यतीको अस्तित्व र नेपाली पर्यटन
रूसको साइबेरिया क्षेत्रमा यतीको अस्तित्व रहेको छ भनेर त्यहाँको स्थानीय प्रशासनले दाबी गरेको समाचार अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा आएको छ । यतीको अस्तित्व रहेको फेला परेपछि त्यस क्षेत्रमा यतीको अध्ययनका लागि विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने तथा यतीबारे जर्नल नै निकाल्ने तयारीसमेत गरिएको छ । यतीलाई पर्यटन आकर्षणको प्रमुख माध्यम बनाउने योजना त्यस क्षेत्रमा गरिएको छ । तर, नेपालमा यतीको अस्तित्व छ भनेर आजभन्दा २५ वर्षपहिले नै घोषणा गरिएको थियो । वरिष्ठ गायक कुमार बस्नेत शेर्पाहरूको सहयोगमा गरिएको अनुसन्धानबाट आफूले यती जीवित रहेको छ भनेर विश्वमै पहिलोपल्ट पत्ता लगाएको दाबी गर्छन् । तर, नेपालले त्यस तथ्यलाई संरक्षण तथा प्रवर्द्धन गर्दै थप अनुसन्धानात्मक कामहरू गरेन । त्यसो हुँदा यतीलाई रहस्य र अन्धविश्वासका रूपमा लिने स्थिति समाजमा देखा परेको छ । यदि यती थिएन र छैन नै भने पनि यसका सम्बन्धमा भएका किंवदन्तीहरूलाई जोगाएर राख्नुपथ्र्यो, जुन नेपालको पर्यटन विकासको प्रमुख आधार हुन सक्थ्यो । आज जसरी साइबेरिया क्षेत्रमा यतीको अस्तित्वलाई लिएर अनुसन्धान तथा पर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको छ, ती काम हामीले आजभन्दा तीसौं वर्षअघि नै गर्न सक्थ्यौं । तर, पछिल्लोपल्ट सार्वजनिक भएको तथ्यले विश्वमा यतीको अस्तित्वलाई स्वीकार गरेको हुँदा नेपालले पनि यस विषयमा थप अनुसन्धान गरी यसलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउनतर्फ कदम चाल्नुपर्छ ।
यतीको नाम प्रयोग गरेर नेपाली पर्यटन व्यवसायीहरूले केही हदसम्म फाइदा पनि लिएका छन् । यतीका नाममा हवाई सेवा, ट्राभल एजेन्सी, होटलहरू स्थापना भएका छन् । तर, नेपालको हिमाली क्षेत्रमा हिममानव यती छ कि छैन भन्ने विषय रहस्यकै गर्भमा थियो । त्यहीबीच सन् १९८० देखि अनुसन्धान थालेर आफूले यती वास्तवमै रहेको पत्ता लगाएको बस्नेतको दाबी छ । नेपालको हिमाली क्षेत्रमा तीन प्रकारका यती आफ्नै आँखाले देखेको उनी बताउँछन् । त्यसमध्ये मिथी सबैभन्दा ठूलो, यती मध्यम र छयुटी सानो आकारको हुन्छ । तर, सरकार तथा पर्यटनसँग सम्बन्धित अन्य निकायले बस्नेतको प्रयासलाई बल प्रदान गरी यतीको खोजी तथा अनुसन्धानलाई विस्तार गर्ने काम गरेनन् । त्यही नै दु:खपूर्ण कुरा हो । यो क्रम लम्बिँदै जाँदा हामीसँग भएको यतीबाट फाइदाचाहिँ अरूले नै लिने स्थिति देखापरेको छ ।
यती वास्तवमा नेपालको विशुद्ध मौलिक सम्पत्ति हो । यो नेपालको हिमाली क्षेत्रमा रहेको भनेर विश्वास गरिएको प्राणी त हुँदै हो, यती नाम नै नेपाली हो । तिब्बत तथा भुटानमा यसलाई अरू नै नामले चिनिन्छ । तर, नेपाली नाम 'यती’ अहिले विश्वभरि परिचित छ । यो नेपाली शब्दलाई अहिले विश्वका ठूला कम्पनीहरूले समेत प्रयोग गर्न थालेका छन् । उदाहरणका लागि गाडी निर्माता स्कोडा कम्पनीले 'यती’ ब्राण्डको कार उत्पादन गर्छ । यसो हुँदै जाँदा भोलि 'पश्मिना’जस्तै 'यती’ शब्दलाई पनि अरूले नै आफ्नो स्वामित्वमा लैजान सक्ने सम्भावना छ ।
हाम्रो समाजमा रहेका कतिपय किंवदन्ती तथा अन्धविश्वास भनिएका चीजहरू वास्तवमा निकै महत्त्वपूर्ण हुन सक्छन् । यी सम्पदा अन्तरराष्ट्रिय रूपमा खोज अनुसन्धान तथा जनचासोका विषय हुन सक्छन् । तिनलाई जोगाएर राख्न सकियो र प्रवर्द्धन गर्न सकियो भने त्यसले देशको पर्यटन विकासमा ठूलो योगदान दिन सक्छ । स्वीट्जरल्याण्डलगायतका देशले यस्ता सम्पदालाई आफ्नो देशको पर्यटन विकासमा भरपुर प्रयोग गरेका छन् । नेपाल अब यतीसम्बन्धी तथ्य तथा किंवदन्तीहरूको अनुसन्धान तथा प्रचारप्रसारमा केन्द्रित हुनुपर्छ । नेपाललाई सगरमाथा र बुद्धको देश भनेर त चिनिन्छ नै, 'यतीको देश’ भनेर समेत चिनाउन सकियो भने त्यसले नेपालको पर्यटन विकासका साथै आर्थिक विकासमा पनि महत्त्वपूर्ण योगदान दिन सक्नेछ ।
Admin 2011-10-13