शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ई-कमर्शको उज्यालो सम्भावना
नेपालमा पछिल्लो समय ई-कमर्श व्यवसायप्रति आकर्षण बढ्दै गएको छ । बढ्दो आधुनिकीकरणसँगै यो व्यवसाय उदीयमान व्यावसायिक क्षेत्रका रूपमा स्थापित हुने क्रममा छ । नेपालमा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा भएको वृद्धिसँगै यसको बजार सम्भावना अझै बढ्न सक्छ । तर, ई-कमर्शबारे सर्वसाधारणमा अझै पनि चेतनाको कमी भएका कारण यसको आशातीत विस्तारमा भने समस्या आउन सक्छ । त्यसैले ई-कमर्श व्यवसायीहरूले यसका बारेमा चेतना बढाउनेतर्फ कदम चाल्दै यसबारेमा नीतिगत व्यवस्था गर्न सरकार तथा संसद्लाई झक्झक्याउने तर्फलाग्नु आवश्यक छ ।

अनलाइनबाटै भएको अर्डरबमोजिम वस्तु तथा सेवा सम्बन्धित व्यक्ति तथा स्थानमा पुर्‍याउने सेवा होई-कमर्श । पछिल्लो समयमा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै विश्वमाई-कमर्श व्यवसाय पनि बढिरहेको छ । नेपालमा यो व्यवसाय शुरु भएको १० वर्षभन्दा बढी भइसकेको छ । तर, आशातीत रूपमा यसको वृद्धि हुन भने सकेको छैन । यसो हुनुमा नेपालमा यस क्षेत्रका व्यवसायीहरूले उपभोक्ताको आवश्यकता पहिचान गर्न नसक्नु मुख्य कारणका रूपमा रहेको छ । नेपालको वस्तुस्थिति र उपभोक्ताहरूको आवश्यकताअनुसार सेवा दिन सक्दा यो व्यवसायको विस्तार चाँडै हुने थियो । तर, नेपालका व्यवसायीहरूले विदेशी अभ्यासको नक्कल गर्ने काम धेरै गरेका छन् । यहाँको वस्तुगत यथार्थलाई आत्मसात् गरेर सेवा प्रदान गर्ने हो भने नेपालमा ई-कमर्शको सम्भावना उज्यालो छ ।

कुनै पनि क्षेत्रमा नयाँ उत्पादन तथा क्षेत्रको खोजी गर्नसक्दा मात्रै त्यसको विकास राम्रो हुन सक्छ । नयाँ क्षेत्र तथा उत्पादन पत्ता लगाउनका लागि बजार अनुसन्धान आवश्यक हुन्छ । तर,ई-कमर्शमा नयाँ क्षेत्र तथा उत्पादनको खोजी गर्नका लागि बजार अनुसन्धान गर्ने काम अत्यन्तै कम भएको छ । अरूले जे गरेका छन्, त्यसैको नक्कल मात्र गर्दा कुनै पनि उत्पादन सफल हुँदैनन् । यो कुरालाई ई-कमर्शमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताले विशेष ध्यान पुर्‍याउनुपर्छ ।

नेपालमा ई-कमर्शको सेवा विकेन्द्रित हुन सकेको छैन । व्यवसायीहरूका अनुसार ई-कमर्शका ९७ प्रतिशत उपभोक्ता काठमाडौंका मात्रै छन् । यस तथ्यले ई-कमर्शले मोफसलका उपभोक्तालाई समेट्न नसकेको प्रस्ट पार्छ । काठमाडौंबाहिरका शहरका बासिन्दाहरू पनि ई-कमर्शका राम्रा उपभोक्ता हुन सक्छन् । कुनै पनि नयाँ कुरा ग्रहण गर्ने दर काठमाडौंको तुलनामा बाहिरी क्षेत्रमा बढी हुने अनुभव छ । त्यसैले ई-कमर्शलाई काठमाडौंबाहेकका सम्भावित ठाउँमा पनि विस्तार गर्न सक्ने हो भने त्यसले यसको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

पछिल्लो समयमा ई-कमर्श रोजगारी प्रदान गर्ने महत्त्वपूर्ण स्रोत हुन सक्ने देखिएको छ । युवाहरूले घरमै बसीबसी मासिक ५ सय डलरसम्म कमाउन सक्ने व्यवसायीहरूले बताउने गरेका छन् । यस्तो रोजगार अहिल्यै ३ हजारले प्राप्त गरिसकेको अवस्था छ । त्यसैले ई-कमर्श व्यवसायको विस्तार राम्रोसँग हुन सक्दा यसले ठूलो मात्रामा रोजगारी सृजना गर्नसक्छ । त्यसतर्फपनि व्यवसायी तथा नीतिनिर्माताहरूले सोच्नुपर्छ ।

ई-कमर्श व्यवसाय आकर्षक क्षेत्रका रूपमा विकास भइरहेको छ । भोलिका दिनमा यसको तीव्रतर विकास हुने कुरामा कुनै शङ्का छैन । त्यसैले यसलाई व्यवस्थापन गर्नका लागि नीतिगत व्यवस्था गर्नेतर्फबेलैमा ध्यान पुर्‍याउनुपर्छ । सरकार तथा  संसद्ले ई-कमर्शसम्बन्धी कानून तर्जुमा गर्नका लागि पहल गर्नुपर्छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउने जिम्मा व्यवसायीहरूकै भएकाले कानून बनाउने काममा संसद्लाई आग्रह गर्ने तथा सहयोग गर्ने काम उनीहरूको हो । सरकारले लागू गर्ने भनेको ई-प्रोक्युर्मेण्ट,ई-गभर्नेन्सजस्ता कार्यक्रमभन्दा निजीक्षेत्रले गरिरहेको ई-कमर्शको व्यवसाय निकै अघि बढेको छ । त्यसैले यसलाई प्रोत्साहित गर्दै अन्य क्षेत्रले पनि यसबाट शिक्षा लिनुपर्छ ।

Admin 2011-04-06