वनस्रोत सर्वेक्षणका फाइदा
वन विभागले देशभरिको वनस्रोत सर्वेक्षणको काम शुरू गरेको छ । देशमा लामो समयदेखि यस सम्बन्धमा सर्वेक्षण नभएको अवस्थामा भइरहेको यस कामले निश्चय पनि देशमा वनस्रोतको वास्तविक अवस्था पत्ता लगाउन मद्दत गर्नेछ । नेपालमा वनसम्बन्धी नीतिनिर्माणको काम पनि प्रभावकारी नभइरहेको अवस्थामा सर्वेक्षणबाट आउने नतीजाले त्यसलाई सघाउनेछ ।
कुनै बेला हरियो वन नेपालको धन भन्ने उक्ति निकै प्रचलित थियो । तर, पछिल्ला दिनमा तीव्र रूपमा बढेको वन विनासका कारण यो उक्तिमै मात्र सीमित बन्न पुगेको छ । कुनैबेला नेपालको कुल भूभागको ४५ प्रतिशतभन्दा बढी क्षेत्र वनले ढाकेको थियो । तर, हालको अवस्थामा त्यो घटेर ३० प्रतिशतभन्दा कम रहेको आँकलन गरिन्छ । तर, वनस्रोतको सर्वेक्षणको अभावमा देशमा कति क्षेत्रफल वनले ढाकेको छ भन्न सक्ने अवस्था पनि छैन । यो सङ्क्रमणकालीन अवस्थामा तीव्र रूपमा वन फँडानी भएको भनेर बाक्लै प्रचार भयो । सरकारले हाल कुनै पनि वनको रुख काट्न प्रतिबन्ध लगाएको पनि छ । तर, देशमा वनको वास्तविक चित्र नीतिनिर्माता तथा जनताले थाहा पाउन सकेका छैनन् । यो अवस्थाको परिपूर्तिका लागि पनि वन सर्वेक्षणले महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ ।
देशको कुल गार्हस्थ्य उत्पादनका वनक्षेत्रको योगदान ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिन्छ । तर, यस विषयमा पनि अनुसन्धान तथा सर्वेक्षणको अभावमा वास्तविकता के हो भन्ने बाहिर आउन सकेको छैन । ग्रामीण गरीबी न्यूनीकरणका लागि वनक्षेत्रले निकै राम्रो भूमिका निर्वाह गरिरहेको अवस्था छ । कबुलियती वन, सामुदायिक वन तथा साझेदारी वनले ग्रामीण गरीबहरूको जीवनस्तर उकास्नका लागि महत्त्वपूर्ण योगदान पुर्याएका उदाहरण प्रशस्त छन् । तर, कुन क्षेत्रमा कस्तो किसिमको वनको सम्भाव्यता छ वा ती क्षेत्रको मानव जीवनको सहजताका लागि कस्तो किसिमको वनको आवश्यकता छ भन्नेजस्ता उपयुक्त नीतिनिर्माण गर्नु आवश्यक छ ।
मुख्य रूपमा देश जैविक विविधताका दृष्टिले कति धनी छ भन्ने विषयमा पनि यथार्थ विवरण सरकारी निकायसँग छैन । निकै समयसम्म वन सर्वेक्षण हुन नसक्दा वनको जैविक विविधताका सम्बन्धमा पुराना तथ्याङ्कमा भर पर्नुपरेको छ । देशमा वनको क्षेत्रफल, त्यहाँ पाइने प्रजाति, त्यसका आधारमा वनको किसिम, रुखको औसत उचाइलगायतका विषयमा अध्ययन हुने यो सर्वेक्षणले देशभरिको वन क्षेत्रको विविधताबारे पत्ता लगाउनेछ ।
नेपालको जङ्गलले ठूलो मात्रामा कार्बन प्रशोचनमा सहयोग पुर्याइरहेको छ भनिन्छ । तर, कार्बन प्रशोचनमा नेपालको योगदान कति छ भन्ने यथार्थ जानकारी नहुँदा त्यसबाट पाइने लाभ पनि नपाइरहेको अवस्था छ । यो वन सर्वेक्षणले बायोमास तथा कार्बन ग्रहण गर्नसक्ने क्षमताका आधारमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नका लागि पुर्याउने योगदानको परिमाणात्मक तथ्य पनि पत्ता लाग्नेछ । त्यसैले कार्बन व्यापारबाट लाभ लिनका लागि पनि यो सर्वेक्षणबाट आउने तथ्याङ्कहरूले महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।
देशमा वनसम्बन्धी नीतिनिर्माणका लागि उल्लिखित विषयवस्तु महत्त्वपूर्ण हुन्छन् । तर, समयमा वनसम्बन्धी सर्वेक्षण नभएकाले ती विषयका बारेमा यथार्थ जानकारी प्राप्त हुन सकेका छैनन् । त्यसो हुँदा देशमा बनेका वनसम्बन्धी नीतिहरूले कतै यो क्षेत्रलाई गलत दिशानिर्देश गरेको त छैन भन्ने प्रश्न उब्जाएको छ । त्यसैले देशमा वनसम्बन्धी उचित नीतिनिर्माणका लागि यो सर्वेक्षणको महत्त्वपूर्ण योगदान हुन सक्छ ।
Admin 2011-05-12