आर्थिक-राजनीतिक स्थायित्व कायम होओस्
नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं शुरू भइसकेको छ । यो वर्षको दशैं आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा केही पुराना र केही नयाँ आयाम बोकेर आएको छ । विगत वर्षहरूमा दशैंसँगै अटोमोबाइललगायत अन्य विद्युतीय र विलासी सामानको बजार पनि निकै बढ्थ्यो । तर, यसपटक त्यसो भएन । यसपटक दशैंको मुखैमा शुरू भएको सरकारी बजार अनुगमन प्रभावकारी देखिएको छ । दशैंलाई मेलमिलापको चाड पनि मानिन्छ । देशमा शान्ति स्थापना र आर्थिक-राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरूबीच मेलमिलापको आवश्यकता अझै टड्कारो देखिन्छ पनि । तर, उनीहरू एकअर्कामा त मिलेनन्, मिलेनन्, आफूआफूभित्रै काटामार गरिरहेका छन् । यद्यपि, थोरै सङ्ख्यामा भए पनि भ्रष्टाचारीहरू जेलभित्र पुगेका छन्, वित्तीय अपराधीहरू समातिने क्रम शुरू भएको छ, कालोबजारी, नाफाखोरीहरूका काला कर्तुतहरू सार्वजनिक हुने क्रम जारी छ । यसले भने अब विस्तारै असत्यको पराजय र सत्यको विजयको क्रम शुरू हुन्छ कि भन्ने आशा जगाएको छ ।
नेपाली अर्थतन्त्रलाई अझै पनि चाडबाडमा आधारित अर्थतन्त्र मानिन्छ । दशैंलगायतका मुख्य चाडबाडका बेलामा मात्रै आधाभन्दा बढी व्यापार व्यवसाय हुने स्वयम् व्यवसायीहरू बताउँछन् । गाडी, मोटरसाइकल, विद्युतीय सामग्रीहरू, मोबाइललगायतको ठूलो व्यापार हुने समय दशैं हो । यही तथ्यलाई विचार गरेर व्यापारीहरूले दशैंकेन्द्रित विभिन्न योजना ल्याउने गर्छन् । रोजगारीमा रहेकाहरूले दशैंभत्ता तथा लामो बिदा पाउने भएकाले पनि यसबेला मन खोलेर सामान किन्ने गर्छन् । तर, यसपटक टिकाउ समानहरूको व्यापारमा दशैंको त्यति धेरै प्रभाव नपरेको व्यवसायीहरूले बताएका छन् । वास्तवमा यसले देशको बिग्रँदो अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ । अघिल्लो आर्थिक वर्षको बजेटमार्फत कर बढाइएपछि सुस्ताएको अटोबजार अहिलेको दशैंमा पनि उकालो लाग्न सकेन । सुस्ताएको अटोबजारलाई सम्बोधन गर्न नीतिगत परिवर्तनकै आवश्यकता देखिएको छ ।
चाडबाडका बेला कृत्रिम अभाव सृजना गरेर मूल्य बढाउने, मिसावट गर्ने, कम गुणस्तरका सामान विक्री गर्नेलगायतका अस्वस्थ तथा दण्डनीय कामहरू पनि व्यावसायिक समुदायबाट हुँदै आएका छन् । यसपटक पनि त्यस्ता क्रियाकलाप भएको देखियो । दशैंको केही अगाडि मात्रै शुरू भएको बजार अनुगमनका क्रममा गुँदपाकका नाममा सडेका मिठाई र ढलको पानी खाइरहेको मात्रै पाइएन, शाकाहारीले खाने मिर्ठाई जनावरको बोसोमा बनाएको पनि सार्वजनिक भयो । अस्वाभाविक रूपमा खाद्यान्न भण्डारण गरी कृत्रिम अभाव सृजना गर्ने व्यापारीहरूको भागाभाग भएको समाचार सार्वजनिक त भयो तर तिनलाई कस्तो कारबाही हुन्छ भन्ने अहिलेसम्म खुल्नमा आएको छैन । सिण्डिकेटले सताइएको यातायात क्षेत्रले भने उपभोक्तालाई ठग्ने र दु:ख दिने क्रमलाई यो वर्षविगतभन्दा पनि धेरै बनायो । जे भए पनि चाडबाडका बेला भएको बजार अनुगमनले स्वस्थ बजार कायम गराउन र उपभोक्तामा जागरण पैदा गराउन सफल भएको छ ।
भाइचारा र मेलमिलापको चाड दशैंले देशमा आर्थिक-राजनीतिक स्थायित्वका लागि सहमति निर्माण गर्ने प्रेरणा प्रदान गरोस् । नेपाली समाजमा विकास भएको सहीलाई गलत र गलतलाई सही मान्ने संस्कृतिको अन्त्य गराई सामाजिक, सांस्कृतिक, व्यावसायिक, आर्थिक र राजनीतिक रूपमा स्वस्थ देश निर्माणमा लाग्न सबै पक्षलाई प्रेरणा मिलोस् । राजनीतिक दलहरूका बीचमा 'भाइभाइ शत्रुता’ अन्त्य भई देशमा शान्ति स्थापना र संविधान निर्माणको काम सम्पन्न होओस् । बडादशैंको सबैलाई शुभकामना !
Admin 2011-10-02