चाँदीको घेरा नछेक
यो आर्थिक वर्षको पहिलो ९ महीनामा अघिल्लो आर्थिक वर्षको तुलनामा चाँदीका सामग्री निर्यात ६५ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्ला वर्षरूमा सुस्त रूपमा नै भए पनि बढिरहेको चाँदीका सामग्रीको निर्यात यति ठूलो सङ्ख्यामा घट्नुलाई चिन्ताजनक रूपमा लिनुपर्छ । नेपाली चाँदीका सामग्रीहरूको गुणस्तरमा यूरोपेली तथा अमेरिकी देशहरूले प्रश्नचिन्ह उठाएको तथा उनीहरूले दिएको चेतावनीलाई यहाँ गम्भीर रूपमा नलिइएकाले निर्यात घटेको हो । त्यसैले जतिसक्दो चाँडो गुणस्तर प्रमाणीकरणको व्यवस्था गरी नेपाली चाँदीका सामग्रीको अन्तरराष्ट्रिय साखलाई बचाउनुपर्छ ।
चाँदीका कलात्मक सामग्री नेपालबाट निर्यात हुने वस्तुमध्ये तुलनात्मक रूपमा उच्च मूल्य अभिवृद्धि हुने सामग्री हो । विगतमा गलैंचा, तयारी पोशाकजस्ता वस्तुको निर्यातमा ठूलो मात्रामा कमी आउँदा पनि चाँदीका सामग्रीले भने आशा जीवित राखेको थियो । तर, यस वर्षभने यी सामग्रीको निर्यातमा नाटकीय रूपमा कमी आयो । नेपालबाट निर्यात हुने चाँदीका सामग्रीको गुणस्तर खस्किएको र त्यसमा सुधार गर्नुपर्ने भनी यूरोपेली युनियनले सन् २०१० को शुरूमा चेतावनी दिएको थियो । तर, त्यसप्रति नेपालको सरकारी तथा निजीक्षेत्र गम्भीर बन्न सकेन वा बनेर पनि समयमा काम हुन सकेन । नेपालबाट निर्यात हुने चाँदीका सामग्रीमा केडियमलगायतका धातु पाइएको भन्दै गुणस्तर नियन्त्रणका लागि यूरोपेली युनियनले सन् २०१० को अन्त्यसम्मको समय दिएको थियो । त्यस अवधिसम्ममा नेपालले गुणस्तर प्रमाणीकरणका लागि प्रयोगशालाको निर्माण गरिसक्नुपथ्र्यो । तर, तोकिएको अवधिमा त्यो काम हुन सकेन । त्यसो हुँदा गुणस्तर प्रमाणीकरण नभएको भन्दै ती देशहरूले चाँदीको सामग्रीको माग कटौती गरे । त्यसैले पहिल्यै थाहा भएको समस्या समाधान गर्न सरकारी तथा निजीक्षेत्रबाट यथेष्ट प्रयास नभएकाले यसमा दुवै पक्ष दोषी छन् ।
चाँदीका सामग्रीको गुणस्तर प्रमाणीकरणका लागि प्रयोगशाला निर्माणको प्रयास नै नभएको भने होइन । प्रयोगशाला निर्माणका लागि नेपाल सरकारका व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी), गुणस्तर तथा नापतौल विभाग र नेपाल हस्तकला महासङ्घबीच सम्झौता पनि भएको हो । रू. १ करोड २० लाख लागत लाग्ने प्रयोगशाला निर्माणका लागि सरकारले र महासङ्घले आधाआधा खर्च बेहोर्नेगरी सम्झौता भएको थियो । यो सामग्री निर्यातमा उत्पत्तिको प्रमाणपत्र घरेलु उद्योग महासङ्घले दिने भएकाले उसैअन्तर्गत प्रयोगशाला राखिने सहमति बनेको थियो । तर, वाणिज्य मन्त्रालयले टीईपीसी तथा उद्योग मन्त्रालयले गुणस्तर तथा नापतौल विभागको संयोजकत्वमा काम हुनुपर्छ भन्ने अडान राखेकाले यस कार्यमा ढिलाइ हुन गयो । यसरी बेलैमा प्रयोगशाला निर्माण हुन नसक्नुमा अन्तरसरकारी समन्वयको अभाव देखिएको छ, जुन पुरानै रोग हो ।
यसरी चाँदीका सामग्रीको निर्यात ≈वात्तै घट्नुमा अन्तरराष्ट्रिय बजारमा चाँदीको मूल्यमा भएको तीव्र वृद्धि तथा उतारचढावको पनि हात छ । अन्तरराष्ट्रिय बजारमा चाँदीको मूल्यमा अनिश्चितता भएपछि यसका कलात्मक सामग्रीको मागमा कमी आउनु स्वाभाविक नै हो । तर, क्षणिक लाभका लागि गुणस्तरमा सम्झौता गर्ने नेपाली व्यापारीको मनोवृत्ति पनि यसो हुनुमा कम दोषी छैन । पश्मिना तथा गलैंचाको निर्यात उच्च भएको बेला केही व्यापारीले कम गुणस्तरका सामग्री निर्यात गरेर क्षणिक लाभ लिए । त्यसैगरी, चाँदीका सामग्री निर्माताले पनि त्यस किसिमको लाभ लिन खोज्दा त्यस्तै नियति भोग्नुपर्ने अवस्था आएको छ । त्यसैले व्यापारीहरू आफै यसप्रति सचेत हुनु आवश्यक छ ।
अबको डेढ-दुई महीनाभित्रै प्रयोगशाला निर्माणको काम सम्पन्न हुने सम्बन्धित अधिकारीहरूले बताएका छन् । प्रयोगशालाको निर्माणपछि चाँदीको सामग्रीको गुणस्तरमाथि उठेको आशङ्का समाप्त होला र यसको निर्यातमा पनि वृद्धि होला भन्ने आशा गर्न सकिन्छ । त्यसैले सरकार तथा निजीक्षेत्रले जतिसक्दो चाँडो प्रयोगशाला निर्माणको काम सम्पन्न गर्नका लागि सहकार्य गर्नुपर्छ । जुनसकै कारणले भए पनि अन्तरराष्ट्रिय बजारमा नेपाली चाँदीका सामग्रीको साख घटेको छ, त्यसलाई पुन:स्थापित गर्न पहल गर्नुपर्छ ।
Admin 2011-05-23