शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 15, 2012
  

सम्पादकीय


लुम्बिनी भ्रमण वर्ष २०१२


अपार सम्भावनाको ढोका



शनिवार लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक शुभारम्भ गरिएको छ । वास्तवमा विश्वमा ५० करोडभन्दा बढी बुद्ध धर्मावलम्बीहरूको पवित्र स्थान, भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी यस प्रकारको कार्यक्रम घोषणा हुनुको महइभ्व निकै हुन्छ । वास्तवमा यो वर्षलाई सफलताका साथ सम्पन्न गर्न सकियो भने त्यसले नेपालको पहिचान विश्वसमुदायमाझ पु¥याउन त सहयोग गर्छ नै, देशको आर्थिक विकासमा समेत त्यसले अहम् भूमिका निर्वाह गर्नेछ । लुम्बिनीलाई ईशाईहरूको भ्याटिकन सिटी र इस्लामहरूको मक्का मदिनाजस्तै गरी विकास गर्न सकियो भने यो नेपालको आर्थिक मेरुदण्ड बन्नेछ । तर, सरकारको फितलो तयारी, प्रचारप्रसारको अभाव तथा पर्यटन वर्ष २०११ को अनुभवका कसीमा हेर्दा लुम्बिनी वर्षलाई सफलतामा पु¥याउन निकै मेहनत गर्नुपर्छ ।


लुम्बिनीलाई देशको आर्थिक विकासको मेरुदण्ड बनाउने दिशातर्फ निकै पहिले सोचिएको भए, अहिले देशको मुहार अर्कै हुन सक्ने सम्भावना थियो । धार्मिक, प्राकृतिक तथा अन्य प्रकारका विशिष्ट विशेषतालाई उपयोग गरी धेरै देशले त्यसलाई पर्यटन विकासको खम्बा बनाएका छन् । भ्याटिकन सिटी, जर्मनीको कार्ल माक्र्सको जन्मघर, थाइल्याण्डको पताया टापु आदि यसका केही उदाहरण हुन् । तर, नेपालको लुम्बिनीलाई त्यसअनुरूप विकास गर्ने प्रयास हुन सकेन । यसपटक सरकारले लुम्बिनी वर्ष घोषणा गरेर त्यस कार्यको थालनी गरेको छ, जुन अति नै सकारात्मक छ ।


वास्तवमा लुम्बिनीको पहिचानलाई विश्वभर फैलाउन तथा त्यसलाई नेपालको ब्राण्ड बनाउन यसले महइभ्वपूर्ण योगदान दिनेछ । विश्वमा सबैभन्दा बढी बुद्ध धर्मावलम्बी भएका देशहरू चीन, जापान, थाइल्याण्ड, भियतनाम, म्यानमार, श्रीलङ्का, दक्षिण कोरिया, ताइवान, कम्बोडिया तथा भारत प्रायः सबै नै हाम्रा निकट छिमेकी मुलुक हुन् । यी देशमा लुम्बिनी वर्षका बारेमा पर्याप्त प्रचारप्रसार गर्न सक्ने हो भने त्यहा“बाट मात्रै आउने धार्मिक पर्यटकले लुम्बिनीको मात्रै होइन, नेपालकै आर्थिक विकासमा कायापलट ल्याउन सक्छ । भौगोलिक निकटताका हिसाबले पनि ती देशका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनी ल्याउन सजिलो छ ।


अझ ती देशमा हुने प्रचारप्रसारलाई सम्बन्धित देशकै सहयोगमा कम खर्चिलो बनाउन सकिन्छ । यदि यी देशमा रहेका नेपाली कूटनीतिक नियोगले बेलैमा यससम्बन्धी पहल गर्ने हो भने त्यसो गर्न सम्भव छ । होइन, पर्यटन वर्षको जस्तै समय घर्किइसकेपछि मात्रै प्रचारप्रसारका कार्यक्रम शुरू गर्ने हो भने यसबाट कुनै उपलब्धि हासिल हुन सक्दैन ।


सरकारले यो वर्षलाई सफल बनाउनका लागि बृहत्तर लुम्बिनी विकास राष्ट्रिय समिति गठन गरी त्यसको संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेको थियो । उनले यसै सिलसिलामा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनलाई भेटी लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको नेतृत्व उनलाई गराउन सहमत बनाएको बताइएको थियो । तर, लुम्बिनी भ्रमण वर्ष घोषणा कार्यक्रमसम्म आइपुग्दा अहिले त्यो प्रसङ्ग सेलाइसकेको छ । वास्तवमा बानको नेतृत्वको अन्तरराष्ट्रिय समिति कहिले बन्ने, त्यसमा कोको रहने भन्ने अहिलेसम्म पनि केही सार्वजनिक हुन सकेको छैन । लुम्बिनीको प्रवद्र्धनका लागि अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अभिनेता ज्याकी चेन, शाहरुख खान तथा रेखालाई सद्भावना दूत बनाइने स्वयम् संस्कृतिमन्त्रीले बताएका थिए । तर, त्यसबारे पछिल्ला दिनमा केही बोलिएको छैन । यी घटनाक्रमलाई नियालेर हेर्दा पर्यटन वर्षजस्तै देशभित्र धेरै हल्लाखल्ला हुने अनि पर्यटकको स्रोत देशमा यसबारे पत्तै नहुने स्थिति आउन सक्ने सम्भावना छ ।


लुम्बिनीको विकासमा एशिया–प्यासिफिक एक्सचेञ्ज कोअपरेशन (एपेक)जस्ता अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको नाम पनि नजोडिएको होइन । एपेकले केहीअघि लुम्बिनीमा ५ वर्षभित्रमा ५० लाख पर्यटक भियभयाउने योजनाका साथ ३ अर्ब अमेरिकी डलरको लुम्बिनी विकास योजना घोषणा पनि गरेको थियो । तर, देशभित्र र बाहिरबाट त्यस संस्थाको क्रियाकलापका बारेमा प्रश्न उठाइएपछि अहिले त्यो प्रसङ्ग चर्चामा छैन । हुन पनि लुम्बिनीजस्ता धार्मिक क्षेत्रको विकासका लागि यस्ता संस्थाहरूको सदासयता आफ्नो ठाउ“मा होला तर देशभित्रका सरकारलगायतका संस्थाहरू तथा जनताको प्रयासबाट लुम्बिनीको विकास गरिनुपर्छ ।


लुम्बिनीको व्यवस्थित विकास र प्रचारप्रसार गर्न सकियो भने यो शान्तिक्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ । लुम्बिनीमा देखिएको अपार सम्भावनालाई दोहन गर्नतिर सबैको ध्यान केन्द्रित हुने वातावरण यो लुम्बिनी वर्षले प्रदान गरोस् ।


शुभकामना ।