शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कुरियर सेवाको  व्यवस्थित विकास
सूचना प्रविधिमा भएको तीव्र विकासका कारण सेवा उद्योगको मान्यता पाएको नेपालको कुरियर व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको व्यवसायीहरूले बताउने गरेका छन् । त्यसैले यो व्यवसायले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै आफूलाई त्यसैअनुरूप सञ्चालन गर्नुको अब विकल्प छैन । अन्तरराष्ट्रिय रूपमा सफल कुरियर सेवा प्रदायकहरूबाट शिक्षा लिँदै तथा उनीहरूको सहकार्यमा नेपालका कुरियर सेवाप्रदायकहरूले आफ्नो सेवालाई विविधीकरण गर्नुपर्छ । सरकारले पनि यस क्षेत्रलाई व्यवस्थित गर्न नियमावली बनाउने तथा कार्यान्वयनमा सहयोग गर्नु आवश्यक छ । साथै, उस्तै सेवा प्रदान गर्ने सरकारी र निजी सेवाप्रदायकबीच सरकारले विभेद गरेको भन्ने निजी कम्पनीहरूको भनाइ उचित छ । त्यसैले सरकारले बजारका खेलाडीहरूबीच समानस्तरको खेल्ने मैदान (लेभल्ड प्लेइङ फिल्ड)को व्यवस्था गर्नुपर्छ ।

कुरियर सेवा चिठीपत्र तथा पासल एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनका लागि भरपर्दो तथा विश्वासिलो माध्यमका रूपमा रहेका छन् । हस्तकलाका सामग्री, थाङ्का, पश्मिनालगायत हल्का वस्तुहरूको निर्यातमा उनीहरूले पुर्याएको योगदानलाई सराहना गर्नै पर्छ । उनीहरूको छिटोछरितो, सुरक्षित, विशिष्टीकृत सेवा आदि कारणले यो सेवाप्रति सर्वसाधारणको विश्वास थियो र छ । यिनै कारणहरूले गर्दा साधारण हुलाक सेवाभन्दा यो फरक पनि छ । तर, पछिल्ला दिनमा इमेल तथा इण्टरनेटका माध्यमबाट प्रायः सबै किसिमका कागजपत्रहरू जस्ताको तस्तै क्षणभरमै विश्वको कुनै पनि कुनामा पठाउन सकिने भएपछि कुरियर सेवा केही खुम्चिएको पक्कै हो । तर, यसको अर्थ यो व्यवसायको क्षेत्र अब सकियो भन्ने होइन । विश्वका अन्य देशहरूमा कुरियर सेवाप्रदायकहरूले आफ्नै हवाईजहाजले समेत सेवा दिइरहेको सन्दर्भमा नेपाली कम्पनीहरूले पनि आफूलाई प्रविधिमा अभ्यस्त बनाई आफ्नो व्यवसायलाई विविधीकृत गर्नु आवश्यक छ । उनीहरूले त्यसअनुरूपका पूर्वाधारको विकासमा आफूलाई समर्पित बनाउन सक्नुपर्छ ।

कुरियर कम्पनीहरूले यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा रहेको र यसलाई हटाउनुपर्ने बताइरहेका छन् । ग्राहकले कम शुल्कमा गुणस्तरीय सेवा लिन पाइरहेका छन् भने त्यसलाई अस्वस्थ प्रतिस्पर्धा भन्न मिल्दैन । कम्पनीहरूबीच मूल्यभन्दा पनि गुणस्तरको प्रतिस्पर्धा हुनुलाई नराम्रो भन्न हुँदैन । तर, मूल्य घटाउने नाममा गुणस्तरमा सम्झौता गरिन्छ भने चाहिँ त्यसप्रति विचार गर्नैपर्ने हुन्छ । व्यवसायीहरूले अस्वस्थ प्रतिस्पर्धा भनेर नयाँ कम्पनीलाई यस क्षेत्रमा प्रवेश गर्नै नदिने खालको कुरा पो गरेका हुन् कि भन्ने पनि विचार गर्नु आवश्यक छ ।

सरकरले ८ वर्षअघि तयार पारेको कुरियर सेवा सञ्चालन नियमावली लागू नगरेकाले कुरियर सेवालाई नियमित र व्यवस्थित गर्न नसकिएको भनेर सेवाप्रदायकहरूले भनिरहेका छन् । वास्तवमा यो क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउनका लागि एउटा नियमको व्यवस्था आवश्यक पनि छ । त्यसैले सरकारले नियमावलीमा समयसापेक्ष परिवर्तन गरी तुरुन्त लागू गराउनुपर्छ । साथै, हुलाक सेवा विभागअन्तर्गतको एक्सप्रेस मेल सर्भिसलाई चाहिँ विदेश कुरियर पठाउँदा मूल्य अभिवृद्धि कर (भ्याट) नलिने तर निजी कम्पनीहरूसँग चाहिँ लिने सरकारको विभेदकारी नीतिको पनि व्यवसायीले विरोध गरेका छन् । वास्तवमा सरकारी र निजी कम्पनीलाई एउटै स्तरको व्यवहार गरिनुपर्ने उनीहरूको मागलाई सरकारले सम्बोधन गर्नुपर्छ । साथै, आन्तरिक हवाईसेवा कम्पनीहरूले अन्तरराष्ट्रिय मापदण्डविपरीत ग्राहकसँग प्रत्यक्ष सामान लिने गरेको र त्यो बन्द गर्नुपर्ने कुरियर सेवाप्रदायकको भनाइ उचित नै हो । विमानस्थलमा अलग्गै कुरियर काउण्टर बनाउनुपर्ने उनीहरूको मागलाई सरकारले सम्बोधन गर्नुपर्छ ।

अन्तरराष्ट्रिय क्षेत्रमा कुरियर सेवाको अत्यन्त ठूलो बजार छ । अमेरिकामा कुरियर उद्योगको आकार ५९ अर्ब डलरको छ । एकै दिनमा तथा दोस्रो दिनमा सामान भनेको ठाउँमा पुर्याइदिने कुरियर सेवा विश्वमा निकै लोकप्रिय छन् । डीएचएल, फेडेक्स, यूपीएसजस्ता कम्पनीहरूले विश्वव्यापी आकार ग्रहण गरेका छन् । नेपाली कुरियर कम्पनीहरूले पनि यहाँको स्थानीय बजारमा तिनीहरूसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । यस्तो अवस्थामा अन्तरराष्ट्रियजगत्मा जस्तै नेपालमा पनि यो पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै यसको विकास गर्नु यी कम्पनीहरूकै दायित्व हो ।

Admin 2011-05-31