सम्पादकीय
ट्राफिक व्यवस्थापनले देखायो
गरे हुँदो रै’छ
अहिले चर्चाको केन्द्रमा छन्, महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशराज राई । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेर होस् वा काठमाडौंको सडक विस्तारको कामको शुरुआत गरेर, उनले ट्राफिक व्यवस्थापनमा उदाहरणीय काम गरेका छन् । अब उनको अभियान सवारीसाधनमा बस्नेलाई सीटबेल्ट अनिवार्य बाँध्न लगाउने तथा लेन अनुशासन कायम गराउनेतर्फ केन्द्रित बनेको छ ।
अहिले चालू अभियानलाई अझै सशक्त बनाउन र नयाँ कामलाई सफलतामा पुर्याउन सके भने काठमाडौ उपत्यकाको ट्राफिक समस्या र दुर्घटना ९० प्रतिशत घट्नेछ । वास्तवमा गणेश राज राईको यो अभियानले काम गरे हुँदो रहेछ भन्ने कुरालाई पुष्टि गरेको छ । लेन अनुशासन भङग् गर्ने तथा बायाँबाट ओभरटेक गर्ने कार्यलाई उनले पूर्णतया रोक्न सके भने राज्यले दिने सबै भन्दा ठूलो पुरस्कार राईलाई नै दिए हुन्छ ।
‘ड्रिङ्क’ र ‘ड्राइभ’बीच परस्पर विरोधी सम्बन्ध हुन्छ । मदिरा सेवन गरी सवारीसाधन चलाउनु ट्राफिक नियमको उल्लङ्घन हो । र, ट्राफिक नियम पालना गराउनु ट्राफिक प्रहरीको दायित्व हो । त्यसैले, डीआईजी राईले कुनै नौलो काम गरेका होइनन् । तर, एउटा प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीसाथ पालना गरिदियो भने त्यसको सकारात्मक प्रभाव राष्ट्र र समाजमा कसरी पर्दोरहेछ भन्ने कुरा पनि उनको कामले प्रमाणित गरेको छ ।
केही रेष्टुराँ व्यवसायीहरूले सवारीमा ‘मापसे’ नियन्त्रण अभियानका कारण आफ्नो व्यापार घट्यो भन्ने गुनासो गरेका छन् । तर, ट्राफिक प्रहरीले रक्सी खान र रेष्टुराँ जान रोकेको छैन, पिएर सवारीसाधन चलाउनमात्रै रोकेको हो । अर्कातिर, मदिराको व्यापारमा यो अभियानले कुनै ठूलो असर गरेको छैन । मदिराका पारखीहरू घरमै ल्याएर पनि पिइरहेकै छन् । बरु यो अभियानले अनावश्यक रूपमा बाहिर मदिरा सेवन गरेर हुने पारिवारिक र सामाजिक विकृतिहरूलाई रोकेको छ । भोजहरूमा अत्यधिक मदिरा सेवन गर्ने प्रचलनलाई पनि यसले निरुत्साहित गरेको छ, जसका कारण पार्टीमा हुने अनावश्यक खर्च केही हदसम्म घटेको छ । यसलाई पनि ट्राफिक अभियानको राम्रो असरका रूपमा लिनुपर्छ ।
ट्राफिकले माघ १५ गतेदेखि शुरू गरेको सीटबेल्ट बाँध्ने अभियान चाँडै नै सफल भएको छ, भलै केही चालक ट्राफिकको चेकिङ देखेपछि मात्रै सीटबेल्ट बाँध्छन् । अब बायाँबाट ओभरटेक गर्ने तथा लेन अनुशासनको उल्लङघ्न गर्नेलाई पनि कारबाही गर्ने अभियान ट्राफिकले शुरू गर्ने भएको छ । वास्तवमा अधिकाशं दुर्घटना यिनै दुई कारणबाट हुने गर्छ । ट्राफिक जामको मूल कारण पनि यिनै हुन् ।
लेन अनुशासन कायम गराउन सकियो भने त्यसको प्रत्यक्ष असर कामकाजीहरूको दक्षता (इफिसियन्सी)मा पर्छ । बाटोका लागि अनावश्यक रूपमा बढी समय छुट्ट्याउनु पर्दैन । त्यसो हुँदा त्यो बचेको समय उनीहरूले आफने व्यवसाय, पेशा वा घरायशी काममा लगाउन पाउँछन् । यसले निश्चित रूपमा मानिसको उत्पादकत्व वृद्धि गराउँछ । अर्कातिर, चर्को जामको समस्या घट्यो भने इन्धनको बचत हुन्छ । त्यसले व्यक्तिको खर्चमा त कमी हुन्छ नै चर्को रूपमा रहेको इन्धन अभावलाई पनि केही सजिलो पर्न जान्छ ।
विगत समयमा निकै चर्चा हुने तर कहिल्यै कार्यान्वयन नहुने ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने कार्यलाई डीआईजी गणेश राईले मूर्तरूप दिएका छन् । तर, भोलि उनी ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारीबाट हट्नेबित्तिकै यो अभियान रोकिन पनि सक्छ । त्यसैले, यी कार्यहरू निरन्तर भइरहने खालको एउटा संयन्त्र विकासमा उनी केन्द्रित हुनुपर्छ । पुलिसले डण्डा बजाउने त आफ्नै ठाउँमा छ, सर्वसाधारणहरू आफै ट्राफिक व्यवस्थापनका विषयमा सचेत नबनीकन यो समस्याको दीर्घकालीन समाधान हुँदैन । त्यसैले सर्वसाधारणलाई ट्राफिक व्यवस्थापनका विषयमा सचेत र गम्भीर बनाउने खालका क्रियाकलापलाई पनि प्रभावकारी ढङग्तै सञ्चालन गर्नु आवश्यक छ ।