शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

रेलमा रेला नगरौं
नेपालको एकमात्र रेलसेवा 'नेपाल रेल्वे’ वार्षिक १ करोड ६८ लाख रुपैयाँ घाटामा सञ्चालन भइरहेको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म ७० वर्षभन्दा पुरानो 'न्यारो गेज’ रेल सञ्चालन गरिरहेको रेल्वेको दैनिक खर्च आम्दानीभन्दा दोब्बर हुने गरेको छ । यसरी करोडौं घाटा खाएर रेल सञ्चालन गरिरहनुको औचित्य नेपालमा पनि रेल छ है भनेर देखाउनुबाहेक हुन सकेको छैन । लामो दूरीको स्थलयात्राका लागि रेलसेवा विश्वमा एकमात्र विकल्पका रूपमा विकास भइरहेको अवस्थामा नेपालमा यसलाई बन्द गरिनुपर्छ भन्न त नहुने हो । तर, रुग्ण अवस्थामा पुगेको र दूरीका हिसाबले खुम्चँदै गएको नेपालको रेलसेवा यही अवस्थामा सञ्चालन गरिरहनुभन्दा बन्द गर्नु नै उपयुक्त हुन्छ ।

पञ्चायत कालसम्म भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म रेल सञ्चालनमा थियो । जनकपुर-जयनगर रेलवे पनि केही वर्षअघिसम्म महोत्तरीको बिजलपुरासम्म फैलिएको थियो । तर, अहिले रक्सौल-अमलेखगञ्ज रेलसेवा पूर्णरूपमा बन्द अवस्थामा छ । जयनगर-जनकपुर-बिजलपुरा रेलसेवाको जम्मा ५१ किलोमिटरमध्ये जनकपुरदेखि जयनगरसम्म जम्मा २९ किलोमिटरमा मात्र रेल चलिरहेको छ । यसो हुँदा रेलसेवाका पूर्वाधारहरू नाशिने तथा चोरिने भएका छन् । नाशिन र चोरिन नसक्ने अचल सम्पत्तिको वस्तुस्थिति अतिक्रमणको स्तरमा पुगेको छ । भारतको रक्सौलमा रहेको अर्बौं मूल्यबराबरको नेपाल रेल्वेको १२ बिगाहा जग्गा अतिक्रमण भइरहेको छ । त्यही हालत नेपालभित्रै रहेका सम्पत्तिको छ । तर, उसले पूर्वाधार संरक्षण गर्ने, सम्पत्तिको सदुपयोग गर्ने तथा रेलसेवालाई व्यवस्थित गर्नेतर्फकुनै काम गर्न सकेको छैन । त्यसैले राजनीतिक भर्तीकेन्द्र बनेको रेल्वे कम्पनीलाई यातायातमन्त्रीका कार्यकर्तालाई जागीर खुवाउने थलो बनाइराख्नुको औचित्य छैन ।

नेपालमा पूर्व-पश्चिम विद्युतीय रेलसेवाको अध्ययन भइरहेको छ । अहिले जनकपुरसम्म सञ्चालन भइरहेको रेलसेवालाई महोत्तरीको बर्दीबास विस्तार गर्नका लागि पनि सर्वेक्षणको काम भइरहेको छ । भविष्यमा नेपालमा रेलसेवा विकासको आवश्यकता पर्छ नै । त्यसैले हाल सञ्चालनमा रहेको रेलसेवालाई व्यवस्थित पार्दै भविष्यमा यसको विकासको आधार तयार पार्नुपर्ने हो । त्यसका लागि अहिले भएको 'न्यारो गेज’लाई 'ब्रोड गेज’ बनाउने र त्यहीअनुसार पूर्वाधारको विकास हुनुपर्छ । र, यही आधारमा टेकेर नेपालको रेलसेवा विकासको दीर्घकालीन बाटो तय गर्नुपर्छ । तर, नेपाल रेल्वे कम्पनीको वर्तमान अवस्था र उसको कार्यशैलीका कारण त्यसो हुने सम्भावना अत्यन्त न्यून छ ।

अहिले नेपालको रेल्वे सम्बन्धमा दुईओटा विकल्प छन्- बन्द गर्ने वा राम्रोसँग चलाउने । यसलाई बन्द गर्दा भएको एउटामात्र रेल पनि बन्द भयो भनेर नराम्रो सन्देश जाने सरकारी अधिकारीहरूको धारणा छ । त्यहाँका स्थानीय जनतालाई पनि विकल्पका रूपमा अन्य यातायातका साधन उपलब्ध छैनन् । नयाँ रेलवे निर्माणको अध्ययन भइरहेको अहिलेको अवस्थामा यसलाई बन्द गर्नुभन्दा राम्रोसँग चलाउनु नै उत्तम हुन्छ । तर, त्यसो हुने अवस्था छैन ।

नेपाल रेल्वे कम्पनीसँग हाल पनि नेपाल र भारतका विभिन्न स्थानमा अर्बौं रुपैयाँबराबरको अचल सम्पत्ति छ । तर, रेलसेवा निरन्तर घाटामा सञ्चालन भइरहेको छ । अर्बौंको सम्पत्ति सडेर जाने तर रेलसेवा घाटामा सञ्चालन भइरहने विरोधाभासपूर्ण स्थितिको अन्त्यका लागि सरकारले पनि ध्यान दिनुपर्छ । रेल्वे कम्पनीले पनि सरकारसँग सहयोगका लागि हारगुहार गर्नुको साटो आफ्नै स्रोतको परिचालन गर्नेतर्फ लाग्नुपर्छ । तर, त्यहाँ व्यावसायिक नेतृत्व नभएसम्म त्यसो हुने अवस्था छैन ।
Admin 2011-06-05