सुखद मार्गउन्मुख पर्यटन
पर्यटकीय सिजन अक्टोबर-नोभेम्बर महीनाका लागि नेपालका पाँचतारे होटलहरूको बुकिङ लगभग ९५ प्रतिशत भएको छ । यसले नेपाल पर्यटन वर्ष२०११ को लक्ष्य पूरा नभए पनि सुखद अन्त्य हुने देखाएको छ । तर, अहिले होटल बुकिङ गरेका पर्यटकहरू त्यसबेला आउँछन् नै भन्ने हुँदैन । यदि आगामी २ महीनामा नेपालमा राजनीति सहज भएन र बन्दहडताल भइरहने स्थिति बन्यो भने त्यसले समस्या पार्नेछ । विगतका वर्षमा पनि बुकिङ भएका होटलहरू धमाधम रद्द भएका घटना हामीले देखेका छौं ।
यसै पनि नेपाल पर्यटन वर्ष२०११ को अघिल्लो ८ महीनाको तथ्याङ्क हेर्दा लक्ष्यअनुरूप १० लाख पर्यटक नेपाल भित्रने सम्भावना न्यून देखिएको छ । तर, लक्ष्यअनुसार नै पर्यटक नआए पनि अघिल्लो वर्षको भन्दा उत्साहप्रद भने अवश्य छ । यसले आगामी वर्षका लागि आधार बनाउने काम गर्न सक्छ । निश्चय पनि पर्यटन वर्षको अन्त्य हामीले सुखद रूपमा गर्न सक्यौं भने त्यसबाट नेपालको पर्यटन क्षेत्रमा दूरगामी प्रभाव देखिनेछ । त्यसो गर्न नसकेर पर्यटन वर्षको अन्त्यतिर बन्दहडताल र जक्काजाम गर्न थाल्यौं भने त्यो नेपाली पर्यटन क्षेत्रका लागि कालो धब्बा हुनेछ । संविधानसभाको थपिएको म्याद यसै समयमा सकिने हुँदा त्यसबेला बन्दहडताल हुने सम्भावना धेरै छ । त्यसैले राजनीतिक दलहरूले पर्यटन वर्षको गम्भीरतालाई ध्यानमा राखिदिए भने मात्रै पर्यटन वर्षको सुखद अन्त्य हुने सम्भावना छ ।
नेपालका नजिकका पर्यटक उद्गमस्थानहरू भारत र चीनबाट साढे तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, अघिल्लो वर्ष१ लाख ४ हजार ५ सय पर्यटक भित्रिएको भारतबाट साढे २ लाख (लक्ष्य) भित्र्याउनु चानचुने कुरा होइन । त्यस्तै अघिल्लो वर्ष२५ हजार पर्यटक भित्रिएको चीनबाट १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाम्रा सबभन्दा नजिकका र लगभग दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गरिरहेका देश भएकाले ती देशबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सक्ने सम्भावना छ । पछिल्ला ३ महीनामा भारत र चीनबाट हवाई मार्ग हुँदै आएका पर्यटकलाई हेर्ने हो भने हामी उत्साहित हुन्छौं । गत जुन महीनामा भारतबाट अघिल्लो वर्षको सोही महीनाको तुलनामा ५९ प्रतिशत बढी पर्यटक आए । त्यही महीनामा चीनबाट आउने पर्यटक वृद्धि १ सय ५ प्रतिशत र≈यो । त्यस्तै जुलाईमा त्यो प्रतिशत क्रमश: साढे २४ र साढे ९ प्रतिशत भए पनि अगष्टमा पर्यटक वृद्धिदर भारतको ५० र चीनको १ सय ५८ प्रतिशत हुन पुग्यो । यो प्रवृत्ति कायम रहने हो भने यो वर्षको बाँकी अवधि र आगामी वर्षहरूमा नेपालमा पर्यटक आगमन उत्साहप्रद हुने देखिन्छ । अफसिजन मानिएका अघिल्ला महीनाहरू मे, जुन, जुलाई र अगष्टमा हवाई मार्गबाट आउने पर्यटकहरू समग्रमा क्रमश: ४७, ३८, २० र २७ प्रतिशतले बढेकाले पनि आशा गर्ने प्रशस्त ठाउँ छ ।
तर, पर्यटनको सङ्ख्या वृद्धि हुनका लागि यहाँको वातावरण शान्त पनि हुनुपर्छ । यो तथ्यलाई हृदयङ्गम गरेर गतवर्ष नै यसबारेमा विशेष छलफल भएको हो । राजनीतिक दलहरूले पर्यटन वर्षरि बन्दहडताल नगर्ने भनेर प्रतिबद्धता पनि व्यक्त गरेका हुन् । तर, उनीहरूले सही गरेको प्रतिबद्धतापत्र नेपाल पर्यटन बोर्डको भित्तोमा सजाउन मात्र काम लागेको छ । राजनीतिक दलका विभिन्न भ्रातृसङ्गठनले बन्दहडतालको बाटो छोडेका छैनन् । शान्तिपूर्ण रूपमा जनआन्दोलन भएर माओवादी युद्ध समाप्तिसँगै नेपालले अन्तरराष्ट्रिय जगत्मा जुन प्रतिष्ठा कमाएको थियो, पछिल्ला दिनमा त्यो विस्तारै घट्दै गइरहेको छ । त्यसो हुँदा होटल बुकिङबाट खुशी भएका पर्यटन व्यवसायी भोलि हुने बन्दहडतालका कारण निराश हुनु नपर्ला भन्न सकिन्न ।
Admin 2011-09-14