नेप्सेलाई हेरेर राजनीति गर
नेपालको शेयरबजार परिसूचक (नेप्से) ३ वर्षदेखि लगातार घटेर अहिले ५ वर्षअघिको अवस्थामा आएको छ । ५ वर्षपहिला अहिलेकै तहबाट बढ्न शुरू गरेको नेप्से परिसूचक २०६५ भदौ १५ गते अहिलेसम्मकै उच्च १ हजार १ सय ७५ सम्म पुगेको थियो । प्राविधिक रूपमा यसलाई शतप्रतिशत 'रिट्रेसमेण्ट’ भएको भनिन्छ । विश्व शेयरबजारको इतिहासमा यस्ता घटना विरलै हुने गर्छन् । देशको अर्थतन्त्रको ऐना मानिने शेयरबजार परिसूचकमा शतप्रतिशत वा सोभन्दा बढी रिट्रेसमेण्ट हुनुले सम्बन्धित अर्थतन्त्र चरम आर्थिक सङ्कटमा रहेको सङ्केत गर्छ ।
नेपालको सन्दर्भमा अर्थतन्त्र चरम सङ्कटमा पुगेको पुष्टि गर्ने अन्य अर्थगणितीय आधारहरू विकसित भइसकेका छैनन् । त्यसैले पनि पूँजीबजारको गतिलाई समग्र अर्थराजनीतिक परिस्थितिको प्रतिविम्ब मान्दा उपयुक्त नै हुन्छ । अर्थतन्त्रको आन्तरिक अवस्था दर्शाउने आधारभूत आर्थिक परिसूचकहरू कुल गार्हस्थ्य उत्पादन, रोजगारी, मूल्य वृद्धिदरका साथै मौद्रिक तथा वित्तीय स्थायित्व सरकारको अनुमानभन्दा प्रतिकूल बन्दै गएका छन् । त्यसैगरी, अर्थतन्त्रको बाह्य क्षेत्रको वास्तविक अवस्था दर्शाउने परिसूचकहरू वैदेशिक व्यापार, शोधनान्तर स्थिति ऋणात्मक छ भने विदेशी मुद्रा सञ्चिति खस्कँदै गएको छ । सामान्य अर्थशास्त्रको सिद्धान्तलाई आधार मान्ने हो भने यसरी खस्कँदै गएका बृहत् आर्थिक परिसूचकको नकारात्मक प्रभाव नेप्सेमा परेको भन्न सकिएला । तर, नेप्सेको विगतलाई हेर्ने हो भने यसो भन्नु पनि अपरिपक्व र अपर्याप्त देखिन्छ । किनभने, एकाध वर्षबाहेक नेप्सेको १८ वर्षको इतिहासमा देशको औसत आर्थिक अवस्थाको तुलनामा अहिलेको अवस्था धेरै कमजोर छैन ।
नेप्सेले आफ्नो १८ वर्षको जीवन यात्रामा १२ वर्षत मुलुकमा व्याप्त सशस्त्र द्वन्द्वको सामना गर्यो । त्यसपछिका ३ वर्ष शान्ति स्थापना हुने र अर्थतन्त्रले गति लिने आशामा केही जुर्मुराउने प्रयास गरेको नेप्से अहिले पुन: थचारिएको छ । सशस्त्र द्वन्द्व अन्त्य तथा राजतन्त्रको पतनपछि देशमा दिगो शान्ति स्थापना हुने, देशको आर्थिक-सामाजिक पुन:संरचना हुने र देशमा प्रशस्त विदेशी लगानी भित्रिने अनुमान गरिएको थियो । लगानीको वातावरण र पूँजीको अभावमा अथाह प्राकृतिक स्रोतको उपयोग हुन नसकेको नेपाली अर्थतन्त्रमा लगानी गर्न विश्वका धनाढय तथा उदीयमान अर्थतन्त्रका लगानीकर्ताहरू आकर्षित देखिएका पनि थिए । अर्थतन्त्रको वृद्धिलाई टेवा पुर्याउन पूँजीबजारको विकास पनि अनिवार्य हुने स्थापित मान्यता नै हो । त्यही अनुमानमा तत्कालीन समयमा नेपाली शेयरबजार उकालो लागेको कुरालाई नकार्न मिल्दैन । संविधानसभाको निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमले नेपाली तथा विदेशी लगानीकर्ताहरूको अनुमानलाई गलत सावित गरिदियो । प्रमुख राजनीतिक दलहरू सत्ता मोहमा लिप्त भए । आर्थिक विकासका मुद्दाहरू किनारा लागे र देशका आर्थिक तथा सामाजिक संरचनाहरू थप कमजोर बने भने उद्दण्डता, दण्डहीनता र विशृङ्खलता बढ्दै गयो । फलस्वरूप, देशको अर्थतन्त्र अपेक्षाअनुरूप विस्तार हुन सकेन, भएको विस्तार पनि सङ्कुचित हुँदै गयो । त्यसैगरी, अर्थतन्त्रको मेरुदण्ड मानिने वित्तीय प्रणालीमा समस्या उत्पन्न भयो र पूँजीबजार (शेयरबजार) पनि ओरालो लागेर अहिलेको अवस्थामा आयो ।
राजनीतिक दल तथा तिनका नेताहरू यस विषयमा अझै गम्भीर भएका छैनन् । देशको नाजुक अर्थतन्त्र र गिर्दो शेयरबजारलाई कसरी सुधार गर्ने भन्ने विषयमा बहस गर्नुको सट्टा एकअर्कालाई दोष लगाउनमा नै उनीहरू व्यस्त छन् । अहिले समय परिवर्तन भइसकेको छ । अहिले अन्तरराष्ट्रिय व्यवसायीहरूमा कुनै पनि नयाँ स्थानमा लगानी गर्दा वा ऋण दिँदा त्यो देशको कानून, राजनीतिक अवस्थाका साथै त्यहाँको पूँजीबजार वा शेयरबजारको पनि गहिरो अध्ययन गर्ने परम्परा स्थापित भइसकेको छ । त्यसकारण, अब नेपालको आर्थिक विकासलाई गति प्रदान गर्ने हो र सम्पन्न नेपाल निर्माण गर्न चाहने हो भने नेप्से परिसूचकलाई आधार मानी जतिसक्दो छिटो राजनीतिक निकास प्रदान गर्नुपर्छ । र, ध्वस्त हुनै लागेको एकमात्र शेयरबजार बचाउनतिर लाग्नुपर्छ ।
Admin 2011-04-28