करदाता शिक्षा र कर असुली
धेरै व्यवसायीहरू कर बुझाउने आवश्यकता र प्रक्रियाबारे अनभिज्ञ भएकाले कर सङ्कलन गर्न नै असजिलो परेको समाचार सुदूरपश्चिमबाट आएको छ । यो समस्या धनगढीबाट उजागर भएको भए पनि सुदूरपश्चिममा मात्रै होइन, देशका ठूला शहरी क्षेत्रका व्यवसायी तथा अन्य करदाताहरू पनि करका बारेमा अनभिज्ञ नै छन् । यसले मुख्यतया दुईओटा कुरालाई इङ्गित गरेको छ । पहिलो, नेपालमा कर सूचना शिक्षा र अभिमुखीकरण पर्याप्त हुन सकेको छैन । जति भएको छ त्यो पनि प्रभावकारी हुन सकेको छैन । अर्को, व्यवसायी एवम् अन्य करदाता आफै करका बारेमा जान्न इच्छुक छैनन् । यी दुवै कारणले व्यवसायीहरू आफ्नो कर दायित्व, करका दर, तिर्नुपर्ने प्रक्रिया आदिका बारेमा बेखबर छन् । यसको एकमात्र समाधान भनेको करदाता शिक्षालाई व्यापक र प्रभावकारी बनाउनु नै हो ।
सर्वसाधारण करदाताहरूलाई करका बारेमा जानकार बनाउन तथा उनीहरूलाई करको दायरामा ल्याउन करदाता शिक्षालाई प्रभावकारी मानिन्छ । विश्वभरि नै यसलाई करप्रणालीको एउटा अङ्गका रूपमा लिने प्रचलन छ । नेपालमा पनि आन्तरिक राजस्व विभाग करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको दाबी गर्छ । यसका लागि उसले विभिन्न सञ्चारमाध्यममार्फत आफूले ठीक ठानेका भाषा र शैलीमा जानकारी र सूचनाहरू प्रचारप्रसारमा ल्याएको छ । करसम्बन्धी छुट्टै रेडियो तथा टेलिभिजन कार्यक्रम बनाएर प्रसारण गर्ने आदि काम पनि गरिरहेको छ । यो केही हदसम्म प्रभावकारी पनि भएको होला । तर, पनि करदाताहरूको एउटा ठूलो हिस्सा करका बारेमा अनभिज्ञ छ । त्यस्ता सूचना तथा कार्यक्रमको प्रभावकारिता, प्रस्टता र पहुँचबारे कुनै पनि सरकारी निकायले अनुसन्धान र अनुगमन बिल्कुलै गरेको छैन । मुख्य रूपमा यससम्बन्धी काम केन्द्रीय तहबाट मात्रै हुने गरेको छ । विकेन्द्रित रूपमा जिल्लाजिल्लामा करदाता सचेतना कार्यक्रम पुर्याउन सकिएको छैन । केही प्रतिष्ठान तहमै गएर करदाता शिक्षा प्रदान गर्ने गरिएको भए पनि त्यसलाई व्यापकता दिइएको छैन । त्यसो हुँदा त्यो वर्ग करको दायरामा आउन नसक्नु र यसबारे कम बुझ्नु स्वाभाविक हो ।
करका बारेमा अनभिज्ञता देखाउने दुई किसिमका करदाताहरू छन् । पहिलो, साँच्चिकै यसबारेमा अनभिज्ञ छन् । दोस्रो करका विषयमा कारबाहीमा परिने भएपछि मलाई थाहा नै थिएन भन्नेहरू पनि छन् । उनीहरूले वास्तवमै जानकारी नपाएका पनि हुन सक्छन्, कारबाहीमा परिने भएकाले झूट कुरा बोल्ने पनि हुन्छन् । अर्को, कुन प्रकृतिको कत्रो आकारको व्यवसाय गर्दा कति कर तिर्नुपर्छ भन्ने कुराको जानकारी नै नलिईकन व्यवसाय शुरू गरिहाल्ने प्रवृत्ति नेपालमा धेरै छ । त्यसरी व्यवसाय थाल्नेहरू करको दायरामा आउने बेलामा झल्याँस्स हुने गर्छन् । अर्का एकथरि यस्ता व्यवसायी छन्, जो करको दायरामा आइयो भने बढी शुल्क तिर्नुपर्छ, घाटा पर्छ भन्ने मान्यता राख्छन् । तर, उनीहरूले तिर्नुपर्ने कर सोचेभन्दा कम नै हुन्छ ।
आफूले तिरेको करको प्रतिफलस्वरूप सरकारले पनि आफूलाई केही सहयोग गरिरहेको छ र गर्छ भन्ने विश्वास भयो भने एउटा नागरिक कर तिर्नका लागि अग्रसर हुन्छ । तर, हाम्रोमा त राज्यको उपस्थितिको अनुभूति गर्नसक्ने अवस्था पनि छैन । तर, यसो भनेर कर तिर्नु पर्दैन भनेको होइन, तिर्नुपर्छ । व्यवसाय गर्ने भनेको सचेत वर्गले हो । त्यसैले आफूले तिर्ने करका बारेमा सचेत बन्न उनीहरू नै सक्रिय बन्नुपर्छ । तर, आफ्ना नागरिकलाई करका बारेमा सचेत बनाउनका लागि सरकारले आवश्यक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । कहिले कर सहभागिता वर्ष कहिले कर कार्यान्वयन वर्षभनेर सरकारले व्यवसायी तथा सर्वसाधारणलाई करको दायरामा ल्याउने प्रयास गरिरहेको छ । यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ । तर, नक्कली भ्याटबिलमार्फत करछली गर्ने कार्यमा निजीक्षेत्रको ठूलो तप्का लागेको प्रमाणित हुनुले भने व्यवसायीको इमानदारीमा पनि प्रश्नचिन्ह उठेको छ ।
Admin 2011-08-09