शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

समन्वयकारी भूमिका अपेक्षित
केही समयदेखि समस्याग्रस्त विकास बैङ्क क्षेत्रले शुक्रवारदेखि नयाँ नेतृत्व पाएको छ । नयाँ नेतृत्वको पहिलो काम विकास बैङ्क एवम् समग्र बैङ्किङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास पुन:स्थापित गर्नु नै हो । नियामक निकाय नेपाल राष्ट्र बैङ्कले विकास बैङ्कहरूको कुशल सञ्चालनका निम्ति आवश्यक बलियो नीति निर्माण गर्न सकेको छैन । यतिमात्र होइन, केन्द्रीय बैङ्ककै गैरजिम्मेवारीका कारण पछिल्लो समय केही विकास बैङ्कले निकै अप्ठेरो बेहोर्नुपर्यो । तैपनि नयाँ नेतृत्वले केन्द्रीय बैङ्कसँग समन्वयकारी भूमिका निर्वाह गर्नुको विकल्प छैन ।

सङ्घले आफ्नो पाँचौं साधारणसभाअगावै नेपाल राष्ट्र बैङ्कलाई आगामी मौद्रिक नीतिमा समावेश गर्न केही सुझावसमेत दिएको छ । यी सुझावलाई मौद्रिक नीतिमा समावेश गरिएको खण्डमा विकास बैङ्कहरूको सञ्चालनमा केही सहजता आउने विश्वास गर्न सकिन्छ । यसका अतिरिक्त सङ्घले सर्वसाधारणमा बैङ्किङबारे चेतना जागृत गर्नतिर पनि ध्यान पुर्याउनु जरुरी छ । अहिले कुनै एउटा वित्तीय संस्थामा समस्या उत्पन्न भएमा अर्को त्यस्तै संस्था खुशी हुने संस्कृतिको विकास भएको देखिएको छ । यसले समान काम गर्ने सहधर्मीहरूबीचको एकतालाई कमजोर बनाएको छ भने केन्द्रीय बैङ्कलाई अनावश्यक कदम चाल्न प्रोत्साहित गरेको छ । यसकारण बैङ्करहरूको एकतालाई पुन:स्थापित गर्न पनि सङ्घ अग्रसर हुनु आवश्यक छ । बदमाशी कुनै संस्थाले होइन, व्यक्तिले गर्ने हो भन्ने तथ्यलाई स्थापित गराएर बदमाशी गर्ने व्यक्तिलाई कारबाही गर्ने तर संस्था भने निरन्तर रहने सिद्धान्त स्थापित गराउनु पनि नयाँ नेतृत्वको अर्को र्
कर्तव्य हो ।

विकास बैङ्कहरूको मुख्य काम तथा वर्गीकरणबारे पनि राष्ट्र बैङ्क स्पष्ट नभएको आरोप सम्बद्ध बैङ्करहरूले लगाएका छन् । नाममुताविक विकासकार्यमा आर्थिक सहयोग गर्ने निकायजस्तो देखिएका विकास बैङ्कहरूलाई केन्द्रीय बैङ्कले सानो वाणिज्य बैङ्कका रूपमा परिभाषित गरेको छ । यसकारण पनि उनीहरू फैलन पाएका छैनन् । राष्ट्र बैङ्कले दिएको अधिकार, पालना गर्नुपर्ने नीतिनियम, संस्थागत सुशासनको प्रावधानहरू सबै श्रेणीका वित्तीय संस्थाका लागि समान नै छ । यसकारण पनि सङ्कट आउँदा एउटा श्रेणीको बैङ्क वा वित्तीय संस्थालाई आउने अन्यलाई नआउने भन्ने हुँदैन । पछिल्लोपटक गोर्खा विकास बैङ्क, नेपाल शेयर मार्केट्सलगायत अन्य केही फाइनान्समा एकैपटक समस्या आउँदा जनमानसमा नकारात्मक सन्देश गएको छ । ती संस्थाहरू किन समस्यामा परे ? त्यस्तो अवस्थामा केन्द्रीय बैङ्कले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? भन्नेबारे बैङ्करहरूको समान धारणा आउनु आवश्यक छ । समस्या आउनुको दोष कुनै एक संस्था वा व्यक्तिलाई दिएर पन्छने होइन, त्यसको समाधानमा सबैको समन्वयकारी भूमिका हुनुपर्छ ।

सङ्घको वर्तमान नेतृत्वमा अनुभवी तथा परिपक्व व्यक्तित्वहरूकै वर्चस्व छ । यसकारण पनि नयाँ नेतृत्वबाट सकारात्मक अपेक्षा गर्न सकिन्छ । तथापि, सम्पूर्ण विकास बैङ्कहरूबारे नीति निर्माण गर्दा होस् या कुनै एउटा संस्थालाई समस्या पर्दा एक भई अगाडि जान नसक्ने हो भने विकास बैङ्कहरूप्रतिको जनविश्वास अभिवृद्धि हुन त सक्दैन नै, साथै अहिलेको तरलता अभावलगायतका सङ्कटबाट पनि पार पाउन सकिँदैन ।

Admin 2011-07-03