धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खालि भएको १० दिन भएको छ । तर, नयाँ अध्यक्षको नियुक्ति प्रक्रिया शुरू हुन सकेको छैन । यसरी एउटा नियमनकारी निकाय अध्यक्षविहीन हुँदा यसको दैनिक कार्यसञ्चालनमा त समस्या आउँछ नै, उसले नियमन गर्नुपर्ने संस्थाहरूमा पनि अराजकता बढ्न सक्छ । विगतमा नेपाल राष्ट्र बैङ्क गभर्नरविहीन हुँदाको अनुभवले पनि यस कुरालाई प्रमाणित गर्छ । त्यसैले तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरिनुपर्छ । बोर्डको तालुक अड्डा अर्थ मन्त्रालयमा भर्खरै नयाँ मन्त्री आएका छन् । उनको प्राथमिकतामा यो पर्नुपर्छ । यदि साँच्चै नै निष्पक्ष गर्न सक्ने हो भने खुला प्रतिस्पर्धाबाट नै बोर्डको अध्यक्ष नियुक्ति गरिनु राम्रो हो । तर, खुला प्रतिस्पर्धाका नाममा आफ्ना कार्यकर्ता भर्ना गर्नुभन्दा राजनीतिक नै भए पनि योग्य विशेषज्ञ व्यक्तिमध्येबाट छिटो नियुक्ति गर्नु उपयुक्त हुन्छ ।
धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ मा धितोपत्र बोर्डको प्रशासकीय प्रमुखका रूपमा काम गर्नका लागि नेपाल सरकारले अध्यक्षको नियुक्ति गर्ने प्रावधान छ । बोर्डको अध्यक्ष कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानूनी क्षेत्रमा कम्तीमा ७ वर्षकाम गरेको लब्धप्रतिष्ठत व्यक्तिलाई मात्रै नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ । यसरी अध्यक्ष नियुक्तिका लागि सिफारिश गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा एउटा समिति रहने ऐनमै उल्लेख छ । तर, राष्ट्रिय योजना आयोग अहिले सदस्यविहीन अवस्थामा छ । यस्तो अवस्थामा धितोपत्र बोर्डमा अध्यक्ष सिफारिश गर्ने समिति नै छैन । यस्तो अवस्थामा सरकारले तत्काल योजना आयोगलाई पूर्णता दिनुपर्छ । योजना आयोग उपाध्यक्ष र सदस्यविहीन हुँदा यो र यस्तै अन्य धेरै कामकारबाही प्रभावित हुन्छन् । देशको योजना तर्जुमा गर्ने केन्द्रीय निकायलाई पनि खालि राख्नु कुनै दृष्टिले उपयुक्त हुँदैन । नयाँ प्रधानमन्त्री तथा अर्थमन्त्री दुवै नियुक्त भइसकेको अवस्थामा योजना आयोगलाई तत्काल पूर्णता दिनु आवश्यक छ । यदि त्यसो गर्न नसकिने अवस्था छ भने वैकल्पिक व्यवस्था गरेर भए पनि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्नुपर्छ ।
नेपालको शेयरबजार अहिले अन्योलग्रस्त अवस्थामा छ । केही समयअघि सुधारोन्मुख शेयरबजार नयाँ सरकार बनेपछि त निरन्तरजस्तै घटिरहेको छ । यस्तो अवस्थामा पूँजीबजारको विकास गर्न र धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आवश्यक कार्य गर्ने बोर्डका अध्यक्षको ऐनमै घोषित कर्तव्य हो । धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउने काम पनि अध्यक्षले गर्नुपर्छ । तर, धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा यी कामहरू हुन सकेका छैनन् । हुन त अहिले पनि त्यहाँ अध्यक्षबाहेकको सञ्चालक समिति छ, कर्मचारीहरू छन् । तर, अध्यक्ष नहुँदा उनीहरूको काम 'मियोविनाको दाइँ’ हुने सम्भावना हुन्छ ।
धितोपत्र बोर्डको अध्यक्ष प्रतिस्पर्धाका आधारमा गर्ने चर्चा पनि चलेको छ । साँच्चै स्वच्छ प्रतिस्पर्धा हुने हो र सक्षम व्यक्ति नियुक्त हुने हो भने त्यसो गर्नु सकारात्मक नै हुनेछ । तर, नेपाल विद्युत् प्राधिकरणको जस्तो प्रतिस्पर्धाका लागि मात्रै प्रतिस्पर्धा गराउने हो भने त्यसको कुनै अर्थ छैन । त्यसो गर्नुको सट्टा यस क्षेत्रमा विशेषज्ञता हासिल गरेको र प्रतिष्ठा कमाएको विशेषज्ञ व्यक्ति नियुक्त गर्नु उत्तम हुन्छ । प्रक्रिया जे अपनाए पनि बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्नु अहिलेको आवश्यकता हो । एउटा नियमनकारी निकायलाई नेतृत्वविहीन राख्नु हुँदैन ।
Admin 2011-09-06