शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कामदार अभावको अर्को पाटो
सुदूरपश्चिम क्षेत्रमा जुत्ताचप्पल उद्योगमा कामदारको अभाव भएको सामाचार आएको छ । वास्तवमा यो समस्या त्यहाँको मात्र होइन । देशभरका ठूला-साना सबै जुत्ताचप्पल उद्योगले दक्ष कालीगढको समस्या बेहोरिरहेका छन् । यस्तै समस्या सिलाइ, फलाम तथा छड, जुट, इँटालगायतका उद्योगहरूले भोगिरहेका छन् । यसो हुनुको प्रमुख कारण भनेको सम्बन्धित क्षेत्रमा शीप भएका जनशक्ति त्यसबाट विमुख हुनु नै हो । अर्को कुरा यस्ता उद्योगहरूमा काम गर्ने कामदारलाई उचित पारिश्रमिक नदिइने कारणले पनि यस्तो हुने गरेको छ । अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार मजदूर अभाव भएका क्षेत्रमा उनीहरूको वास्तविक ज्याला बढ्नुपर्छ । यो तथ्यलाई उद्योगीहरूले आत्मसात् गरी विदेशमा हुने कमाइ यहीँ दिने वातावरण बन्ने हो भने उद्योगहरूले कामदार अभावको समस्याबाट मुक्ति पाउन सक्छन् । त्यसो हुन सक्दा परम्परागत पेशाबाट विमुख भएका व्यक्तिहरूले पुन: त्यही पेशा अँगाल्ने सम्भावना पनि हुन्छ । अथवा अर्को विकल्प खोज्ने हो भने श्रमलाई विस्थापित गर्ने खालको यन्त्रीकरणमा जानुपर्छ । केही ठूला उद्योगहरूले यस्तो गर्न थालिसकेका छन् ।

यहाँ उचित मात्रामा पारिश्रमिक नपाएपछि त्यस्ता कामदार विदेश पलायन भइरहेका छन् । तर, विदेशमा पनि उनीहरूले मासिक औसत १०-१२ हजार नेपाली रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने गरेका छैनन् । किनभने उनीहरूसँग आधुनिक शीप खासै छैन । विदेशमा पाउने त्यति पारिश्रमिक यहीँ दिने हो भने त्यो श्रमशक्ति यहीँ बस्ने सम्भावना हुन्छ । अर्थशास्त्रको सामान्य सिद्धान्तले भन्ने पनि यही हो- कुनै कुराको कम आपूर्ति हुन्छ भने जसले त्यस कुराको बढी मूल्य तिर्छ उसैले त्यसको आपूर्ति पाउँछ । त्यहाँ उनीहरूको ज्याला बढ्छ । त्यसैले मजदूरको अभाव भयो भन्दै रोइकराइ गर्नुभन्दा व्यवसायीहरूले केही बढी पारिश्रमिक दिएर उनीहरूलाई काममा लगाइरहने वातावरण बनाउनुपर्छ वा यन्त्रीकरणमा जानुपर्छ । मूल्यवृद्धिको तुलनामा कामदारको ज्याला बढाउने तथा उनीहरूलाई थप सेवासुविधा जस्तै : महँगी भत्ता, घरभाडा, स्वास्थ्य बीमा, रोजगारीको स्थायित्व आदि दिने गर्दा कामदार अभावबाट बच्न सकिन्छ ।

परम्परागत नेपाली समाजमा कुनै निश्चित काम गर्नका लागि निश्चित समुदाय हुन्थे । उदाहरणका लागि दमाईं समुदायले कपडा सिलाउने, सार्कीले जुत्ता सिउने तथा छालाका अन्य सामान बनाउने तथा कामीले धातुका भाँडाकुँडा, हतियार आदि बनाउने काममा विशेषज्ञता हासिल गरेका हुन्थे । परम्परागत निर्वाहमुखी युगमा उनीहरूको जीवन निर्वाहका लागि त्यो काम पर्याप्त हुन्थ्यो । उनीहरूको परम्परागत शीपलाई प्रवर्द्धन गर्ने तथा त्यस कामलाई मर्यादित बनाउन व्यावसायिक रूप प्रदान नगरिएकाले पछि गएर समस्या उत्पन्न भएको छ । आधुनिक शिक्षा प्रणालीको शुरुआत भएपछि परम्परागत शीपको जगेर्ना र विकास गर्ने काम भएन, बरु त्यसलाई अमर्यादित मानी छोड्ने क्रम शुरू भयो । अन्य आधुनिक शीप सिकेर परम्परागत शीप छोडेको भए त ठीकै हुन्थ्यो । त्यसो पनि हुन सकेन । पहिलेको पेशा पनि नअँगाल्ने, नयाँ शीप पनि केही नजान्ने भएपछि मानिसहरू एकातर्फबेरोजगार बन्ने अवस्था आयो भने अर्कातिर ती परम्परागत क्षेत्रमा कामदारको अभाव हुन थाल्यो ।

उल्लिखित मात्रै होइन, औषधि उद्योगमा स्वास्थ्य प्राविधिक, सोलार प्यानलका प्राविधिक, थाङ्का तथा विज्ञापन उद्योगमा डिजाइनर तथा साहसिक पर्यटनमा गाइडहरूको पनि यहाँ अभाव छ । तर, ती विषयमा शीप विकासको पर्याप्त अवसर नेपालमा छैन । त्यसैले कुनै व्यावहारिक शीप नसिकाउने परम्परागत शिक्षाप्रणालीलाई परिवर्तन गरी देशको आवश्यकताअनुसारका शीपमूलक शिक्षा दिने व्यवस्था गरिनुपर्छ । कुन क्षेत्रमा कति सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक छ, त्यसअनुसारको शीप विकासको अवसर प्रदान गरिनुपर्छ । यस कार्यमा सरकारले त ध्यान पुर्याउनुपर्छ नै, सम्बन्धित उद्योगी-व्यवसायीले नै पनि पहलकदमी लिनुपर्छ ।

Admin 2011-07-07