'एड फर ट्रेड’को एकीकरण र परिचालन
वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारका लागि सहयोग (एड फर ट्रेड)का रूपमा दाताहरूबाट आउने रकमलाई एकत्रित गर्ने तयारी शुरू गरेको छ । त्यसरी आउने वैदेशिक सहयोग विभिन्न शीर्षक तथा निकायमार्फत आउने हुँदा त्यसको अभिलेखाङ्कन तथा परिचालनका लागि एउटा समन्वयकारी निकायको आवश्यकता थियो । मन्त्रालयले गरेको यो प्रयासबाट त्यो आवश्यकता पूर्ति हुने आशा गर्न सकिन्छ । तर, सबै सहयोगलाई एकत्रित गरेर परिचालनका क्रममा तजबिजीपूर्ण ढङ्गले वितरण गरियो भने चाहिँ त्यसले व्यापार प्रवर्द्धनमा फाइदा पुग्ने सम्भावना कम छ ।
एड फर ट्रेडका लागि आउने वैदेशिक सहायता रकमलाई परिचालन गर्ने समन्वयकारी निकाय हुँदा विभिन्न किसिमका फाइदा हुन सक्छन् । यसो हुँदा देशमा कति रकम यो शीर्षकमा भित्रन्छ, त्यसको यथार्थ तथ्याङ्क उपलब्ध हुन्छ । साथै, त्यो रकम एउटै निकायमा केन्द्रित हुँदा त्यसबाट देशको आवश्यकताअनुसार कुन क्षेत्रमा कस्तो किसिमको पूर्वाधार निर्माण गर्ने, कुन क्षेत्रलाई कति सहयोग दिनेलगायतका निर्णयगर्न सजिलो हुन्छ । देशको धरातलीय वास्तविकतामा आधारित रहेर व्यापारसम्बन्धी योजना बनाउने र हाम्रो आवश्यकताअनुसार सहयोग रकमलाई परिचालन गर्ने काममा यसले सहयोग पुर्याउँछ ।
देशमा कति रकम एड फर ट्रेडअन्तर्गत आइरहेको छ भन्ने कुराको पहिचान भइसकेपछि त्यसबाट देशमा व्यापार बढाउनका लागि कति रकम आवश्यक छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । वर्तमान सन्दर्भमा हामीजस्ता अन्य देशले व्यापारका लागि यति रकम चाहियो भनेर माग गरिरहेको अवस्था छ । तर, यथार्थ तथ्याङ्क नहुँदा हामीले त्यसो गर्न सकेका छैनौं । यदि हामीसँग त्यो हुने हो भने हाम्रा व्यापार वार्ताकारहरूले पनि अन्तरराष्ट्रिय मञ्चहरूमा हामीलाई यस किसिमको सहयोग यति चाहियो भनेर भन्ने शक्ति प्राप्त गर्दथे । त्यसैले हाम्रा व्यापार वार्ताकारहरूलाई तथ्याङ्क र जानकारीले शक्तिशाली बनाउन पनि यो प्रयासले सहयोग पुर्याउन सक्छ । साथै, अन्तरराष्ट्रिय स्तरमा दाताहरू जुटाउनका लागि पनि यसले सहयोग गर्नसक्छ ।
नेपालमा वैदेशिक सहयोगको प्रभावकारितामाथि प्रश्नचिन्ह उठ्ने गरेको छ । वैदेशिक सहयोग प्रभावकारी नभएको भनेर थुप्रै मञ्चहरूमा भन्ने गरिएको छ । यदि एड फर ट्रेडका लागि आएको वैदेशिक सहयोग रकमलाई एकत्रित गरी प्रभावकारी परिचालन गर्न सकियो भने त्यसले अन्य किसिमका वैदेशिक सहयोगलाई कसरी प्रयोग गर्ने भनेर दिशानिर्देशसमेत गर्न सक्नेछ । यदि यस कार्यलाई प्रभावकारी बनाउन सकियो भने अन्य किसिमका वैदेशिक सहयोगलाई प्रवर्द्धन गर्ने कार्यमा सहयोग पुर्याउन सकिन्छ ।
वास्तवमा नेपालको व्यापार नक्साङ्कन (ट्रेड म्यापिङ) हुन नसक्दा कुन क्षेत्रमा कति लगानी गर्नुपर्छ, त्यो लगानी कहाँबाट ल्याउने, त्यसको प्रतिलब्धि कस्तो हुन्छ लगायत विषयहरूमा स्पष्ट हुन सकिएको छैन । यदि मन्त्रालयले भनेजस्तो सबै सहयोगलाई एकै ठाउँमा ल्याउने र त्यहाँबाट परिचालन गर्ने कार्य गरियो भने त्यसबाट यी विषयहरूमा स्पष्ट हुन सकिन्छ । त्यसो भएपछि नेपालमा कुनकुन क्षेत्रमा कति मात्रामा प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ भन्ने कुरामा पनि स्पष्ट हुन सकिन्छ । त्यसबाट नेपालमा प्रत्यक्ष वैदेशिक सहयोग प्रवर्द्धन गर्ने कार्यमा पनि सहयोग पुग्न सक्छ ।
तर, यसरी एड फर ट्रेडका लागि आउने रकम एकै ठाउँमा केन्द्रित हुने र त्यहाँबाट मात्र परिचालन गर्ने गरियो भने त्यसबाट सरकारी कर्मचारीको तजबीजीमा रकम वितरण हुने सम्भावना पनि हुन्छ । कुनै निश्चित स्वार्थसमूहको प्रभावमा कुनै क्षेत्रमा अस्वाभाविक रूपमा बढी रकम वितरण हुने अनि सम्भावना भएका अन्य क्षेत्रमा सहयोग नै नहुने अवस्था पनि आउन सक्छ । तर, त्यसो हुन नदिनका लागि एउटा संयन्त्रको विकास गरेर आएको रकमलाई सही ठाउँमा परिचालन गर्न सकियो भने त्यसले निश्चय पनि नेपालको निर्यात व्यापार बढाउनका लागि योगदान दिन सक्नेछ ।
Admin 2011-05-26