अन्तरराष्ट्रिय टर्मिनेशन शुल्क घटाऊ
टेलिकम सेवाप्रदायकले लिने गरेको अन्तरराष्ट्रिय टर्मिनेशन शुल्क घटाउनेबारे नेपाल दूरसञ्चार प्राधिकरणले छलफल अघि बढाएको छ । विदेशबाट नेपालमा फोन गर्दा नेपालका टेलिकम सेवाप्रदायकहरूले अत्यधिक कल टर्मिनेशन शुल्क लिने गरेकाले महँगो पर्ने गरेको बताइन्छ । अवैध कल बाइपासलगायतका समस्या पनि महँगो शुल्ककै कारण हुने गरेको विशेषज्ञहरूले बताएका छन् । सबभन्दा महत्त्वपूर्ण कुरा नेपालका टेलिकम सेवाप्रदायकहरूले समयसापेक्ष रूपमा यस्तो शुल्क निर्धारण नगर्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने गरेको छ । विदेशबाट नेपालमा बढी मात्रामा फोन गर्ने त्यहाँ रहेका नेपाली नै हुन् । यसरी विदेशबाट आउने फोनमा लाग्ने बढी शुल्कले अप्रत्यक्ष रूपमा नेपाली नै पीडित भइरहेका छन् ।
अहिले ब्रोडलिङ्क कम्युनिकेशनबाट विदेशमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ लाग्ने गरेको छ । नेपाल टेलिकमबाट अमेरिका फोन गर्दा पनि प्रतिमिनेट ४ रुपैयाँ तिरे पुग्छ । तर, त्यस्तै किसिमको कल बाहिरबाट नेपालमा गर्दा रू. १३ भन्दा बढी तिर्नुपर्छ । यो भनेको नेपालबाट जहाजमा बेलायत जाँदाभन्दा बेलायतबाट नेपाल आउँदा १३ गुना बढी भाडा तिर्नुजस्तै हो । यसरी टेलिकम सेवाप्रदायकहरूलाई नाफा त हुन्छ तर त्यसबाट उपभोक्ता भने मर्कामा परेका छन् ।
हुन त यो नेपालको मात्रै समस्या होइन । नेपालजस्ता अन्य धेरै अल्पविकसित मुलुकमा यस्तै किसिमको समस्या छ । विकासोन्मुख देशमा अन्तरराष्ट्रिय अन्तरआबद्धता शुल्क अधिक हुने गरेको छ । त्यसकारण बाहिरबाट यस्ता देशमा फोन गर्दा त्यहाँका सेवाप्रदायकलाई बढी शुल्क तिर्नुपर्छ । त्यसो हुँदा बाहिरबाट यस्ता देशमा फोन गर्दा बढी महशुल लाग्ने गर्छ । उदाहरणका लागि अफगानिस्तानमा बाहिरबाट यस्तो फोन आउँदा २० देखि ३० रुपैयाँ, भुटानमा १२ देखि २० रुपैयाँ, माल्दिभ्समा ५५ रुपैयाँसम्म, सेनेगलमा ३१ रुपैयाँसम्म तिर्नुपर्छ । तर, विकसित देशमा यस्तो अन्तरआबद्धता शुल्क कम हुने हुनाले त्यहाँ फोन गर्दा कम शुल्क लाग्ने गर्छ । नेपालमा भने यस्तो अन्तरआबद्धता शुल्क टेलिकम सेवाप्रदायकहरूले ४ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँ ५० पैसासम्म (औसतमा ५ रुपैयाँ) लिने गरेका छन् । दूरसञ्चार प्राधिकरणले यसलाई घटाएर ७२ पैसा प्रतिमिनेट बनाउने प्रस्ताव गरेको छ । यदि यसो गरियो भने कल टर्मिनेशन शुल्क प्राधिकरणबाट स्वीकृत अन्दरदेशीय अन्तरआबद्धता शुल्कसहित गर्दा पनि ८६ पैसादेखि बढीमा १ रुपैयाँ ५६ पैसा प्रतिमिनेटमा झर्नेछ । वैध कल नै सस्तो हुने भएपछि अवैध रूपमा हुने कल बाइपासको समस्या पनि कम हुन्छ ।
नेपालका टेलिकम सेवाप्रदायकहरूले धेरै शुल्क लिने गरेको मात्र होइन, आफूले विदेशबाट भित्र्याएको कलको ठूलो हिस्सालाई अन्य सेवाप्रदायकको सञ्जालमा प्रवेश नै निषेध गरेको स्थिति रहेको प्राधिकरणले बताएको छ । यी कम्पनीले आवश्यकताभन्दा अत्यन्त कम अन्तरआबद्धता सर्किट राखेका कारण औसतमा ४६ प्रतिशत सर्किट कन्जेशन (सर्किट व्यस्तताका कारण कल असफल हुने) गरेको छ । त्यो भनेको औसतमा ५० प्रतिशत कल मात्रै सफल हुनु हो । अझ व्यस्त समयमा त ९२ प्रतिशतसम्म सर्किट कञ्जेशन हुने गरेको छ । तर, अवैध रूपमा बाइपास हुने कलमा यस्तो नहुने हुँदा त्यस कार्यलाई प्रोत्साहन मिल्ने गरेको छ ।
टेलिकम सेवाप्रदायक कम्पनीहरूको आयको एउटा प्रमुख हिस्सा अन्तरराष्ट्रिय कलको र्टर्मिनेशन शुल्क (आईयूसी) नै हुने भएकाले उनीहरूले त्यस्तो शुल्क घटाउने प्रस्तावको विरोध गर्दै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पनि अन्तरराष्ट्रिय कलको टर्मिनेशन शुल्कको नियमन गर्ने गरेको छैन । फलस्वरूप यस्ता कम्पनीले आफूखुशी टर्मिनेशन शुल्क लिने गरेका छन् । तर, यसरी अनावश्यक रूपमा बढी रहेको टर्मिनेशन शुल्क घटाउने हो भने दीर्घकालीन फाइदा हुन्छ । उदाहरणका लागि अवैध रूपमा हुने कल बाइपास रोकिने छ र टेलिकम सेवाप्रदायक कम्पनीमा बढी कल आई उनीहरूको आम्दानी बढ्नेछ । त्यसो हुन सक्यो भने सरकारको राजस्व बढ्नेछ । साथै, देशबाहिर भएका लाखौं नेपालीले सस्तोमा गुणस्तरीय टेलिकम सेवा उपभोग गर्न पाउनेछन् । त्यसैले नेपालका टेलिकम सेवाप्रदायकहरूले विश्वमा उपलब्ध प्रविधिको अधिकतम लाभ आफ्ना ग्राहकलाई प्रदान गर्न कञ्जुस्याइँ गर्नु हुँदैन ।
Admin 2011-06-07