जिट्कोको उपस्थिति सकारात्मक
जापान इण्टरनेशनल ट्रेडिङ कोअपरेशन अर्गनाइजेशन (जिट्को)का परामर्शदाता प्रतिनिधि स्थायी रूपमा नेपालमै बस्ने भएका छन् । ती प्रतिनिधिले जिट्कोअन्तर्गत जापान जाने प्रशिक्षार्थी कामदारको प्रक्रिया मिलाउन सहयोग गर्नेछन् । नेपालका वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगार विभाग जिट्कोअन्तर्गत जापान कामदार पठाउन अक्षम नै भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले यसअघि प्रशिक्षार्थी कामदार पठाउन जिट्कोसँग सम्झौता गरेको भए पनि त्यस कार्यमा ऊसमेत असफल भएको थियो । यो व्यवस्थाअन्तर्गत कामदार पठाउने प्रक्रिया नै झन्झटिलो र नबुझिने भएकाले पनि यो समस्या आएको हो । त्यसैले जिट्कोका परामर्शदाताले वैदेशिक रोजगार विभागमै डेरा जमाएर परामर्श दिए भने निश्चय पनि नेपाली प्रशिक्षार्थी कामदारले जापानमा काम गर्ने र शीप विकास गर्ने अवसर पाउनेछन् ।
जापानमा प्रशिक्षार्थी कामदार पठाउनका लागि जिट्कोसँग नेपाल उद्योग वाणिज्य महासङ्घले सन् २००३ मा सम्झौता गरेको थियो । तर, यो ८ वर्षको अवधिमा महासङ्घले जम्मा ११ जना कामदार मात्रै जापान पठाउन सक्यो । त्यसो भएपछि म्यानपावर कम्पनीलाई पनि जापान कामदार पठाउन पाउने गरी २ वर्षअघि इजाजत प्रदान गरियो । १ सय ८० ओटा म्यानपावर कम्पनी जापान कामदार पठाउन पाउने गरी जिट्कोमा सूचीकृत पनि भएका छन् । तर, म्यानपावरमार्फत पनि हालसम्म बढीमा ५० जनामात्रै जापान जान सकेको छन् । यसरी कामदार पठाउन स्वीकृति पाएको २ वर्षमा म्यानपावर कम्पनीजति पनि कामदार जापान जान नसक्नुमा विभिन्न कारण छन् । त्यसमध्येको सबैभन्दा महत्त्वपूर्ण कारण प्रक्रियागत झन्झट नै हो । जापान कामदार पठाउनका लागि २८ ओटा त फारममात्रै भर्नुपर्ने र अन्य प्रक्रिया पनि असजिलो हुने भएकाले अपेक्षित रूपमा जापान कामदार जान सकिरहेका छैनन् ।
प्रशिक्षार्थी कामदारका रूपमा जापान जान कुनै एक उद्योगमा काम गरेकै हुनुपर्छ । विभिन्न १० प्रकारका उद्योगमा २ सय १० प्रकारका कामको शीप विकासका लागि जिट्कोले कामदार लाने गरेको छ । तर, काम गरेको अनुभवको नक्कली प्रमाणपत्र बनाएर जापान जानका लागि आवेदन गर्नेको सङ्ख्या अत्यधिक छ । त्यसरी आवेदन गर्नेहरू स्वत: अस्वीकृत हुन्छन् । तर, वैदेशिक रोजगार व्यवसायीहरूले त्यसरी आवेदन गर्नेहरूसँग जापान पठाइदिन्छु भनेर रू. ५ लाखसम्म असुलेको गुनासो छ । जबकि यस प्रावधानअन्तर्गत जापान पठाउनका लागि जम्मा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । जापानी परामर्शदाता नै यहीँ हुने हो भने यसरी भइरहेको ठगीको कार्य पनि रोकिने आशा गर्न सकिन्छ ।
जापान वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य त हुँदै हो । नेपालबाट जिट्कोअन्तर्गत कामदार पठाउँदा अर्को फाइदा पनि छ । त्यो के भने यहाँको उद्योगमा काम गरिरहेका कामदारहरू थप तालीम लिई शीप विकासका लागि त्यहाँ जाने हुन् । त्यहाँ ३ वर्षयतालीम लिइसकेपछि उनीहरू स्वदेशमै फर्केर काम गर्नुपर्छ । त्यसैले प्रशिक्षार्थी कामदार जापान पठाउँदा त्यसले नेपालको औद्योगिक क्षेत्रले पनि मनग्ये लाभ लिन सक्छ । त्यसैले जिट्कोले यहाँ उसको परामर्शदाता नै राखिदिनु निश्चय नै सकारात्मक हो । अब नेउवा महासङ्घलगायतले पनि यस कार्यमा सहयोग पुर्याउनुपर्छ ।
Admin 2011-09-12