शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वित्तीय प्रणालीको जग र गभर्नर
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. युवराज खतिवडाले नेपालको वित्तीय क्षेत्रको जग नै कमजोर रहेको बताएका छन् । उनको आशय यसअघि वित्तीय क्षेत्रको जग सुधार गर्ने प्रयास गरिएन भन्ने हो । गभर्नरले भनेका कुरा निश्चय पनि सही हुन् । तर, के कुरा पनि सत्य हो भने वित्तीय क्षेत्रको जग कमजोर हुनुमा सबैभन्दा बढी दोषी नेपाल राष्ट्र बैङ्क नै हो । बैङ्क तथा वित्तीय संस्था स्थापनाको सामान्य मूल्यमान्यताको विकास र पालना बेलैमा हुन सकेको भए यो समस्या आउँदैनथ्यो । अब हिजो कमजोरी भयो भनेर वित्तीय क्षेत्रको भविष्यलाई कमजोर धरातलमा छोडिदिनुहुँदैन, ढिला नगरी नेपाल राष्ट्र बैङ्कले सही समयमा सही कदम चाल्नुपर्छ ।

वित्तीय क्षेत्रको जग बलियो बनाउनका लागि यस क्षेत्रमा सही नीतिगत व्यवस्था शुरूमै हुनुपथ्र्यो । तर, त्यसो हुन सकेन । त्यसो हुँदा बैङ्क तथा वित्तीय संस्था स्थापना हुँदा उचित मापदण्डको निर्माण र त्यसको पालना हुन सकेन । बैङ्क स्थापना गर्नेहरूको वैयक्तिक इतिहास र योग्यता निर्धारण नगरी जसले पनि जसरी पनि बैङ्क खोल्ने परम्परा नै बस्यो । यसो हुँदा बैङ्किङ क्षेत्रका बारेमा आधारभूत ज्ञान नै नभएकाहरूले बैङ्क खोल्ने तथा ज्ञान भएकाले पनि इमानदार नबन्ने समस्या देखापर्‍यो । यो सबै हुनुमा वित्तीय क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैङ्क नै जिम्मेवार छ । उसले दूरदर्शी भएर यस क्षेत्रमा प्रभावकारी नीतिगत व्यवस्था गर्न सकेको तथा भएका नीतिनियमको बलियो कार्यान्वयन गरेको भए निश्चय पनि वित्तीय क्षेत्रमा संस्थागत सुशासन कमजोर हुनेलगायतका समस्याहरू आउने थिएनन् वा कम हुने थिए ।

नेपालमा उद्योगीले बैङ्क खोल्ने खराब संस्कृतिको विकास हुनुमा पनि नेपाल राष्ट्र बैङ्ककै भूमिका महत्त्वपूर्ण छ । एकै व्यक्तिले उत्पादनमूलक तथा वित्तीय दुवै क्षेत्रमा लगानी गरेपछि 'इन्साइडर लेण्डिङ’ले प्रश्रय पायो र धेरैओटा बैङ्क तथा वित्तीय संस्थाको अवस्था कमजोर हुनपुग्यो । अहिले प्राय: सबै ठूला उद्योगीहरूका आआफ्ना बैङ्क छन् । ऋण दिने र लिने एउटै हुनु नहुने विश्वव्यापी मान्यताविपरीत काम भइरहँदा समेत ऐन बनाएर त्यसलाई नियन्त्रण गर्न सकिएको छैन ।

बैङ्कहरूको पूँजी पर्याप्तताको विषयमा वास्तविक तथ्यहरू बाहिर ल्याउन गभर्नर हिच्किचाएका छन् । अहिले सरकारी बैङ्कहरू नकारात्मक पूँजीकोषमा सञ्चालन हुँदा पनि हुने अनि निजी बैङ्कहरूलाई चाहिँ पूँजी बढाउन निर्देशन दिने दोहोरो मापदण्ड राष्ट्र बैङ्कले अपनाउँदै आएको छ । यसरी सरकारी संस्थाहरूलाई प्रश्रय दिने खालको निर्देशनमुखी अर्थतन्त्रको वकालत राष्ट्र बैङ्कले गर्नु उचित होइन । यदि बैङ्किङ क्षेत्रको हित गर्ने हो भने सरकारी तथा निजी सबै वित्तीय संस्थालाई समान व्यवहार (लेभल्ड प्लेइङ फिल्ड) प्रदान गरिनुपर्छ ।

पछिल्ला दिनमा नेपाल राष्ट्र बैङ्क राजनीतिक दलजस्तो पपुलिष्ट हुन खोजेको आभास हुने गरेको छ । वास्तवमा राष्ट्र बैङ्कले पपुलिष्ट होइन, यथार्थमा आधारित भएर काम गर्नुपर्छ । पछिल्ला दिनमा त्यसो नगरेर राष्ट्र बैङ्कले सरकारी संस्थानमा रूपान्तरित हुने बाटो समातेको छ, जुन वित्तीय क्षेत्रको दीर्घकालीन हितका लागि अनुचित छ ।

नेपालको वित्तीय क्षेत्रमा भएका विविध समस्या समाधानका लागि नेपाल राष्ट्र बैङ्क आफैले सही र बलियो नीति अङ्गीकार गर्नुपर्छ । विगतमा गलत नीति बनाउनु वा सही काम गर्न नसक्नुको जिम्मेवारी लामो समयसम्म नेपाल राष्ट्र बैङ्कमा बिताएको हैसियतले वर्तमान गभर्नरले पनि लिनुपर्छ । नेपालको वित्तीय प्रणालीको जग कमजोर रहेकैले त्यसलाई बलियो बनाउन डा. खतिवडाजस्ता सक्षम व्यक्तिलाई गर्भनर बनाइएको हो र उनले पनि त्यो जिम्मेवारी निर्वाह गर्ने पटकपटक बताउने गरेका छन् । वित्तीय क्षेत्रको जग बलियो बनाउन सही र परिपक्व कदम चाल्ने बेला यही हो भनेर नेपाल राष्ट्र बैङ्क तथा विशेषगरी वर्तमान गभर्नरले बुझैकै हुनुपर्छ ।

Admin 2011-04-29