क्लिङ्करमा आत्मनिर्भरताको बाटो
नेपालका सिमेण्ट उत्पादकहरूले कच्चा पदार्थका रूपमा प्रयोग हुने क्लिङ्कर आयातमा लाग्दै आएको भन्सार दर घटाउन माग गरेका छन् । देशका सिमेण्ट उत्पादकहरू अहिले ८० प्रतिशत आयातित क्लिङ्करमा भर परिरहेको अवस्थामा भन्सार दर घटाउनुपर्ने उनीहरूको माग उचित नै देखिन्छ । तर, यो दीर्घकालीन समाधान भने होइन । देशमै सिमेण्ट उत्पादनका लागि आवश्यक चुनढुङ्गा खानीहरू पर्याप्त मात्रामा रहेको अध्ययनहरूले देखाएका छन् । त्यसैले दीर्घकालीन रूपमा देशलाई सिमेण्ट उत्पादनका सबै कच्चापदार्थमा आत्मनिर्भर बनाउने दिशामा सरकारी नीति र निजी लगानी केन्द्रित हुनु जरुरी छ ।
अहिले क्लिङ्कर आयातमा सरकारले प्रतिमेटि्रक टन रू. १ हजार ८ सय भन्सार महशुल लगाउँदै आएको छ । त्यसलाई रू. १ हजार ५ सयमा झार्नुपर्ने उद्योगीहरूको माग छ । उद्योगीहरूका अनुसार अहिले भारतबाट २६ लाख २३ हजार मेटि्रक टन क्लिङ्कर आयात गर्नु परिरहेको छ । त्यसअनुसार अहिले क्लिङ्करबाट सरकारले रू. ४ अर्ब ७२ करोड १४ लाख राजस्व सङ्कलन गर्ने गर्छ । यदि उद्योगीहरूले भनेजस्तो भन्सार महशुल घटाएर प्रतिमेटि्रक टन रू. १ हजार ५ सय कायम गर्ने हो भने सरकारको राजस्व रू. ७८ करोड ६९ लाख कम हुने देखिन्छ, जुन लाभ उद्योगीहरूले पाउनेछन् । यसरी व्यवसायीहरूलाई क्लिङ्करको लागत कम पर्नजाँदा सिमेण्टको उत्पादन लागत पनि घट्न गई उनीहरूलाई लाभ हुने देखिन्छ । यसबाट भारतीय सिमेण्टसँग नेपाली सिमेण्टले प्रतिस्पर्धा गर्न सजिलो हुने एउटा तर्क हुन सक्छ । अर्कोतर्फ क्लिङ्करमा भन्सार शुल्क कम लगाएर लाभ लिने तर उपभोक्तालाई भने त्यसको फाइदा नदिने हो भने त्यसले खासै उपलब्धि हुने देखिँदैन । यस्तो अवस्थामा तयारी सिमेण्टमा भन्सार महशुल बढाएर क्लिङ्करमा चाहिँ घटाइयो भने त्यसबाट स्वदेशी उद्योगहरूलाई लाभ हुने देखिन्छ ।
नेपालमा सिमेण्ट उद्योगमा लगभग रू. ४० अर्बजति लगानी भइसकेको उद्योगीहरू बताउँछन् । देशभित्र सिमेण्ट उद्योगको सङ्ख्या ४० छ तर क्लिङ्कर उत्पादन गर्ने उद्योगहरू सातओटा मात्रै छन् । तिनीहरूको कुल क्षमता १५ लाख मेट्रिक टन छ, तर उत्पादन करीब साढे ७ लाख मेटन मात्रै भइरहेको छ । यी सातमध्ये पनि दुईओटा सरकारी नियन्त्रणका हेटौंडा र उदयपुर सिमेण्ट उद्योग छन्, जुन कहिले बन्द हुन्छन् भन्न सकिने अवस्था छैन । त्यसो हुँदा नेपाली सिमेण्ट उद्योगहरू तत्कालका लागि भारतीय क्लिङ्करमा भर पर्नुको विकल्प छैन । भएका क्लिङ्कर उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नयाँ उद्योगहरू खोल्नका लागि लगानी गर्ने हो भने त्यो अवस्थामा अन्त्य गर्न सकिन्छ । तर, देशमा विद्युत् तथा पूँजीको अभाव तथा शान्तिसुरक्षाको कमजोरीका कारण यहाँ थप लगानी हुन सक्ने अवस्था छैन । त्यसैले यी समस्या समाधान गरी क्लिङ्कर उत्पादन गर्ने उद्योगको विकास गर्नका लागि प्रोत्साहनमूलक नीति तय गर्नुपर्छ । उद्यमीहरूले पनि विभिन्न बाहना देखाएर सरकारसँग गनगन गर्नुको साटो कच्चापदार्थको पनि अभाव नभएको तथा उत्पादनको पनि राम्रो सम्भावना भएको यो क्षेत्रमा लगानी बढाउनुपर्छ । क्लिङ्कर उद्योगमा लगानी गर्नेबित्तिकै उत्पादन शुरू भइहाल्ने होइन, त्यसमा समय लाग्छ । सरकारले पनि सधैंभरिका लागि होइन, यहीँका उद्योगहरूले उत्पादन शुरू नगरुन्जेलका लागि भन्सारदरमा पुनरवलोकन गर्नु उचित नै हुन्छ ।
पछिल्ला दिनमा नेपालमा पूर्वाधार तथा आवास निर्माणको क्रम तीव्र रूपले बढेको छ । त्यसैले भोलिका दिनमा नेपालमा सिमेण्ट उद्योगको विकास पनि तीव्र रूपले हुने नै देखिन्छ । तर, सधैंभरि भारतीय कच्चापदार्थमा भर पर्ने हो भने नेपाली उद्योगहरू सधैं अनिश्चितताको भुमरीमा हुनेछन् । भोलि कुनै दिन भारतले क्लिङ्कर निर्यातमा प्रतिबन्ध लगायो भने यहाँका सिमेण्ट उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले सिमेण्ट उत्पादन गर्नेले आफै क्लिङ्कर पनि उत्पादन गर्नु वा यस क्षेत्रमा अन्य उद्योगहरू स्थापना गर्नुको विकल्प छैन । अन्य सहुलियतका विषय भनेका अल्पकालीन समाधान मात्रै हुन् ।
Admin 2011-05-10