अदुवाको खुम्चिएको सम्भाव्यता
विगत केही वर्षमा नेपालमा अदुवाको उत्पादन तथा निर्यातमा कमी आएको तथ्याङ्कहरूले देखाएका छन् । २०६४/६५ सम्म वार्षिक रू. ५० करोडभन्दा बढी मूल्यको अदुवा निर्यात हुने गरेकोमा गत आवमा त्यो २० करोडमा झरेको छ । तर, उत्पादन वृद्धि गर्न र मूल्य अभिवृद्धि गर्न सकिने हो भने नेपाली अदुवाको निर्यात सम्भाव्यता उच्च छ । हालसम्म सीमित जिल्लामा सीमित किसानहरूले मात्र अदुवाको व्यावसायिक खेती गरिरहेका छन् । त्यसैले यस क्षेत्रमा ठूलो निजी लगानी आउनु आवश्यक छ । यदि त्यसो भयो भने यसको मूल्य अभिवृद्धि गर्न पनि सघाउ पुग्छ । सरकारले अदुवालाई तुलनात्मक लाभको वस्तु भनी वर्गीकरणसमेत गरेको छ । अदुवा मात्र होइन, अलैंची फूललगायतका वस्तु पनि तुलनात्मक लाभका दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । त्यसैले व्यावसायिक कृषि र कृषिजन्य उद्योगमा निजीक्षेत्रले लगानी बढाउनु बुद्धिमानी हुन्छ ।
अदुवालगायत तुलनात्मक लाभ भएका वस्तुहरूको व्यावसायिक परिमाणमा उत्पादन गर्न सकियो भने त्यसले विश्वबजारमा बजारीकरणलाई पनि सहयोग पुग्छ । त्यसका लागि दुईओटा बाटा छन्- पहिलो, निजी व्यवसायीहरूले यसलाई लगानीको नयाँ क्षेत्रका रूपमा लिनुपर्छ । अर्को, सहकारिताका माध्यमबाट पनि यी कृषिउपजको ठूलो मात्राको व्यावसायिक उत्पादन तथा तिनमा आधारित उद्योगहरूको विकास गर्न सकिन्छ । हामी अहिले बारीबाट भर्खरै खनेको माटोसहितको अदुवा निर्यात गरिरहेका छौं । त्यसलाई धोइपखाली गरेर सफा बनाई प्याकेजिङ गरेर बाहिर पठाउन सकियो भने त्यसबाट धेरै मूल्य लिन सकिन्छ । त्यसो हुँदा हाम्रा कृषि उत्पादनले तेस्रो मुलुकमा पनि बजार लिन सक्छन् । नेपाली किसानका अनुसार चिनियाँ अदुवाभन्दा नेपालीको गुणस्तर राम्रो छ । तर, चिनियाँहरूले भ्यालू एड गरेर निर्यात गर्ने तथा ठूलो मात्रामा उत्पादन गर्ने हुनाले त्यसले विश्वबजारमा ठूलो हिस्सा ओगटेको छ । हामी भने भारतीय बजारमा निर्भर हुनुपरेको छ । अझ भारतले पनि यहाँबाट निर्यातित अदुवामा भ्यालू एड गरेर तेस्रो मुलुकमा निर्यात गरिरहेको हुन सक्छ । चीन तथा भारतले गरिरहेको काम हामी यहीँ गर्नसक्छौं । मात्र त्यो दृष्टिकोणसहितको लगानी यस क्षेत्रमा हुनुपर्यो । यस क्षेत्रमा लगानी भित्रने हो भने ठूलो मात्रामा रोजगारी सृजना गर्न सकिन्छ । यो बैङ्कहरूको लगानीको वैकल्पिक क्षेत्रसमेत हुन सक्छ । यसले व्यावसायिक कृषिलाई देश विकासको बलियो आधारका रूपमा विकास गर्न सक्छ ।
अर्को समस्या भनेको व्यवस्थापनको पनि हो । हालसम्म परम्परागत हिसाबले नै नेपालमा अदुवालगायतका अन्य वस्तुको उत्पादन भइरहेको छ । आधुनिक प्रविधि र व्यवस्थापनसहितको खेती हुन सकेको छैन । त्यसो हुँदा एक त उत्पादन र उत्पादनकत्व बढ्न सकेको छैन भने अर्कातिर राम्रोसँग बजार व्यवस्थापन पनि हुन सकेको छैन । त्यसो हुँदा नेपाली उत्पादनहरू एकल भारतीय बजारमा खुम्चनुपरेको छ । भोलि भारतले यी वस्तुको आयातमा प्रतिबन्ध लगायो र भन्सार दर उच्च बनायो भने नेपाली किसानहरू पेशाबाट विस्थापित हुनुको विकल्प छैन । त्यसैले त्यसबाट परसम्म बजार खोज्न सक्ने शीपसहितको व्यवस्थापन यस क्षेत्रमा हुनु आवश्यक छ । त्यसका लागि पनि निजीक्षेत्रको लगानी नै एकमात्र विकल्प हो ।
सरकारी तहबाट अदुवालगायतका कृषिउपजको उत्पादन तथा बजारीकरणमा सहयोगभन्दा पनि झन्झट बढिरहेको गुनासो किसानहरूको छ । नेपाल सरकार विश्व व्यापार सङ्गठनको अन्धभक्त भएर कृषिलाई अनुदान घटाइरहेको छ, हाम्रै छिमेकी भारतले बढाइरहेको छ । यसो हुँदा भारतीयसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्था छ । विदेशी दातृराष्टबाट आउने अर्बौं रुपैयाँ एनजीओ व्यवसायीलाई बाँड्नुको साटो कृषिमा लगानी गर्ने किसानलाई दिने हो भने यस क्षेत्रमा त्यो कोसेढुङ्गो हुन सक्थ्यो । त्यसो गर्न न त दाता तयार छन्, न त सरकार नै । अझ सरकारी निकायहरूले विभिन्न किसिमका कर तथा शुल्क लगाएर किसानहरूलाई निरुत्साहित बनाउने काम गरिरहेका छन् । सहयोग नगर्ने बरु असहयोग गर्ने सरकारी नीतिले अदुवालगायत कृषिउपजको उत्पादन वृद्धि र बजारीकरणलाई अवरोध गरिरहेको छ । यदि सरकारले सहयोगी नीति निर्धारण गर्ने हो भने निजीक्षेत्रको लगानी आउन पनि सजिलो हुन्छ ।
Admin 2011-08-14