चिकित्सकको दायित्व बीमा अनिवार्य हुनुपर्छ
सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू कार्यालय समयमा निजी क्लिनिक तथा अस्पतालामा गएर काम गर्ने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले अनुगमन थालेको छ । अर्कातिर एउटा रोग लागेको बिरामीको अर्कै किसिमको शल्यक्रिया हुने, अन्य औषधि प्रयोग गरेर बिरामीको ज्यान जानेजस्ता समस्या पनि बाक्लै देखिन थालेका छन् । यसले नेपालको सरकारी, निजी तथा अन्य कुनै पनि प्रकारको स्वास्थ्य सेवाप्रति सशङ्कित हुनुपर्ने स्थितिको सृजना गरेको छ । वास्तवमा मानवस्वास्थ्य र जीवनसँग नै गम्भीर रूपले चुनौतीका रूपमा देखा परेका यस्ता समस्याको भित्री कारण खोतलेर त्यहीअनुसारको समाधानको उपाय खोजिनु आवश्यक देखिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका यी समस्याका केही कारणमा चिकित्सकहरूको कम उपलब्धता, मह“गो तर कम गुणस्तरको स्वास्थ्य शिक्षा तथा चिकित्सकलाई उत्तरदायी बनाउने नियमकानूनको कमजोर कार्यान्वयन हुन् ।
नेपालमा मेडिकल पढाइ अति नै मह“गो छ । शिक्षा मन्त्रालयले छात्रवृत्ति दिने तथा त्रिभुवन विश्वविद्यालयले पढाउने सीमित सङ्ख्याबाहेक नेपालमा एमबीबीएस कोर्स पूरा गर्नका लागि कम्तीमा ३० लाख रूपैया“ खर्च गर्नुपर्छ । त्यो वास्तविक भन्दा पनि जबर्जस्ती बढाइएको शुल्क हो भनेर स्वयम् त्यस क्षेत्रका जानकारहरू बताउँछन् । पढ्नकै लागि त्यति धेरै खर्च गर्नुपरेपछि निश्चित रूपमा मेडिकल अध्ययन गर्नेहरू कम छन्, फलस्वरूप नेपालमा चिकित्सकहरूको सङ्ख्या अति नै कम छ । त्यसैले सरकारी सेवामा रहेका चिकित्सकहरू आफ्नो कार्यालय समयमा समेत निजी अस्पताल तथा क्लिनिकहरूमा जाने गरेका छन् । यसरी गैरकानूनी काम गर्ने चिकित्सकहरूलाई सरकारले सेवाबाट बर्खास्त गर्न पनि सक्छ । तर, सङ्ख्या नै कम भएकाले त्यसो गर्नु सम्भव छैन । अर्कातिर अध्ययनकै लागि उच्च लगानी गरेका चिकित्सकहरू त्यो लगानी उठाउन पनि निजी अस्पताल तथा क्लिनिकतिर धाउन बाध्य भइरहेका छन् । अर्कातिर, चिकित्सा अध्ययन निकै मह“गो भएपछि क्षमतावानले भन्दा पनि पैसावालले पढ्ने विषय यो बनेको छ । त्यसैले नेपालमा अध्ययन सकेका चिकित्सकहरूको क्षमतामाथि प्रश्न उठाउन सक्ने प्रशस्त ठाउँ छ ।
बिरामीको उपचारका सिलसिलामा चिकित्सकबाट भएका लापरबाही वा गल्तीका समाचारहरू पनि बाक्लै सुनिन थालेका छन् । वास्तवमा चिकित्सकहरूलाई जिम्मेवार र उत्तरदायी बनाउने किसिमका कानूनी व्यवस्थाहरू कडाइका साथ कार्यान्वयन हुन नसक्नुको परिणाम यस्ता समस्या बढेका छन् । निश्चित रूपमा चिकित्सक भगवान् होइन र उसले उपचार गरेका हरेक बिरामी बाँच्छन् नै भन्न सकिन्न । तर, उसको असावधानी तथा लापरबाहीका कारण बिरामीको मृत्यु भयो वा अन्य कुनै प्रकारको क्षति भयो भने त्यसबापत चिकित्सकलाई सजायको भागी बनाउनुपर्छ । तर, यहाँ त्यस्तो बनाउन सकिएको छैन । लापरबाही गर्ने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले प्रमाणपत्र खारेज गर्न सक्नेसम्मको कारबाही गर्न सक्छ । तर, त्यो त्यति धेरै प्रभावकारी हुन सकेको छैन ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ ले स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्नु तथा स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा यस्तै अन्य कुनै कार्य गर्नुलाई कानूनतः दण्डनीय बनाएको छ । तर, यी व्यवहारहरू नहुनका स्वास्थ्यकर्मीको कमजोरी वा लापरबाहीका कारण कुनै बिरामीलाई क्षति हुन गएमा त्यसबापतको क्षतिपूर्ति पाउने व्यवस्था गर्नुपर्छ । चिकित्सकको पेशागत दायित्वको बीमा तथा नागरिकको स्वास्थ्य बीमा त्यो समस्याको समाधान हुन सक्छ । नेपालमा पनि केही हदसम्म पेशागत दायित्व बीमा शुरू भएको छ । तर, यातायात क्षेत्रमा तेस्रो पक्ष बीमाजस्तै यो बीमालाई पनि अनिवार्य गरिनु आवश्यक छ । विकसित देशहरूमा यससम्बन्धी व्यवस्था प्रचलित छ । यसो गरियो भने चिकित्सकबाट भुलवश भएको गल्तीबाट हुने क्षतिको पूर्ति बीमा कम्पनीले गरिदिन्छ । लापरबाही भएको रहेछ भने चिकित्सक स्वयम्लाई बीमा कम्पनीले त्यो तिराउँछ । त्यसो गर्न सकियो भने कुनै सरकारी निकायले चिकित्सकको अनुगमन नै गर्नुपर्दैन, आफै अनुगमन हुन्छ । बाहिर भएका व्यवस्थाहरू यहाँ अपनाइयो भने मात्र पनि धेरै सुधार गर्न सकिन्छ ।