'मनी एक्स्पो'ले खुलाएका ढोकाहरू
नेपालको पहिलो र सबैभन्दा ठूलो मानिएको वित्तीय तथा लगानी प्रदर्शनी 'एण्डेक्स मनी एक्स्पो २०११’ सोमवारदेखि शुरू भएको छ । नेपालको धितोपत्रबजार निरन्तर ओरालो लागेको तथा वित्तबजारले विभिन्न समस्या भोगिरहेको अवस्थामा हुन लागेको यो प्रदर्शनीको विशेष महत्त्व छ । यो प्रदर्शनीमा जसरी देशका अर्थ-वाणिज्य तथा पूँजीबजारसम्बन्धी प्राय: सबै सरकारी तथा निजीक्षेत्रका निकायहरूले संलग्नता देखाएका छन्, त्यसले लगानीको ज्ञान, वित्तीय साक्षरता, ग्राहक परिचालनजस्ता पक्षका हिसाबले महत्त्वपूर्ण हुनेछ । यस प्रदर्शनीमा राखिएका विभिन्न विषयका अन्तरक्रिया कार्यक्रमले देशको अर्थ-राजनीति, स्टक तथा कमोडिटीबजार, बैङ्किङ तथा बीमाक्षेत्रका बारेमा सार्थक बहस हुने अपेक्षा गर्न सकिन्छ ।
वित्तीय क्षेत्रमा संलग्न कम्पनी र तिनका सहायक संस्थाहरूको व्यापार, नेटवर्किङ तथा सशक्तीकरणका लागि एक्स्पो आयोजना गरिएको आयोजकले बताएको छ । हालको अवस्थामा लगानीसम्बन्धी ज्ञान हासिल नगरी प्रारम्भिक शेयर तथा अन्य क्षेत्रमा हात हाल्ने कुरा प्रवृत्तिकै रूपमा विकास भएको छ । व्यक्तिगत लगानीकर्ताहरू मात्र होइन, बैङ्क र बीमाजस्ता सङ्गठित क्षेत्रहरूलाई पनि लगानीका ज्ञान र जानकारीको अभाव टड्कारो रूपमा देखिएको छ । यहाँका प्रतिष्ठित ठानिएका बैङ्क तथा वित्तीय संस्थाहरूले पनि विदेशी विनिमयका उपकरणहरूमा लगानी गर्ने शीप हासिल गरिसकेका छैनन् । विकास बैङ्क र इन्भेष्टमेण्ट बैङ्कका विश्वव्यापी मान्यता र अवधारणाअनुरूप यहाँ काम हुन सकेको छैन । हेजिङमा संस्थागत लगानीको अभ्यास हुन सकेको भए नेपालको पेट्रोलियम व्यवसायमा ठूलो लगानी हुन सक्थ्यो । र, त्यसले मुलुक, उपभोक्ता र लगानीकर्ता सबैलाई लाभ दिन सक्थ्यो भन्ने एउटा बलियो उदाहरण हाम्रासामु छ । यो एक्स्पोले यी टड्कारा आवश्यकतालाई सम्बोधन गर्ने आशा गर्न सकिन्छ ।
एक्स्पोले २६ प्रतिशतलाई लगानी तथा वित्तीय बजारसम्बन्धमा निशुल्क सल्लाह दिने, १५ प्रतिशतलाई लगानीको अवसर प्रदान गर्ने, १९ प्रतिशतलाई विशेष सम्झौताको अवसर प्रदान गर्ने, २९ प्रतिशतलाई शैक्षिक कार्यक्रममा सहभागी गराउने परिमाणात्मक लक्ष्य निर्धारण गरेको छ । ५० हजार दर्शकले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य पूर्ति भयो भने लगानीको अवसर प्राप्त गर्ने र वित्तीय तथा लगानी साक्षरता प्राप्त गर्ने मानिसहरूको सङ्ख्या पनि ठूलै हुनेछ । यसले जोखिम र सम्भावनाहरूको मूल्याङ्कन नगरी हल्ला र देखासिकीका भरमा लगानी गर्ने प्रवृत्तिलाई रोक्न केही हदसम्म योगदान गर्नेछ । हल्ला र देखासिकीमा लगानी गर्ने लगानीकर्ताले मात्रै पनि सिङ्गो अर्थतन्त्रलाई नै असजिलो अवस्थामा पुर्याउन सक्छन् भन्ने अनुभव विश्वसन्दर्भ र आफ्नै देशबाट पनि हामीले पाएका छौं ।
वित्तीय उत्पादन तथा सेवा, लगानीका सम्भावित क्षेत्र र त्यसबाट प्राप्त हुने प्रतिफल दर एवम् नयाँ क्षेत्रमा लगानीकर्ताहरूको ज्ञान अभिवृद्धि गर्ने खालका प्रदर्शनी गर्ने परम्परा विश्वभरि नै छ । संसारका कतिपय अर्थतन्त्रहरूले यस्ता प्रदर्शनी र एक्स्पोहरूबाट ठूलो लाभ लिएका छन् । उदाहरणका लागि सन् १९६६ देखि लगातार भइरहेको अष्ट्रेलियाको मेलबर्न वित्त मेलाले त्यो मुलुकको अर्थतन्त्रमा स्वदेशी र विदेशी लगानी भिर्याउन उल्लेख्य योगदान गरेको छ । तर, नेपालमा भने हालसम्म त्यस प्रकारको प्रयास हुन सकेको थिएन । वास्तवमा यस किसिमको प्रदर्शनीलाई निरन्तरता र व्यापकता दिन सक्दा विश्वका अन्य देशले लिन सकेको लाभ नेपालले लिन सक्दैन भन्ने छैन ।
तर, लगानीकर्तामा ज्ञान र शीप भएर पनि पुग्दैन । साँच्चै लगानी हुनका लागि मुलुकले निश्चित र युगसम्मत आर्थिक नीति र दिशा पक्रनु आवश्यक छ । अहिले जो देशका सबै राजनीतिक दलहरूमा खुलाबजार र प्रतिस्पर्धी अर्थतन्त्र, विश्व अर्थतन्त्र र आन्तरिक अर्थतन्त्रमा राज्यका भूमिकाका बारेमा परिमार्जित र प्रस्ट दृष्टिकोण आउन सकेको छैन । सत्तामा रहँदा र प्रतिपक्षमा बस्दा अर्थतन्त्रलाई हेर्ने दृष्टिकोणमा राजनीतिक दलहरूमा रातारात आकाश-जमिनको फरक आउने संस्कार हामीमा छ । जति छिटो देशका राजनीतिक शक्तिहरू अर्थतन्त्र र देशको भावी दिशाका बारेमा आधारभूत रूपमा सहमत हुन्छन् र प्रस्ट दृष्टिकोण राख्छन्, अर्थतन्त्रले त्यति नै छिटो गति लिन्छ । त्यसो नभईकन लगानीका लागि वातावरण बन्दैन र मुलुकको अर्थतन्त्र प्रगतिउन्मुख हुन सक्दैन । यस्तो प्रदर्शनीले राजनीतिक दलहरूमा त्यस किसिमको सोच विकास गर्ने प्रेरणा पनि प्रदान गर्ने आशा गर्न सकिन्छ ।
Admin 2011-09-13