगेको छ, तर देशको उद्योग-व्यवसायहरूका लागि ऊर्जा आपूर्ति गर्न यस्ता आयोजनाहरू अक्षम छन् । अहिलेसम्मको प्रयासमा जम्मा २०-२५ मेगावाटको हाराहारीमा वैकल्पिक ऊर्जा उत्पादन हुन सकेको छ । नेपालमा १ मेगावाट विद्युत् उत्पादन गर्न १५ करोड रुपैयाँको हाराहारीमा लागत लाग्छ । यसरी वैकल्पिक ऊर्जामा १ वर्षका लागि छुट्टयाइएको बजेट जलविद्युत् उत्पादनमा लगाउने हो भने वार्षिक रूपमा २० मेगावाट विद्युत् उत्पादन गर्न सकिने थियो । हालसम्म वैकल्पिक ऊर्जाका नाममा खर्च भएको रकमबाट सयौं मेगावाट विद्युत् उत्पादन गर्न सकिन्थ्यो ।

अहिलेसम्म वैकल्पिक ऊर्जालाई लोककल्याणकारी वा सामाजिक प्रस्तावनामा हेरिँदै आएको छ । ग्रामीण विद्युतीकरणमा यसले गरेको योगदानलाई ठूलो उपलब्धिका रूपमा हेरिने गरेको छ । देशका १० लाख घरपरिवारमा वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युतीकरण भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ । सामाजिक हिसाबले यो योगदानलाई सकारात्मक रूपमा लिन सकिएला । तर, देशको आर्थिक उन्नतिलाई त्यो ऊर्जाले कसरी योगदान गर्‍यो भन्ने प्रश्न महत्त्वपूर्ण भएर आएको छ । यदि व्यावसायिक  रूपमा ठूलो मात्रामा विद्युत् उत्पादन गर्न सकिने हो भने त्यसमार्फत सामाजिक तथा लोककल्याणकारी विकासको लक्ष्य स्वत: पूर्ति हुन्छ । त्यसैले ऊर्जा विकासको वैकल्पिक नाम गरेको मोडेललाई आर्थिक तथा व्यावसायिक कसीमा जाँच्नु आवश्यक छ ।

देशका विभिन्न ठाउँमा सांसद तथा स्थानीय निकायले पोल गाडे, तार टाँगे, बिजुली पुर्‍याए । तर, त्यहाँ आपूर्ति गर्नका लागि पर्याप्तमात्रामा विद्युत् उत्पादन हुन सकेको छैन । त्यसो हुँदा ती क्षेत्रमा पूर्णरूपमा विद्युत् आपूर्ति त हुन सकेन, सकेन अन्य क्षेत्रमा पनि ऊर्जा सङ्कट चरमचुलीमा पुग्यो । ऊर्जा अभावकै कारण देशको औद्योगिक वातावरण नाजुक अवस्थामा छ, उद्योगधन्दाहरू भकाभक बन्द भइरहेको अवस्था छ । देशमा वैदेशिक लगानी आउने त कता हो कता गैरकानूनी रूपमा यहाँबाट पूँजी पलायन भइरहेको छ । तर, दातृराष्ट्रहरू वैकल्पिक ऊर्जाको गीत गाएर ठूलो रकम यस क्षेत्रमा खर्च गर्न उत्साहित भइरहेका छन् । देशमा ऊर्जा योजनाकारहरू दाताकै बोलीमा लोली मिलाइरहेका छन् । तर, अब कनिका छरेजस्तो ऊर्जाको पैसा र्छर्ने होइन, ठोस उपलब्धिका लागि एकत्रित गर्नु आवश्यक छ । देशमा ठूलो मात्रामा जलविद्युत् उत्पादन हुन सक्यो भने त्यसले शहरी विद्युतीकरण पनि गर्न सकिन्छ, ग्रामीण पनि ।

Admin 2011-04-21