शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुनमा लगानीको जोखिम
अहिले विश्वबजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाली बजारमा पनि यसको मूल्य प्रतितोला रु. ५३ हजार नाघिसकेको छ । विश्वबजारमा हाल १ हजार ९ सय प्रतिऔंसको वरिपरि घुमिरहेको सुनको मूल्य एकवर्षभित्र ४ हजार डलर पुग्ने भविष्यवाणी पनि भएका छन् । यो भविष्यवाणी गणितीय हिसाबले गरिएकाले गर्दा मानिसहरू सुन किन्न हतारिएका छन् । तर, सुनको मूल्य बढ्ने वा घट्ने भन्ने भविष्यवाणी गणितीय हिसाबले मात्रै गर्न सकिँदैन । यसका निर्धारक अन्य कारणहरू पनि विचार गर्नुपर्छ । वास्तवमा यो रहस्यमय धातूको मूल्य कहिले के हुन्छ भन्ने कुरा पनि रहस्यमय नै छ । त्यसैले सुनमा लगानी गर्न चाहनेले यसप्रति सचेत हुन आवश्यक छ ।

वास्तवमा यो मानव जीवनमा लागि पूर्णतया उपयोगिता शून्य वस्तु हो । तर, यसको मूल्य जति बढ्यो, मूल्य पनि त्यति नै बढ्ने गरेको छ । शेयरबजार एवम् डलर, युरो येन, तथा स्वीस फ्र्याङ्कजस्ता लगानीका अन्य विकल्प अनिश्चित भएपछि अहिले सुनको मूल्य आकाशिएको छ । यदि पश्चिमा अर्थतन्त्र सुधारियो वा शेयर तथा डलरको मूल्यमा स्थिरता वा बढोत्तरीको संकेत मिल्यो भने सुनको भाउ तत्काल घट्ने सम्भावना पनि छ । त्यसैले जति नै विश्वासिलो लगानीको वस्तुका रूपमा लिइए पनि सुनमा अहिले गरिने लगानी जोखिमपूर्ण छ ।

परम्परागत रूपमा सुनजत्तिकै सुरक्षित मानिएका लगानीका क्षेत्रहरू अहिले हराएको अवस्था छ । क्रेडिट रेटिङ एजेन्सी 'एस एण्ड पी’ले अमेरिकाको रेटिङ घटाएपछि अमेरिकी डलरप्रति लगानीकर्ताको भरोसा टुटेको छ । येनको मूल्य जापान सरकार आफैले जबर्जस्ती घटाइरहेको छ । युरोको हालत पनि यस्तै छ । लगानीका लागि सुरक्षित मानिएको अर्को मुद्रा स्वीस फ्र्यायाङ्कको अवस्था पनि युरो र येनको भन्दा फरक छैन । जोखिमरहित मानिएको अमेरिकी सरकारी ऋणपत्रमा पनि अहिले जोखिम बढ्दै गएको छ । घरजग्गाको कारोबार त संसारभरि नै ओरालो लागेको छ । यस्तो अवस्थामा लगानीको निर्विकल्प क्षेत्रका रूपमा सुनमात्रै बाँकी छ । यही हुँदा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको हो । तर, त्यो स्थिति जुनसुकै बेला परिवर्तन हुनसक्छ । यदि अमेरिकालगायतका पश्चिमा अर्थतन्त्र सुध्रँदै जाने हो भने लगानीकर्ताहरू लगानीका अन्य क्षेत्रतिर आकर्षित हुनेछन् । पश्चिमा अर्थतन्त्रको हालको समस्या भनेको दोस्रो तेलसङ्कट  हो । र, त्यसको कारण चाहिँ मध्यपूर्वमा देखिएको अशान्ति हो । यदि लिबिया तथा सिरियालगायतमा तत्कालै शान्ति कायम भयो र तेलसङ्कट  समाधान भयो भने पश्चिमा अर्थतन्त्र छिट्टै नै सुधार हुनसक्छ र सुनको मूल्य घट्छ वा यसभन्दा बढ्दैन । यदि १-२ वर्षसम्मै पश्चिमा अर्थतन्त्रमा सुधार आएन भने मात्र सुनको मूल्यले प्रतिऔंश ४ हजार डलरको सगरमाथा छुने सम्भावना रहन्छ ।

तर, नेपालको स्थिति केही फरक छ । विश्व अर्थतन्त्रमा सुधार आउँदा नेपाली अर्थतन्त्रमा पनि  सुधार आउँछ नै भन्ने छैन । देशको राजनीतिको वर्तमान प्रवृत्तिलाई हेर्दा पनि त्यस्तै देखिन्छ । त्यसो हुँदा विश्वबजारमा सुनको भाउ ढट्दा नेपालमा भने बढिरहने हुनसक्छ । अहिले सुनको आयातमा प्रतिदिन १५ किलोको कोटा निर्धारण गरिएको छ । तर, दैनिक ४० किलोको हाराहारीमा खपत भइरहेको व्यवसायीहरू बताउँछन् । यस्तो अवस्थामा नेपाली सुनबजार चोरीपैठारीको सुनमा निर्भर छ । भोलि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घट्दासमेत सरकारले सुन आयातमाथिको हालको कोटा यथावत राख्यो भने चोरीपैठारीमा संलग्न तस्करहरूले यहाँ कृत्रिम अभाव सिर्जना गरी मूल्य घट्न नदिन सक्छन् । तर, यदि सहमतीय सरकार बन्यो र त्यसले साँच्चै प्रभावकारी सरकारका रूपमा काम गरेर अन्य क्षेत्रमा लगानीको वातारण बन्यो भने त्यसबेला सुनको मूल्य घट्नसक्ने हुन्छ ।

अमेरिकी सरकारले प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई)का आधारमा सुनको वास्तविक मूल्य सन् १९८० मा नै प्रतिऔंस २ हजार ५ सय पुगेको मानिन्छ । त्यस हिसाबले सुनको हालको स्वाभाविक मूल्य २ हजार ५ सय डलर प्रतिऔंसभन्दा माथि पुगिसक्नुपर्ने हो । तर, त्यसो भएको छैन । यसको अथए सुनलाई पनि भरपर्दो लगानीको वस्तु मान्न मिल्दैन । सुन किन्नुअघि यी सबै पक्षमाथि विचार गरियो भने मात्र त्यो सही निर्णयहुनसक्छ । आँखा चिम्लेर गरिएको लगानी सधैं जोखिमयुक्त हुन्छ ।

Admin 2011-08-25