सम्पादकीय
लगानी वर्ष र नेप्सेको सङ्केत
झण्डै ८ महीना पहिले ६ वर्षकै न्यून तहमा पुगेर फर्केको नेपाली शेयरको दोस्रो बजार परिसूचक ‘नेप्से’ लगभग ३ महीनादेखि स्थिरजस्तै छ । यसले शेयरबजारमा नयाँ लगानीकर्ता थपिनु त परै जाओस् भएका लगानीकर्ता पनि पलायन हुन थालेका छन् । कुनै पनि बजारको प्रमुख आधार लगानीकर्ताहरूको मनोबल हो । शेयरबजार पनि लगानीकर्ताको मनोबलमा नै टिकेको हुन्छ ।
अहिले नेपाली लगानीकर्ताको मनोबल निकै कमजोर हुन पुगेको छ । मुलुकको आर्थिक अवस्था र कम्पनीको वित्तीय अवस्था उस्तै स्थितिमा हुँदा कुनै समय रू. ७ हजारसम्ममा बिकेको शेयर अहिले १ हजारमा पनि किन्ने मान्छे नपाउनुले यही पुष्टि गर्छ ।
अधिकांश प्राविधिक विश्लेषणले बढ्ने सङ्केत गर्दा पनि लगानीकर्ताको मनोबल अत्यन्तै घटेकाले शेयरबजारमा सुधार आउन सकेको छैन । यसरी लगानीकर्ताको मनोबल खस्कनुमा सबैभन्दा बढी जिम्मेवार राजनीतिक अस्थिरता र सत्तारूढ पार्टीको आर्थिक दर्शन हो । हुन त प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न जुनसुकै उपाय (स्वदेशी वा विदेशी)बाट भए पनि पुँजी निर्माण गर्नुपर्ने बताएका छन् ।
त्यसका लागि आफुले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनको भनाइ छ । तर, उनको पार्टी एनेकपा माओवादीको भनाइ र गराइमा ठीक उल्टो हुने गरेकाले डा. भट्टराईको आश्वासनले लगानीकर्ताको मनोबल बढाउन सकेको छैन ।
लगानीकर्ताको मनोबल बढ्न नसक्नुको अर्को कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से र नेपाल धितोपत्र बोर्ड (सेबोन)जस्ता निकायको प्रमुखमा यो बजारको ज्ञान नै नभएका व्यक्तिको नियुक्ति हुनु पनि हो । खुला प्रतिस्पर्धाको नाटक गरे पनि नेप्से तथा सेबोन अध्यक्ष राजनीतिक आस्थाका आधारमा एनेकपा माओवादी निकट व्यक्तिहरूको नियुक्ति भएको छ ।
शेयरबजारका आधारभूत समस्याहरूको वास्तविक जानकारी नभएको तथा माउ पार्टीको दर्शनका कारण उनीहरूको व्यवहार तथा अभिव्यक्तिबाट लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन् । उनीहरू बजारको वास्तविक समस्या समाधान गर्नुको सट्टा जसरी हुन्छ, नेप्से परिसूचक बढाउनु पर्यो भनेर असान्दर्भिक र अपरिपक्व निर्णयहरू गर्नमा नै व्यस्त छन् । यस्ता गतिविधिले समस्या समाधानमा सहयोग पुर्याउनुको सट्टा झन् बल्झाउँदै लगेको छ ।
यस्तै कारणले शेयरबजार आधुनिकीकरण र विस्तारका कार्यक्रमहरू ओझेलमा परेका छन् । सेबोनका अध्यक्षले पटकपटक सरकारी स्वामित्वका संस्थानलाई शेयरबजारमा लगानी गर्न लगाउने बताउँदै आएका छन् । कुनै फरक अवस्थामा फरक उद्देश्यका लागि स्थापना भएर सामान्य बचतकर्ताबाट सङ्कलन गरेको पुँजी जोखिमयुक्त दोस्रो बजारमा लगानी गर्न लगाउनु कत्तिको जायज हो, बहसको विषय बन्न सक्छ ।
तर, त्यसको सट्टा लामो समयदेखि त्यत्तिकै अल्झिएका सामूहिक लगानी कोष, साख मूल्याङ्कन संस्था स्थापना र सञ्चालनको वातावरण बनाउनतिर ध्यान जानुपर्छ । त्यसैगरी, गैरआवासीय नेपालीहरूले शेयरबजारमा लगानी सक्ने भनिए पनि सोसम्बन्धी स्पष्ट नियम बन्न सकेको छैन ।
६ महीना पहिला नै पूर्वाधार तयार भइसकेको केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) पनि नीतिगत तथा प्रक्रियागत ढिलाइका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यसलाई गम्भीर रूपमा लिएर सीडीएसलाई काराबोर शुरू गर्ने वातावरण बनाउन सके पनि शेयरबजारका साथै लगानीकर्ताहरूको मनोबलमा केही सुधार आउन सक्छ । कारण जेजस्ता भए पनि अर्थतन्त्रको ऐना मानिने शेयरबजार लामो समयसम्म निष्क्रिय (डेडलक) रहनु कुनै पनि अवस्थामा राम्रो होइन ।
यसले अन्तरराष्ट्रियजगत्मा नेपालका बारेमा गतिलो सन्देश जाँदैन । नेपालमा नयाँ भए पनि अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरूमा कुनै देशमा व्यवसाय वा लगानी गर्दा सबैभन्दा पहिला त्यहाँको पुँजी बजार अध्ययन गर्ने बानी परिसकेको छ ।
त्यसैले दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न ६ महीनामा १ अर्ब अमेरिकी डलर विदेशी लगानी भित्रयाउने प्रधानमन्त्रीको योजना सफल पार्न पनि नेप्सेमा सुधार जरुरी छ । त्यसैगरी, सरकारले घोषणा गरेको लगानी वर्ष २०१२÷१३ सफल पार्नका लागि पनि शेयर बजारको सुधार अपरिहार्य छ ।
नेप्सेको अवस्था यस्तै रहेमा पुँजीबजारको विश्लेषण गरेर मात्र लगानीको निर्णय गर्ने बानी परेका विदेशी लगानीकर्ताहरू सजिलै नेपाल आउने सम्भावना कम छ । यो वास्तविकतालाई आधार मानेर प्रस्तावित लगानी वर्ष सफल पार्ने हो भने अहिलेदेखि नै शेयरबजारको सुधारमा सबै सरोकारवालाहरूबाट पहल हुनु जरुरी छ ।