ठूलाले सानाबाट सिक्नुपर्यो
साना कम्पनीको सङ्ख्या बढेकाले आफ्नो व्यापार घटेको भनेर ठूला ट्राभल एजेन्सीहरूले गुनासो गरेका छन् । तर, यो विषय ठूला र सानाको विभेदमा मात्र सीमित छैन । पछिल्लो समयमा प्रविधि र बजारको प्रवृत्तिमा आएको परिवर्तनका कारण ट्राभल एजेन्सीको व्यवसाय गर्ने शैलीमा पनि प्रभाव परेको छ । त्यसैले बढेको प्रतिस्पर्धालाई स्वीकार गरेर ठूला भनिएका ट्राभल एजेन्सीहरूले बजार र प्रविधिमा आएको परिवर्तनअनुरूप आफूलाई परिमार्जन गर्नु आवश्यक छ । साना ट्राभल एजेन्सीले व्यापार विस्तारमा गरिरहेको प्रविधि प्रयोगको शैलीबाट ठूलाले पनि सिक्नु राम्रो हुनेछ ।
बजारमा जति धेरै प्रतिस्पर्धीहरू आए, ग्राहकले त्यति धेरै सुविधा सरल दरमा पाउँछन् । तर, ठूला भनिएका ट्राभल एजेन्सीहरूले नयाँ प्रतिस्पर्धीका लागि बाटो छेक्नुपर्छ भन्ने खालका विचार व्यक्त गर्ने गरेका छन्, जुन उचित होइन । नयाँ ट्राभल एजेन्सी खोल्नका लागि धरौटी रकम रू. २५ लाख पुर्याउनुपर्छ भन्ने उनीहरूको भनाइ उचित होइन । यस क्षेत्रमा आउन चाहने थोरै पूँजी भएका व्यवसायीको बाटो छेक्ने र नयाँ प्रतिस्पर्धीलाई रोक्ने नियत यसमा रहेको छ ।
अहिले ट्राभल एजेन्सीहरूले अनलाइनमार्फत व्यापार गरिरहेका छन् । उनीहरूले पर्यटकलाई सस्तो र सरल सुविधा पनि दिइरहेका छन् । हवाई टिकट लिनका लागि निश्चित ठाउँमा पुग्नैपर्ने समस्याबाट सेवाग्राहीलाई मुक्ति दिलाउने काममा साना ट्राभल एजेन्सीले गरेको योगदान सकारात्मक छ । उनीहरूले सस्तो दरमा स्तरीय सेवा दिन्छन् भने ग्राहक ठूला ट्राभलतिर अवश्य पनि जाँदैनन् । ठूला ट्राभल एजेन्सीहरूको एकाधिकारको अवस्था हुँदा एउटा वैदेशिक हवाई टिकटमा २०-३० हजार रूपैयाँसम्म पनि नाफा राख्ने काम हुँदै आएको गुनासो सुनिने गरेको थियो । अहिले ट्राभल एजेन्सीको सङ्ख्या बढ्दै जाँदा ग्राहकले वास्तविक मूल्य थाहा पाउन थालेका छन् र उनीहरू ठगीबाट मुक्त हुन थालेका छन् ।
खुलाबजार अर्थतन्त्रमा जोसुकैले कानूनको अधीनमा रही जुनसुकै किसिमको व्यवसाय गर्न सक्छ र पाउँछ । बजारमा प्रतिस्पर्धाका आधारमा वस्तु तथा सेवाको मूल्य निर्धारण हुन्छ । प्रतिस्पर्धाका नाममा कसैले गैरकानूनी र अवैधानिक काम गरेको छ भने मात्र त्यो अस्वस्थ हुन्छ । तर, सानो आकारको फर्म भएमा अवैधानिक हुने नत्र नहुने भन्ने हुँदैन ।
ठूला व्यवसायीले आफूले कर तिरेको र सानाले नतिरेको भनिरहेका छन् । व्यवसायीबाट कर उठाउने जिम्मा सरकारको हो, यसमा अरूले चिन्ता लिनुपर्ने आवश्यकता नै छैन । अनलाइनमार्फत कारोबार गर्ने व्यवसायीलाई करको दायरामा ल्याउने आवश्यकता सरकारले महसूस गर्यो भने उसले त्यो त्याउँछ । साथै, यहाँ के पनि बिसन हुँदैन भने 'अरूलाई नलाग्ने कर मलाई मात्र किन ?’ भनेर प्रश्न उठाउने अधिकार कर तिरिरहेका व्यवसायीसँग सुरक्षित हुनुपर्छ ।
ट्राभल एजेन्सीहरूले भोलिका दिनमा अहिलेभन्दा अझ कडा चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ । अनलाइनमार्फत ग्राहकले सोझै जहाज कम्पनीबाट टिकट लिन सक्ने व्यवस्था अहिलेसम्म नेपालमा शुरू भएकै छैन । यस्तो व्यवस्था यहाँ पनि शुरू भयो भने ट्राभल एजेन्सीहरूले टिकट काट्नै नपर्ने अवस्था पनि आउन सक्छ । केही स्वेदेशी कम्पनीले एसएमएसमार्फत नै टिकट बूकिङ गर्न सकिने व्यवस्था गरिसकेका छन् । अन्तरराष्ट्रिय उडानमा पनि यस्तै किसिमका सरल प्रविधि भित्रिनेछन् । त्यसैले त्यस्ता चुनौतीको सामना गर्नका लागि पनि साना-ठूला सबै ट्राभल एजेन्सीहरू तयार हुनुपर्छ ।
सबै साना ट्राभल एजेन्सीहरूले राम्रो मात्रै गरिरहेका छन् भन्ने होइन । यस क्षेत्रमा पनि विकृतिहरू रहेका हुन सक्छन् । त्यसैले सबै किसिमका एजेन्सीहरूले गरेका कामको अनुगमन भने हुनुपर्छ । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रतिनिधिमूलक संस्था, पर्यटन बोर्ड वा पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विकास महाशाखाले पहल गर्नुपर्छ ।
ट्राभल एजेन्सीको सेवा भनेको सचेत वर्गले सचेत वर्गका लागि दिने सेवा हो । त्यसैले यस क्षेत्रमा खुलाबजार अर्थतन्त्रको स्थापित मान्यताअनुरूपको स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । अहिले ठूला व्यवसायीले अस्वस्थ भनेको चाहिँ वास्तवमा स्वस्थ प्रतिस्पर्धा हुन सक्छ । त्यसैले आफ्नो व्यक्तिगत स्वार्थ मात्र होइन, सेवाग्राही र समग्र क्षेत्रको स्वार्थलाई केन्द्रमा राखेर सबै ट्राभल एजेन्सीले काम गरे भने त्यसको समुच्च नाफा सबैले पाउने हो ।
Admin 2011-04-01