बीउको उत्पादन प्रविधि हस्तान्तरणको ग्यारेण्टी
अमेरिकी बहुराष्ट्रिय बीउ उत्पादक कम्पनी मोन्साण्टोले नेपालमा हाइब्रिड मकैको बीउ उत्पादन गर्ने भएको छ । कम्पनीले मकैको बीउ प्रवर्द्धन र परीक्षणका निम्ति काभ्रेपलाञ्चोक, चितवन र नवलपरासी जिल्लालाई चयन गरेको छ । यस कार्यमा अमेरिकी विकास नियोग (यूएसएड)द्वारा सञ्चालित नेपाल आर्थिक, कृषि तथा व्यापार कार्यक्रम (नीट) र कृषि मन्त्रालयले सहयोग गर्ने भएका छन् । कृषिमा वैज्ञानिक प्रविधिलाई आत्मसात् नगरी उत्पादन बढाउन सकिँदैन भन्ने यथार्थ हो । तर, नीतिगत संरचनाको विकास नै नगरी हतारमा विदेशी कम्पनीलाई यहाँ प्रयोग गर्न दिनु भने उचित होइन । त्यसैले मोन्साण्टो कम्पनीलाई यहाँ बीउ उत्पादन गर्न दिँदा त्यसबाट भोलि आउने कुनै पनि परिणाममा कम्पनीलाई जिम्मेवार बनाउने नीतिगत संरचनाको विकास गर्नुपर्छ ।
दुई वर्षअघि हाइब्रिड बीउ लगाउँदा तराईका ६ जिल्लाका हजारौं बिगाहा जमीनको मकैको घोगामा दाना नै लागेको थिएन । यसबाट हजारौं किसानले अर्बौंको नोक्सानी बेहोर्नुपरेको थियो । भारतको उत्तर प्रदेश र विहारका लाखौं किसानले समेत यो बीउको प्रयोगबाट यस्तै नियति भोग्नुपरेको थियो । तर, भारतीय किसानले गरेको बालीबीमा र सरकारको अनुदानबाट उनीहरूको त्यो क्षतिपूर्ति भएको थियो । नेपाली किसानले पनि त्यतिखेर मोन्साण्टोसँग क्षतिपूर्तिको माग गरेका थिए । तर, कम्पनीले किसानलाई फर्केर पनि हेरेन । क्षतिपूर्ति माग्दै तराईका हजारौं किसानले सडक आन्दोलन गर्नुपर्यो । उनीहरू अनशनमा समेत बस्न बाध्य भए । किसानको ठूलो दबाबपछि सामान्य मलबीउलाई भन्दै रू. २० करोड क्षतिपूर्ति दिन नेपाल सरकार बाध्य भएको थियो । यस्तो पृष्ठभूमि भएको कम्पनीलाई पुन: परीक्षणका लागि सरकारले अनुमति दिनुपहिला हिजो आएको समस्या भोलि नआओस् भन्नेतर्फसोच्नुपर्छ ।
हाल नेपाली किसानले मोन्साण्टो कम्पनीलाई कालो सूचीमा राखेर उसको बीउविजनलाई बहिष्कार नै गरेका छन् । त्यो मकैकाण्डपछि सानै भए पनि मोन्साण्टोको नेपाली बजार गुमेको छ । कम्पनीको त्यो गुमेको बजार र नेपाली किसानले गरेको अविश्वासलाई पुन: विश्वासमा बदल्न मोन्साण्टोको यो रणनीति हो भनेर बुझ्न सकिन्छ । मोन्साण्टोको भारत शाखाबाट सञ्चालन हुन लागेको बीउ उत्पादन र परीक्षणप्रति नेपाल सरकार र किसान पनि अब सचेत हुनैपर्ने भएको छ । मोन्साण्टोले नेपालमा बीउ उत्पादन मात्रै होइन, परीक्षण पनि गर्ने भएको छ । वास्तवमा नेपाली किसानका निम्ति अत्यन्तै डरलाग्दो विषय हो । २ वर्षअघि मोन्साण्टोको बीउ लगाएर लहलह भएको मकैको घोगामा गेडा नलागेेको जस्तै घटना पुन: दोहोरिँदैन भन्न सक्ने अवस्था पटक्कै छैन । त्यसैले मोन्साण्टोले नेपालमा बीउ उत्पादन र परीक्षण गर्ने हो भने उसलाई यसप्रति लिखित रूपमै पूर्णरूपले जिम्मेवार बनाउनुपर्छ । प्रतिहेक्टर १८ मेट्रिक टनसम्म उत्पादन हुने लोभ किसानलाई देखाउँदै मकैको बीउ परीक्षण गराउने मोन्साण्टोले बीउकै कारणबाट बाली बिग्रियो भने त्यसको सम्पूर्ण क्षतिपूर्ति बेहोर्छ कि बेहोर्दैन ? यो कुरा पहिल्यै तय हुनुपर्दछ । बाली बिग्रिएमा त्यसको क्षतिपूर्ति बेहोर्दैन भने त्यस्ता हाइब्रिड कम्पनीको प्रयोगभूमि नेपालले कदापि बन्नु हुँदैन ।
नेपालमा बीउ उत्पादन र परीक्षणका क्रममा मोन्साण्टोले नेपाली कृषिविद् र किसानलाई त्यो प्रविधि हस्तान्तरण गर्छ कि गर्दैन, नेपालका निम्ति यो सबैभन्दा महत्त्वपूर्ण विषय हो । एउटा बहुराष्ट्रिय कम्पनी यहाँ आएर हाइब्रिड बीउ उत्पादन गर्ने र प्रविधि हस्तान्तरण नगर्ने हो भने त्यसबाट नेपालले नि:सन्देह आफ्नो रैथाने बीउविजन गुमाउँदै जाने त छ नै, हाइब्रिड बीउको उत्पादन पनि हामीले गर्न सक्ने छैनौं । परिणामत: नेपाल २-४ वर्षमै बीउमा पूर्णत: परनिर्भर हुनेछ । यो भयावह स्थिति आउनुपूर्व नै नेपालले आफ्नो जोहो गर्नुपर्छ । किनभने कुनै पनि हाइब्रिड बीउबाट भएको उत्पादनलाई पुन: बीउका रूपमा प्रयोग गर्न सकिँदैन । किसानले वर्षौपिच्छे नयाँ बीउ खरीद गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता बहुराष्ट्रिय कम्पनीलाई नेपाल भित्र्याउनुपहिले प्रविधि हस्तान्तरणको विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ । आफ्ना कृषिविज्ञलाई हाइब्रिड बीउ उत्पादनमा पारङ्गत बनाउनुपर्छ ।
Admin 2011-09-15