शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लघुबीमा अर्थतन्त्रका लागि ऊर्जादायक हुन सक्छ
सरकारले चालू आर्थिक वर्षभित्र १० पहाडी जिल्लाहरूमा लघुबीमा कार्यक्रम लागू गर्ने भएको छ । न्यून आय भएका जनताले सामना गर्नुपर्ने विभिन्न जोखिम न्यून गरी उनीहरूको गरीबी निवारण गर्न तथा ग्रामीण क्षेत्रको विकास गर्न लघुबीमा निकै सहयोगी हुने गर्छ । त्यसो हुँदा देशभरिका सबै जिल्लामा लघुबीमा कार्यक्रमलाई विस्तार गर्नु आवश्यक छ । विद्यमान बीमा कम्पनीहरूको शाखा विस्तार देशका ६७ जिल्लामा पुगिसकेको तथा उनीहरूको सेवा ७५ ओटै जिल्लामा पुगेको सन्दर्भमा ग्रामीण क्षेत्रमा लघुबीमाका लागि उनीहरूलाई नै प्रयोग गर्नु प्रभावकारी हुन्छ । अझै पनि ९५ प्रतिशत जनतामा बीमाको पहुँच नपुगेको सन्दर्भमा बीमा कम्पनीहरूलाई आफ्नो क्षेत्र विस्तार गर्न पनि लघुबीमा उपयोगी हुन सक्छ । त्यसैले सीमित शहरी क्षेत्रमा मात्र केन्द्रित नभई बीमा कम्पनीहरूले लघुबीमा कार्यक्रम लिएर गाउँगाउँसम्म पुग्नुपर्छ । यसले बीमक तथा बीमित दुवैको हित त गर्ने छ नै, देशको आर्थिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ ।

देशमा जीवन र निर्जीवन गरी २५ ओटा बीमा कम्पनी छन् । उनीहरूको कार्यक्षेत्र विस्तारलाई हेर्ने हो भने ७५ ओटै जिल्लामा यी कम्पनी पुगेका छन् । तर, थोरै आय भएका जनतासम्म यी कम्पनीहरू पुगेका छैनन् । त्यसैले ग्रामीण  क्षेत्रका अत्यन्तै कम आय भएका मानिसहरूसम्म बीमा व्यवसायलाई पुर्याउनु आजको आवश्यकता हो । त्यसो हुनसक्दा ग्रामीण बासिन्दाको जोखिम न्यूनीकरण तथा आयस्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । बीमा कम्पनीहरूकै पनि व्यवसायको आकार र आयाम यसबाट वृद्धि हुनेछ । त्यसैले बीमा कम्पनीहरूले गाउँगाउँसम्म पुग्ने उत्साह देखाउनुपर्छ ।

लघुबीमा आर्थिक विकासको एउटा मेरुदण्ड नै हो । ग्रामीण क्षेत्रका अधिकांश मानिसहरूसँग जोखिम व्यवस्थापनका साधनहरूको पहुँच हुँदैन । यस्तो अवस्थामा उनीहरू अति नै जोखिमपूर्ण अवस्थामा हुन्छन् । उदाहरणका लागि एउटा गरीब परिवारको कमाउने मूल मान्छेको मृत्यु हुन गयो वा निकै खर्च गर्नुपर्ने गरी बिरामी भयो भने उसको परिवारले उच्च ब्याजदरमा ऋण लिनुपर्ने हुन्छ र कालान्तरमा त्यही घटनाले उक्त परिवारलाई ऋणग्रस्ततातिर लैजान्छ । त्यस्तो अवस्थाबाट ग्रामीण जनतालाई बचाउनका लागि लघुबीमा अत्यन्तै उपयोगी हुन्छ । साथै, बाली तथा पशुबीमा कृषिको व्यावसायीकरणका लागि अत्यन्त आवश्यक छ । यस्तो बीमाले खडेरी अथवा अन्य प्राकृतिक कारणबाट बाली उत्पादन भएन वा नष्ट भयो भने त्यसबाट सुरक्षा प्रदान गर्छ । त्यसैले जीवनबीमा, कृषि तथा पशुबीमा, स्वास्थ्यबीमा, सम्पत्तिबीमा, अग्निबीमाजस्ता कार्यक्रम ती क्षेत्रमा लैजानुपर्छ । यसले ग्रामीण क्षेत्रको विकासमा नयाँ आयाम प्रदान गरी अर्थतन्त्रलाई ऊर्जा प्रदान गर्न सक्छ ।

बीमा कम्पनीहरूले ग्रामीण क्षेत्रमा लघुबीमामार्फत बजार विस्तार गर्ने अपार सम्भावना छ । त्यसैले बीमा कम्पनीहरू शहरी क्षेत्र तथा बढी आयस्तर भएका मानिसहरूमा मात्रै सीमित हुनुहुँदैन । उनीहरू यस्तो खुद्राबजारमा पनि आउनुपर्छ । अल्पकालीन नाफाका दृष्टिले सीमित शहरी क्षेत्रमा खुम्चनु नै लाभप्रद होला । तर, यो व्यवसायको दीर्घकालीन हितका लागि यस्तै खुद्रा बजारमा नपुगी हुँदैन । त्यसैले यस क्षेत्रमा सृजनात्मक सोचका साथ बीमा कम्पनीहरू आउनुपर्छ । सरकार तथा नियामक निकायले बैङ्क तथा वित्तीय कम्पनीको जस्तै बीमा कम्पनीको पनि 'क’, 'ख’ वा 'ग’ स्तर निर्धारण गरी निश्चित वर्गका कम्पनीलाई लघुबीमाका क्षेत्रमा क्रियाशील गराउनु लाभदायी हुनेछ ।

Admin 2011-09-05