शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कल्याण गर्न सक्छन् पशुपतिनाथले
श्री पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकारसम्पन्न समितिले उपसमिति गठन गरेर २०१८ सालदेखि हालसम्म पशुपति मन्दिरको चलअचल सम्पत्तिको हिसाब निकालेको छ । यसले पशुपतिको भेटी तथा आम्दानीका सम्बन्धमा जनमानसमा रहेको जिज्ञासा एक हदसम्म मेटिएको छ । सबै चलअचल सम्पत्ति (सुनचाँदी, अन्य बहुमूल्य धातु, अक्षय कोष, बैङ्कमा रहेको रकम, ५ हजार रोपनी हाराहारीको काठमाडौंको बहुमूल्य जग्गालगायत) हिसाब गर्दा अर्बौंको सम्पत्ति पशुपतिको स्वामित्वमा रहेको देखिन्छ । तर, त्यसको कसरी व्यवस्थापन गर्ने र भोलिका दिनमा यसलाई कसरी परिचालन गर्ने भन्ने चुनौती भने कायमै छ । त्यसको सही परिचालन हुन सक्यो भने समस्त देशकै अर्थतन्त्रमा ठूलो सुधार हुन सक्छ ।

गुठी तथा अन्य रूपमा रहेको हजारौं रोपनी जग्गा पशुपतिनाथको स्वामित्वमा छ । त्योमध्ये धेरै, अर्बौं मूल्य पर्ने जग्गाबाट पशुपतिक्षेत्रले अहिले कुनै पनि लाभ लिन सकेको छैन र पाउने गरेको लाभ पनि अत्यन्त न्यून छ । पशुपतिको नामको हजारौं रोपनी जग्गालाई व्यक्तिले आफ्नो नाममा दर्ता गरी निजी बनाएका छन् वा जबर्जस्ती भोगचलन गर्दै आएका छन् । त्यसैले सर्वप्रथम पशुपतिनाथको नाममा रहेको सबै जग्गाजमीनको लगत व्यवस्थित गर्नुपर्छ । त्यसलाई वर्तमानमा प्रचलित मूल्यमा बेच्ने वा भाडामा लगाउने काम गर्नुपर्छ । पशुपतिनाथलाई त्यसको सही प्रतिफल दिलाउनुपर्छ । त्यसबाट प्राप्त रकमलाई एउटा कोष (ट्रष्ट)मा एकत्रित गरी विकास तथा सामाजिक सेवामा लगाउनुपर्छ । पशुपतिका नाममा भएका सम्पत्तिहरूको सदुपयोग हुन सकेको छैन, यो अवस्थाको तुरुन्त अन्त्य गर्नुपर्छ । गठित समितिले पशुपतिनाथको पूजापाठ, भेटी, अन्य आय, गुठी, भट्टभण्डारीको पारिश्रमिक तथा सुविधा एवम् पशुपतिसम्बन्धी ऐननियमका बारेमा समेत अध्ययन गर्ने कार्यादेश पाएको छ । समितिले ती विषयमा निश्चय पनि आफ्नो राय वा सिफारिश पेश गर्ला । उसले आफ्नो राय दिने क्रममा पशुपतिनाथको नाममा रहेको सम्पत्तिको दीर्घकालीन उपयोगिता तथा हितलाई ध्यानमा राख्नुपर्छ ।

भारतमा विभिन्न मठमन्दिरसँग सम्बन्धित धार्मिक कोषहरूले ठूलाठूला सामाजिक सेवा तथा विकास निर्माणका काम गरेका छन् । तिरुपति मन्दिरको उदाहरण निकै प्रख्यात छ । यस्ता सयौं कोष छन्, जसले धार्मिक, सामाजिक, सांस्कृतिक तथा विकास निर्माणका काम गरेका छन् । त्यस्ता कोषलाई भारतमा कानून बनाएर ट्रष्टअन्तर्गतव्यवस्थित पनि गरिएको छ । पशुपतिनाथमा पनि पशुपतिक्षेत्र विकास कोष नामक संस्था गठन गरिएको छ । तर, यसले प्रभावकारी रूपमा आफ्नो कार्यसम्पादन गर्न सकेको छैन । यस संस्थालाई विघटन गरी पशुपतिको सबै चलअचल सम्पत्तिलाई एउटा शक्तिसम्पन्न र स्वतन्त्र कोषमातहत लैजानु उपयुक्त हुन्छ । तर, त्यसरी बनाइने कोषलाई अहिलेजस्तै राजनीतिक नियुक्तिको थलो  बनाइयो भने अवस्था झन् चिन्ताजनक बन्न सक्छ । राज्य धर्म निरपेक्ष भइसकेको हालको अवस्थामा यस्ता धार्मिक संस्थाको सञ्चालनमा सरकार अप्रत्यक्ष रूपमा पनि संलग्न हुन मिल्दैन । यो सबै सम्बन्धित धार्मिक समूहको जिम्मा लगाउनुपर्छ । पशुपतिक्षेत्रका नाममा प्रभावकारी कोषको व्यवस्था गर्न सकियो भने त्यसले विश्वभरका हिन्दूहरूलाई पशुपतिनाथमा आकर्षित गर्नसक्छ ।

पशुपतिक्षेत्रलाई व्यवस्थित बनाउन सकियो र त्यसको सही प्रवर्द्धन गर्न सकियो भने यो साँच्चै नै धार्मिक पर्यटन केन्द्र बन्नेछ । पशुपतिको धार्मिक पर्यटनसम्बन्धी सम्भाव्यतालाई हालसम्म थोरै मात्र उपयोग गर्न सकिएको छ । विश्वमा सबैभन्दा धेरै हिन्दू बसोबास गर्ने देश भारत हाम्रै छिमेकमा छ । अहिल्यै पनि लाखौं भारतीय तीर्थयात्री पशुपतिनाथको दर्शनार्थ आउँछन् । यदि पशुपतिक्षेत्रको अवस्थालाई सुधार गर्नसके यो सङ्ख्या अझ बढ्नेछ ।

भगवान् पशुपतिनाथ आम नेपाली तथा विश्वका हिन्दूहरूका आस्थाका केन्द्र हुन् । त्यसैले पशुपतिनाथको चलअचल सम्पत्तिको दुरुपयोग हुनु निश्चय पनि दुःखको कुरा हो । अझ दुःखको कुरा त के छ भने पशुपतिको सम्पत्तिलाई व्यवस्थित गर्नेतर्फ कुनै पहल हुन सकेको छैन । खाली यसलाई राजनीतिक विषय बनाई भट्ट र भेटीको पछि दगुर्ने काम मात्र भएको छ । त्यसैले पशुपतिनाथको नाममा रहेको सम्पत्तिलाई दीर्घकालसम्मका लागि व्यवस्थित गर्ने काम हुनु जरुरी छ । यसो गर्न सकियो भने मात्र भगवान् पशुपतिनाथको नाममा हुने भगवत्कार्य निश्चय नै प्रशंसनीय हुनेछ ।

Admin 2011-04-11