शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सम्मेलन पर्यटन
अन्तरराष्ट्रिय होटल तथा रेष्टुराँ एशोसिएशनको ४९औं विश्वसम्मेलन नेपालमा हुने भएको छ । विश्वभर ११ लाख सदस्य रहेको, संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको एकमात्र निजी व्यवसायीहरूको विश्वस्तरीय संस्था भएको कारणले यसले गर्ने विश्व सम्मेलनको आफैमा महत्त्व छ । यसै वर्षहिमाल आरोहणसम्बन्धी अन्तरराष्ट्रिय संस्थाहरू युनियन इण्टरनेशनल अल्पाइन एशोसिएशन (यूआईएए) तथा युनियन एशियन अल्पाइन एशोसिएशन (यूएएए)को साधारणसभा पनि नेपालमै हुन गइरहेको छ । यस्ता विश्वस्तरीय कार्यक्रमहरूका माध्यमबाट नेपालको 'माइस’ (मिटिङ, इन्सेण्टिभ, कन्फरेन्स एण्ड एक्जिबिशन) पर्यटनको त विकास हुन्छ नै, देशको समग्र अर्थतन्त्रले पनि लाभ लिन सक्छ ।

१० लाख पर्यटन भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ नेपाल पर्यटन वर्षचलिरहेको छ । त्यो लक्ष्य पूरा हुन कठिन देखिएको छ । तर पनि, यस किसिमका कार्यक्रमहरू नेपालमा हुँदा पर्यटन वर्षको लक्ष्यप्राप्तिमा सहयोग त पुग्छ नै, यस क्षेत्रको दीर्घकालीन विकासमा पनि सहयोग गर्नसक्छ । यस्ता सम्मेलनमा विश्वभरिकै पर्यटन क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्तिहरूको जमघट हुने गर्छ । त्यसैले सम्मेलनका बेला नेपालले सकारात्मक सन्देश दिन सक्यो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई विश्वभर प्रचार गराउन सहयोग पुग्नेछ । र, यसको लाभ यसै वर्ष्राप्त नभए पनि दीर्घकालीन लाभ ठूलो हुन्छ ।

नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रन सकेको छैन भनेर निजी तथा सरकारी क्षेत्रबाट निकै चिन्ता व्यक्त गरिने गरेको छ । यी दुई अन्तरराष्ट्रिय सम्मेलनलाई नेपालमा लगानी भित्र्याउने अवसरका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यी सम्मेलनमा विश्वभरका ठूला होटल तथा पर्यटन लगानीकर्ताहरूको सहभागिता हुनेछ । त्यसैले नेपालले यसलाई वैदेशिक लगानी भित्र्याउने अवसरका रूपमा पनि प्रयोग गर्न सक्छ । यदि नेपालमा लगानीको वातावरण उपयुक्त हुन सक्ने हो भने ठूला विदेशी लगानीकर्ताले यहाँ पनि लगानी गर्ने विषयमा विचार गर्नेछन् । यसअघि अन्य विभिन्न राष्ट्रमा भएका अनुभवले पनि यसलाई पुष्टि गर्छ । साथै, पर्यटन उद्यमीहरूको लगानी यस क्षेत्रमा मात्र सीमित हुँदैन, अन्य विविध क्षेत्रमा पनि त्यो फैलिएको हुन्छ । त्यसैले पर्यटनकै अन्य क्षेत्र वा पर्यटनइतर क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पनि यो अवसर हुन सक्छ । सरकारले त्यस अवसरमा यहाँ लगानीका गर्नेहरूलाई सहुलियतको घोषणा गरिदियो भने त्यो पनि सकारात्मक हुन सक्छ । तर, लगानी भित्रनका लागि नेपालमा उपयुक्त व्यावसायिक वातावरण बन्नु अनिवार्य छ ।

सम्मेलनमा नेपालमा आउने व्यक्तिहरू आफैमा पर्यटक त हुन् नै, उनीहरूलाई नेपालको पर्यटन विकासको दूतका रूपमा पनि उपयोग गर्नेतर्फसरकार तथा निजीक्षेत्रले सोच्नुपर्छ । विश्वका विभिन्न देशबाट आउने प्रतिष्ठित पाहुनाहरूले नेपालबाट सकारात्मक सन्देश लिएर गए भने अवश्य पनि भविष्यमा नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिन सक्नेछ । यसका लागि त्यसरी आउने पाहुनाहरूलाई नेपालको पर्यटनको सद्भावना दूत बनाउने पहल गर्न सकिन्छ । साथै, सम्मेलनका सहभागीलाई सरकारले नै पाहुनाका रूपमा कुनै स्थानमा घुमाउन लैजान सक्छ । तर, त्यो सम्मेलन हुने समयमा नेपालमा बन्द-हडताल, पेट्रोलियम पदार्थको लाइनजस्ता अव्यवस्था भए भने त्यसले नेपालको छवि धुमिल पार्नेछ । अनि बनाइएका सद्भावना दूतले पनि नकारात्मक सन्देश लिएर जानेछन् ।

भारत र चीनजस्ता क्षेत्रफल, जनसङ्ख्या र अर्थतन्त्रका हिसाबले विश्वकै ठूला मुलुक छिमेकमा रहँदारहँदै नेपालले यो विश्वसम्मेलन गर्न पाउनु सौभाग्यपूर्ण अवसर हो । त्यसैले सो सम्मेलनलाई हरहिसाबले सफल र उत्कृष्ट बनाउनु नेपालको पर्यटन क्षेत्र र समग्र अर्थतन्त्रकै हितमा हुनेछ । सो सम्मेलनमा विश्वका चर्चित व्यक्तिहरूलाई वक्ताका रूपमा निम्त्याउन सकियो भने भने त्यसको प्रभाव अझ सकारात्मक हुनेछ । अर्कातिर नेपाल पर्यटन वर्षको अन्तिम महीनामा हुने सम्मेलनलाई नै पर्यटन वर्षको समापन समारोह पनि बनाउन सकिन्छ । साथै, विश्वभर नै राम्रा र ठूला सम्मेलनहरू नेपालमा गर्नु उत्कृष्ट हुन्छ भन्ने सन्देश दिने अवसर पनि हो यो । त्यसैले नेपालको पर्यटन क्षेत्र र देशकै अर्थतन्त्रका लागि यो सम्मेलनलाई कोसेढुङ्गा बनाउनका लागि आजैबाट सरकार तथा निजीक्षेत्रले संयुक्त पहल गर्नु जरुरी छ ।

Admin 2011-04-27