कोल्ड भेनियरमा निर्यात शुल्क बढाऊ
प्लाइऊड उद्योगमा कच्चापदार्थका रूपमा प्रयोग हुने कोल्ड भेनियरको निर्यात तीव्र भएपछि नेपाली उद्यमीहरू चिन्तित बनेका छन् । गोलिया काठमा २ सय प्रतिशत निर्यात शुल्क लाग्ने तथा कोल्ड भेनियरमा जम्मा ७० प्रतिशत मात्रै भन्सार (धेरैजसो त काम नलाग्ने दाउराका रूपमा) लाग्ने भएकाले यसको निर्यात तीव्र बनेको हो । त्यसैले, स्वदेशी उद्योगको हितका लागि यी दुई वस्तुमा लाग्ने शुल्कमा सन्तुलन मिलाउनुपर्ने उनीहरूको माग उचित छ । स्वदेशमै कच्चापदार्थको माग भइरहेको अवस्थामा कोल्ड भेनियरको निकासीलाई निरुत्साहित गरिनुपर्छ । ५ अर्ब रूपैयाँ लगानी भइसकेको प्लाइऊड उद्योगको दीर्घकालीन हितका लागि तथा देशभित्र उत्पादित कच्चापदार्थलाई यहाँकै औद्योगिक विकासमा प्रयोग गर्नका लागि व्यवसायीका माग सम्बोधन हुनु जरूरी छ ।
कोल्ड भेनियर प्लाइऊड उद्योगमा प्रयोग हुने कच्चापदार्थ हो । रू. २५ लाख लगानी गरेपछि यसको उद्योग खोल्न सकिने व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित सबै कोल्ड भेनियर यहीँका उद्योगले खपत गर्न सक्ने उनीहरू बताउँछन् । तर, काम नलाग्ने दाउराका रूपमा अत्यन्तै कम निर्यात शुल्कमा भेनियर निर्यात भइरहेको छ । यसले नेपाली उद्योगहरू त धराशयी हुने सम्भावना छ नै, सरकारलाई पनि घाटा मात्रै भएको छ । जुन मूल्य राखेर कोल्ड भेनियरको निर्यात भइरहेको छ, त्यति नै मूल्य तिर्न आफूहरू तयार भएको प्लाइऊड उद्योगीहरूले बताइरहँदा यसको निर्यातलाई प्रोत्साहित गर्ने काम सरकारबाट हुनुहुँदैन ।
आयात तथा निर्यात हुने धेरै वस्तुमा लगाइएका यस्ता शुल्क छन्, जसले स्वदेशी उद्योगलाई निरुत्साहित गरिरहेका छन् । छपाइ उद्योगमा प्रयोग हुने कागज आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । तर, तयारी पुस्तक भने विनाभन्सार आयात हुँदै आएका छन् । यसबाट भारतीय प्रेसमा पुस्तक मुद्रण गरी ल्याउने क्रम तीव्र बनेको छ । कपडा उद्योगीहरूले कपासको धागो आयात गर्दा १० प्रतिशतसम्म भन्सार तिर्ने गरेका छन् । तर, भारतबाट आयात हुने आम नेपालीले प्रयोग गर्ने कोटीका अधिकांश कपडामा ५ प्रतिशतमात्र भन्सार लाग्दै आएको छ । तयारी जुत्ताको तुलनामा काँचो छालाको भन्सारदर केही त कम छ । तर, तयारी सामान निकै कम बिजकीकरण हुने कारण कम भन्सारमै आउने गरेका छन् । यस्तो प्रतिगामी भन्सारदरका कारण धेरै नेपाली उद्योगहरू धराशयी बन्ने अवस्थामा पुगेका छन् । प्लाइऊडको कच्चापदार्थ कोल्ड भेनियर निर्यातमा भने न्यून शुल्कका कारण नेपाली उद्योगहरू धराशयी बन्ने अवस्थामा पुगेका छन् ।
आयात हुने कच्चापदार्थमा अत्यधिक भन्सार तथा निर्यात हुनेमा न्यून शुल्क लगाइएका कारण नेपाली उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्ता वस्तुमा लाग्दै आएको प्रतिगामी भन्सारदर आपत्तिजनक हो । त्यस्तो किसिमको भन्सारदर अविलम्ब खारेज गरी रुग्ण अवस्थामा पुगेको नेपाली उद्योगलाई अविलम्ब त्राण दिन उद्यमी व्यवसायीहरूले गर्दै आएको माग उपयुक्त छ । त्यस्ता भन्सारदरले चीन र भारतजस्ता विश्वका ठूला अर्थतन्त्रको बीचमा भएको यो मुलुकको औद्योगिक विकासमा बाधा सृजना गरेको छ । तर, राष्ट्रिय हितको आडम्बर गर्ने र स्वाधीन अर्थतन्त्रको निर्माणको ढोङ रच्नेहरूले यस विषयमा ध्यान दिएका छैनन् । प्लाइऊडमा नेपाल आत्मनिर्भर भएको उद्योगीहरूले बताएका छन् । वास्तवमा आयात प्रतिस्थापन गर्नकै लागि आफूहरूले कम नाफा राखेर प्लाइऊड विक्री गरिरहेको उनीहरू बताउँछन् । वास्तवमा नेपाली औद्योगिक क्षेत्रमा यति ठूलो योगदान गर्ने प्लाइऊड उद्योगलाई प्रोत्साहन गर्नेतर्फ सरकारले तत्काल कदम चाल्नुपर्छ । यो उद्योगलाई देशभित्रको माग पूरा गरी निर्यातमूलक उद्योग बनाउनेतर्फलाग्नुपर्छ । त्यसका लागि उद्योगहरू बन्द गराउने खालको निर्यात शुल्क अविलम्ब खारेज गर्नुपर्छ ।
Admin 2011-09-04