शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अलैंचीखेतीको सम्भावना मर्न दिनुहुँदैन
कालो सुनका रूपमा परिचित नेपालको अलैंचीखेती अहिले सङ्कटग्रस्त बनेको छ । विगत ६ वर्षदेखि सङ्क्रमित डढुवा रोगले पूर्वका अलैंची बगान सखाप पारेर डढाउन थालेपछि यो खेती सङ्कटमा परेको हो । तर, नेपाली कृषिविज्ञ अलैंचीमा लागेको डढुवा रोगको उपचार गर्न सक्षम देखिएका छैनन् । सरकारले पनि यस रोगको रोकथाम तथा उपचारमा ठोस पहल गर्न सकेको छैन । सबैभन्दा ठूलो दुर्भाग्य त के हो भने नेपालमा एकजना पनि अलैंचीविज्ञ छैनन् तथापि अलैंचीखेतीको विस्तार रोकिएको भने छैन । सरकारी तथ्याङ्कअनुसार मुलुकमा अहिले ४० जिल्लाको झण्डै १४ हजार हेक्टर जमीनमा अलैंचीखेती विस्तार भएको छ । यो खेती सरकारी नीति र तदारुकताले नभएर मात्र किसानको उत्साहका कारण हुँदै आएको हो ।

आर्थिक वर्ष०६५/६६ को तथ्याङ्कअनुसार नेपालमा ७ हजार ८७ मेटि्रक टन अलैंची उत्पादन भएको थियो । यो विश्वकै अलैंची उत्पादनको ४१ दशमलव ६८ प्रतिशत हो । विश्वको कुल अलैंची उत्पादन १७ हजार मेटि्रक टन मात्र छ । नेपाल विश्वकै सबैभन्दा ठूलो अलैंची उत्पादक राष्ट्र हो । त्यसपछि ग्वाटेमाला र भारत दोस्रो र तेस्रो स्थानमा आउँछन् । ०६५ सालमा नेपालले रू. १ अर्ब ६ करोड ८३ लाख ६० हजारबराबरको अलैंची भारत र तेस्रो मुलुक निर्यात गरेको थियो । अहिले अलैंचीको मूल्य आकाशिएर प्रतिकिलो रू. २ हजार पुगेको छ । तर, रोगका कारण उत्पादनमा भने निरन्तर ह्रास आइरहेको छ । सरकारी तथ्याङ्कअनुसार आव ०६६/६७ मा ५ हजार २ सय ३२ मेटन मात्र अलैंची उत्पादन भएको देखिन्छ । यो अघिल्लो वर्षभन्दा ३५ प्रतिशतले कम हो । चालू आवमा पनि अलैंची उत्पादन त्यही परिणाममा घट्ने देखिन्छ । कुल उत्पादनको ८१ प्रतिशत अलैंची उत्पादन हुने पूर्वाञ्चलका मध्यपहाडी जिल्लामा सल्किएको छिर्केफुर्के र डढुवा रोगले बगानका बगान सखाप बनाएपछि यसको उत्पादन स्वाट्टै घटेको छ । रोगका कारण इलाम, पाँचथरलगायतका जिल्लाका किसानले अलैंची बगान मास्दै अन्य खेती गर्न थालेका छन् । सुनकै रूपमा लिँदै आएको अलैंचीखेती निरन्तर नष्ट हुन थालेपछि किसान चिन्तित छन् । तर, सरकार यस मामिलामा बहिरो बनेको छ ।

समुद्री सतहको ८ सयदेखि २ हजार मिटरसम्मको उचाइमा अलैंचीखेती राम्ररी फस्टाउँछ । उत्तरी मोहडा भएका मध्यपहाडी क्षेत्रका जमीनमा अलैंचीको राम्रो उत्पादन भएको छ । तर, पूर्वाञ्चलमा सल्किएको यो डढुवा रोग अन्य  क्षेत्रमा पुग्दैन भन्न सक्ने आधार हामीसँग छैन । केही वर्ष पहिलेसम्म नियन्त्रणमा रहेको छिर्केफुर्के र गानो कुहिने रोगसमेत पूर्वाञ्चलमा अहिले नियन्त्रणबाहिर गएको छ । यी रोग नियन्त्रणका लागि पुराना बिरुवा मासेर गेडाबाट उमारिएको नयाँ बिरुवा एक मात्र विकल्प भएको कृषिका अधिकारीहरूको कथन छ । यदि त्यस्तै हो भने कृषि मन्त्रालयले तीव्र गतिमा बिरुवा उत्पादन गर्नुपर्छ । अलैंचीखेती विस्तार भएका र सम्भावित क्षेत्रमा समेत अलैंची नसरी स्थापना गरेर किसानलाई बिरुवा उपलब्ध गराउनुपर्छ । जथाभावी नि:शुल्क बिरुवा बाँडेर रोग सल्काएको आरोप खेपिरहेको वन मन्त्रालयले पनि बिरुवा उत्पादन गर्ने र लगाउने कार्यमा अब फेरि किसानलाई सहयोग गर्नुपर्छ ।

बिरुवा रोपेको तेस्रो वर्षदेखि नै फल्ने र लगातार १५ वर्षसम्म बाली दिइरहने अलैंचीखेतीबाट मध्यपहाडका किसानहरूको आर्थिक स्थिति बलियो हुनेमा कसैको दुईमत हुन सक्दैन । विश्वमै सबैभन्दा धेरै अलैंची उत्पादन हुने देशका रूपमा रहेको नेपालको छवि बचाउन पनि यसको विकासमा सबै क्षेत्रको पहल हुनु आवश्यक छ । सरकारले तुलनात्मक लाभका वस्तुको सूचीमा राखेको अलैँची विदेशी मुद्रा आर्जनको पनि राम्रो स्रोत बनिरहेको छ र भविष्यमा पनि राम्रो सम्भावना छ । त्यसैले अलैंचीखेतीको विस्तारमा निजी लगानीकर्ताहरूले पनि चासो देखाउनुपर्छ । थोरै लगानी गरी धेरै आम्दानी गर्न सकिने यस क्षेत्रको विकासका लागि सरकारले मिशन नै सञ्चालन गरी प्रोत्साहन गर्नुपर्छ ।

Admin 2011-06-09