व्यवसायीहरू राजनीतिलाई नगुहार !
नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्नो मत सुरक्षित गर्नका लागि राजनीतिक दलका नेताहरूलाई पनि प्रयोग गर्न थालेको समाचार आएको छ । यसले नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व चयनमा राजनीतिक रङ पोतिने सम्भावना बढेको छ । अहिलेसम्म व्यवसायीहरूमा प्रत्यक्ष रूपले नदेखिएको राजनीतिक ध्रुवीकरण उद्योग वाणिज्य महासङ्घको नेतृत्व चयनमा देखिनु निश्चय पनि दुःखपूर्ण छ । यदि महासङ्घको निर्वाचन राजनीतिक आधारमा भयो भने त्यसले यो संस्थामा विभाजनको बीउ त रोप्ने नै छ, यसले आफ्नो औचित्य र साख पनि गुमाउनेछ ।
देशभरिका उद्योगी-व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा नेउवा महासङ्घले बलियो छवि बनाएको छ । कुनै पनि राजनीतिक दलसम्बद्ध भएर वा प्रभावमा परेर त्यो छवि निर्माण भएको होइन । देशको निजीक्षेत्रको हितका लागि अनवरत रूपमा लागेकैले यसले देशभरिका उद्योगी-व्यवसायीहरूको विश्वास जित्न सफल भएको हो । महासङ्घले आर्जन गरेको यो साखलाई अबको नेतृत्वले पनि जोगाउनुपर्छ । त्यसैले अहिलेका उम्मेदवारहरूले एकपटक चुनाव जित्नैका लागि महासङ्घले कमाएको साख दाउमा राख्ने काम गर्नु हुँदैन ।
निजीक्षेत्रले राजनीतिका कारण देशको औद्योगिक वातावरण बिग्रेको भनेर आरोप लगाउने गरेको छ । विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनका कारण उब्जेका विभिन्न किसिमका झमेलाले उद्योग-व्यवसायक्षेत्र प्रताडित छ । राजनीतिकरणका कारण औद्योगिक वातावरण बिग्रेको भन्ने अनि आफै राजनीतिको लिस्नो चढेर नेतृत्वमा पुग्ने प्रयास मूर्खतापूर्ण हो । देशमा औद्योगिक वातावरण बनाउनका लागि अग्रणी भूमिका खेल्नुपर्ने नेउवा महासङ्घलाई एउटा राजनीतिक दलको भ्रातृ सङ्गठन बनाउने काम कसैले पनि गर्नु हुँदैन ।
नेउवा महासङ्घ स्वस्थ र स्वच्छ निर्वाचन प्रणालीमा विश्वास गर्ने उद्योगी-व्यवसायीहरूको संस्था हुनुपर्छ । त्यसैले यसको निर्वाचनमा पनि योग्यता, क्षमता र भावी योजनाका आधारमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनुपर्छ । यो संस्थालाई अझ बलियो बनाउनका लागि पनि निर्वाचनमा कसैले अनावश्यक आग्रह पूर्वाग्रह लिनु हुँदैन । आवश्यक क्षमता र योग्यता भएका व्यक्तिहरूले नेतृत्व तहमा पुग्न खोज्नुलाई अस्वाभाविक रूपमा लिनु पनि हुँदैन । अहिले अध्यक्षका दुवै उम्मेदवार महासङ्घको नेतृत्व तहमा लामो समय काम गरेका छन् । उनीहरू निश्चय पनि महासङ्घलाई बलियो बनाउनका लागि जिम्मेवार ढङ्गले प्रस्तुत हुनेछन् भन्ने आशा गर्न सकिन्छ । विगतमा निर्वाचनमा भएको तिक्तताकै कारण महासङ्घमा फुटको स्थितिसम्म आएको कुरा दुवै उम्मेदवारले बुझेको हुनुपर्छ । तर, अहिले जुन रूपमा चुनावमा राजनीतिक रङ लाग्न थालेको सार्वजनिक भएको छ, त्यसले भने प्रतिस्पर्धा स्वस्थ हुनेमा आशङ्का उत्पन्न भएको छ । महासङ्घभित्र राजनीतिक वाद प्रवेश गरे यो संस्था पनि यो वा त्यो राजनीतिक दलको हतियार मात्र बन्ने निश्चित छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व सहमतिमा चयन गर्नसकेको भए त्यो सबैभन्दा राम्रो हुन्थ्यो । अहिले दुवै पक्षका उम्मेदवारहरूले मनोनयन गरिसकेको अवस्था छ । तर पनि, अहिलेको जिम्मेवार नेतृत्व र पूर्वाध्यक्षहरूले सहमति निर्माणका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय छ । यद्यपि, एउटै पदका लागि एकभन्दा बढी व्यक्तिले दाबी नछोडेको अवस्थामा चुनावलाई टार्न सकिँदैन । प्रजातान्त्रिक प्रणालीको उत्तम विधि निर्वाचन हुनुलाई नराम्रो पनि मान्नु हुँदैन । विगतमा पनि महासङ्घमा निर्वाचनकै माध्यमबाट नेतृत्व चयन हुने गरेको हो । तर, त्यो चुनाव राजनीतिक विचार वा दलको पक्ष बनेर लड्नु हुँदै हुँदैन । चुनावमा कसैको जीत वा हार त अवश्य नै हुन्छ । त्यसलाई दुवै पक्षले स्वाभाविक रूपमा लिनुपर्छ । तर, राजनीतिक छाता ओढेर चुनाव लड्ने हो भने त्यसरी आउने नेतृत्वले एउटा राजनीतिक दलको समग्र हित त हेर्नसक्ला तर उद्योग-व्यवसाय क्षेत्रको हित पहिल्याउन सक्दैन । निर्वाचनमा जिम्मेवार रूपमा प्रस्तुत भई आएको परिणामलाई 'स्पोर्टसम्यानशिप’ देखाएर स्वीकार गर्दा नै महासङ्घको एकता बलियो हुन्छ, कुनै दलको छातामुनि बसेर हुँदैन ।
Admin 2011-04-05