शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

'डयुटी फ्री’ पसलको विस्तार
नेशनल ट्रेडिङ लिमिटेडले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुनः 'डयुटी फ्री’ पसल सञ्चालन गर्ने भएको छ । विशेषगरी नेपाली स्थानीय र मौलिक उत्पादन विक्रीका लागि राख्ने गरी खोल्न लागिएका ती पसलहरूले त्यस्ता उत्पादनको प्रवर्द्धनमा त सहयोग गर्छ नै, नेपाल भित्रने पर्यटकलाई सहजता पनि प्रदान गर्नेछ । यस्ता पसल विमानस्थलमा केही मात्रामा खोलेर खासै ठूलो कारोबार हुँदैन, अन्य स्थल नाका शहरी क्षेत्रमा पनि स्थापना गर्नुपर्छ । तर, विशेषगरी विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा हुने यस्ता पसलहरूमा हुन सक्ने अनियमित व्यापार तथा सुरक्षाको कुरालाई भने विशेष ध्यानमा राख्नै पर्छ ।

विशेषगरी अन्तरराष्ट्रिय यात्रीहरूले विमानस्थलमा हुने यस्ता पसलहरूमा मदिरा तथा सूर्तिजन्य वस्तु, अत्तर, विभिन्न विलाशिताका वस्तु, चकलेट तथा अन्य कोसेलीका सामानहरू, गहनाहरू खरीद गर्ने सोच बनाएका हुन्छन् । किनभने त्यस्ता वस्तुमा बाहिर बढी कर लगाइएको हुन्छ । विश्वका प्रायः सबै देशहरूमा यस्ता 'डयुटी फ्री ’ पसलहरूमा यी वस्तु पाइन्छ । तर, नेपालमा मदिरा तथा सूर्तीजन्य पदार्थमा भन्सार छूटको व्यवस्था नगरिएको बहानामा ती वस्तु राख्न नदिइनु स्वाभाविक मान्न सकिँदैन । बरु नेपालमै उत्पादित उत्कृष्ट मदिरा तथा सूर्तिजन्य पदार्थ ती पसलहरूमा राख्ने व्यवस्था मिलाएमा स्वदेशी उत्पादनलाई विदेशीहरूमाझ सजिलै स्थापित गराउन सहयोग पुग्ने हुन्छ ।

नेपालमा डयुटी फ्री पसल सञ्चालनका सन्दर्भमा धेरै किसिमका विवाद हुने गरेका छन् । यस्ता पसल सञ्चालन गर्नका लागि अनुमति दिने सन्दर्भमा नै सरकारले सरकारी र निजी व्यवसायीहरूबीच विभेद गर्ने गरेको छ । सरकारी संस्थानलाई चाहिँ यस्ता पसल सञ्चालन गर्न दिने तर निजीलाई दिन आनाकानी गर्ने काम हुँदै आएको छ । यस्ता पसल सञ्चालनको अनुमति दिने क्रममा ठूलो रकमको लेनदेन हुने तथा राजनीतिक चलखेल हुने गरेको चर्चा यसअघि पनि हुने गरेको हो ।

प्रायः डयुटी फ्री पसलहरू अन्तरराष्ट्रिय विमानस्थल तथा बन्दरगाहहरूमा सञ्चालन हुने गर्छन् । यो विश्वमा निकै प्रचलित व्यवसाय हो । तर, नेपालमा संवेदनशील क्षेत्रमा हुने यस्ता पसलहरूबाट अनियमित व्यापार पनि हुने गरेको पटकपटक सुन्नमा आएको छ । राजस्व अनुसन्धान तथा भन्सार विभागले यस्ता पसलहरूमा बेलाबेलामा मार्ने छापाले यो कुरालाई पुष्टि गरेको छ । यसैक्रममा राजस्व र भन्सारले नेट्रेलिको पसलमा केही वर्षअघिछापा मारेको थियो । यसरी यस्ता पसलहरूबाट अनियमित व्यापार हुनु दण्डनीय हो, त्यसैले त्यस्ता क्रियाकलाप नगर्नका लागि व्यवसायी आफै जिम्मेवार हुनुपर्छ ।

अन्तरराष्ट्रिय विमानस्थल मात्र होइन, उत्तर-दक्षिणका सीमा नाका तथा अन्यत्र पनि यस्ता डयुटी फ्री पसलहरू खोल्ने तथा त्यहाँ नेपालका स्थानीय उत्पादनहरूलाई राख्ने गरियो भने त्यसबाट निकै फाइदा लिन सकिन्छ । अमेरिका र क्यानडाको स्थल सीमाक्षेत्र तथा जापान, थाइल्याण्ड, फिलिपिन्स, अष्ट्रेलियालगायतमा शहरी क्षेत्रमा यस किसिमका पसल सञ्चालनमा रहेका छन् । बरु ती पसलहरूमा छिर्नका लागि विदेशीले अनिवार्य रूपमा भिसा/पासपोर्ट देखाउनुपर्ने तथा देश छोड्नुभन्दा अघिको निश्चित समयमा मात्र सामान किन्न पाउने व्यवस्था गर्न सकिन्छ । उदाहरणका लागि फिलिपिन्समा यस्ता डयुटी फ्री मलमा प्रवेशका लागि अनिवार्य रूपमा पासपोर्ट देखाउनुपर्छ भने अष्ट्रेलियामा देश छोड्नुभन्दा ३० दिन बाँकी रहँदा मात्र यस्ता पसलमा खरीद गर्न पाइन्छ ।

वास्तवमा डयुटी फ्री पसलहरू अन्तरराष्ट्रिय विमानस्थल तथा बन्दरगाहहरूका लागि अत्यावश्यक सुविधाभित्रै पर्दछन् । विश्वका धेरै देशले यसबाट प्रशस्त फाइदा पनि लिएका छन् । दुबईलाई डयुटी फ्री अर्थतन्त्र भनिन्छ । नेपालले पनि डयुटी फ्री पसलहरूबाट प्रशस्त फाइदा लिन सक्छ । तर, त्यसो भनेर अन्तरराष्ट्रिय क्षेत्रमा रहने यस्ता पसलहरूले सृजना गर्ने सुरक्षाको सवाललाई पनि ध्यानमा राख्नुपर्छ । यस्ता पसलहरूबाट हुन सक्ने अनियमित व्यापारबारे सचेत रहँदै त्यसलाई प्रवर्द्धन गर्ने दिशातर्फ कदम चाल्नु उचित हुन्छ ।

Admin 2011-05-03